Comments Add Comment

व्यापारिक मार्ग विस्तार आयोजनासँग उद्योगीको गुनासै गुनासा

३० जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले ‘व्यापारिक मार्ग विस्तार आयोजना’ निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तर्क्रियामा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख, व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुख समक्ष उनीहरुले सडक निर्माणका क्रममा देखिएका समस्याबारे गुनासो गरे ।

निकासको उचित प्रबन्ध नभएको, बस्ती भन्दा र उद्योगको जमिनको सतह भन्दा माथि नाला निर्माण भईरहेको, सडकमा निर्माण गरिने बारले औद्योगिक कार्गो ढुवानीमा कठिनाई भइरहेको, पातलो सर्भिस लेनमा ठूला कार्गोका गाडी उद्योगमा पस्न नसक्ने अवस्था बनेको गुनासो उनीहरुको छ ।

देशकै ६० प्रतिशत व्यापार हुने वीरगन्जस्थित वीरगन्ज भन्सार, आईसीपी र सुक्खा बन्दरगाहलाई जोड्ने व्यापारिक मार्गमा समस्या आउँदा उद्योगी व्यवसायी मर्कामा पर्ने उनीहरुको भनाइ छ ।

‘यस सडकखण्डको सेरोफेरोमा देशका ६ सय ठूला साना उद्योग छन् । यस सडकले वीरगन्जसंगै नेपालको अर्थतन्त्रमासमेत टेवा पुर्‍याउने आशा गरिएको बेला सडकको बनौटले ल्याएका असहजता ल्याउँदा हामी मर्कामा परेका छौं । समस्याको निकास होस भन्ने चाहना हाम्रो छ’ उनीहरुले भनेका छन् ।

उद्योगीहरुले उद्योगबाट निस्कने पानी मात्रै नभई वर्षाको पानी निकास नहुने अवस्थाको सिर्जना भएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप केडियाले वर्षाको पानी समेत निकास नहुने अवस्था देखिएको सडकका कारण ड्याम बनेर उद्योग र बस्ती डुब्ने बताए ।

साँघुरो सर्भिस लेनमा प्रवेश गरेर ठूला ठूला कार्गो लैजान समस्या भइरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । ‘मुख्य लेनबाट सर्भिस लेनमा र सर्भिस लेनबाट उद्योगमा सवारी साधन लैजानुपर्ने हुन्छ’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उद्योगी अशोक टेमानीले व्यापारिक मार्ग उद्योगी व्यवसायिकको हित हुने गरी नै निर्माण हुनुपर्नेमा जोड दिए । ‘व्यापारिक मार्ग हो, सामान्य सहरी सडक भन्दा फरक हुनैपर्छ, उद्योगी व्यवसायीको हितमा हुनेगरि हुनुपर्छ । ५० टनको गाडी गुड्छ भने सोही अनुसारको सडक बन्नुपर्छ’ उनले भने ।

व्यापारिक मार्ग आयोजनाका ईन्जिनियर सञ्जय मिश्रले विगत ५० वर्षमा परेको पानीको अध्ययन गरेर नाला निर्माण गरिएको बताए । उनले सबैजसो उद्योगमा सवारी साधन जान सक्ने गरी ठाउँ छोडेर सडक निर्माण भइरहेको बताए ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशले उत्तर दक्षिण सडक बनाउँदै पानी नबग्ने समस्या कम आउने बताए । ‘पूर्व पश्चिम सडक बनाउँदा पानीको निकास नहुने समस्या आउन सक्छ, उत्तर दक्षिणमा खासै समस्या हुन्न’ उनले भने ‘तैपनि आवश्यक परेको ठाउँमा निकासका लागि ठाउँ दिन सकिन्छ । सडक भन्दा बाहिरको पानीको निकासको जिम्मेवारी हाम्रो होइन ।’

आवश्यक ठाउँमा सडकले उद्योगका आउटलेट दिएको बताउँदै उनले हरेक उद्योगलाई ठाउँ दिँदा जामको समस्या आउन सक्नेमा सचेत हुन आग्रह गरे ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल र पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्योगी व्यवसायीलाई अप्ठेरो नहुने गरी सडक निर्माण हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment