Comments Add Comment

कविता कृति : गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

नेपाली साहित्यमा मुक्तक र कविता सिर्जनामा तल्लीन गोविन्द नेपालका ढुंगाको मन (गजल संंग्रह २०५५) र अक्षर खेल्ने आँगन (कविता संग्रह (२०६३) यसअघि नै प्रकाशित भइसकेका छन् । उनको तेस्रो कृतिका रुपमा ‘तर्कको साम्राज्य’ कविता संग्रह आएको छ ।

तर्कको साम्राज्यमा ‘बा एक विश्वविद्यालय’ देखि ‘शब्दचित्रमा एक सुर्तिसेवी’ सम्म ४३ वटा कविता समावेश छन् । सबैजसो कविता यथार्थको कसीमा घोटिएका छन् ।

कवि नेपालले आफ्ना कविताहरुलाई आम मान्छेका अनुभूतिको गहिराइमा पुगेर टिपेका छन् । समाजका आधारभूत वर्गप्रति लक्षित छन् प्रायःकविता ।

संग्रहको पहिलो कविता ‘बा एक विश्वविद्यालय’ मा उनले जीवनलाई एउटा भोगाइको विश्वविद्यालय मानेका छन् र ८० वर्षका आफ्नै पिताजीको भोगाइलाई उद्धृत गरेजस्तो लाग्छ । पिताले गरेको श्रम, अध्ययन र सिकाएका आदर्शहरुका बारेमा मीठो वर्णन गरिएको छ । जीवन–दर्शन र जीवनको आदर्शलाई कविताले दर्शाएको छ ।

दोस्रो कविता ‘फेसबुक फिभर’ मा आजको परिवारका हरकोही सदस्य फेसबुक रोगी भएर बसेको देखाइएको छ । मानिसहरू यति एकांकी भैसके कि अरु सदस्यको चासो र चिन्ता लिने फुर्सदै कहाँ र ? केवल फेसबुकमा झ्याम्मिन पाए भैगो । यो हाम्रो आफ्नै परिवेशको कटू यथार्थलाई कविले फेसबुक फिभर नाम दिएका छन् ।

श्रीमतीजी

चिया फेसबुकमा पकाउँछिन्

खाना फेसबुकमै बनाउँछिन्

म पनि पल्लो कोठामा बसेर

फेसबुके चिया सुक्र्याउँदै सुक्र्याउँदै

फेसबुकमाथि कविता लेखिरहन्छु ।

(फेसबुक फिभर)

संग्रहभित्रको अर्को कविता ‘श्रीमती माइत गएपछि’ कवितामा आफूसँग आफ्नी पत्नी नहुँदाको अभावलाई बडो मार्मिक ढंगले कविले अभिव्यक्त गरेका छन् । श्रीमती साथै नहुँदाको अवस्थालाई अत्यन्तै रमाइलो तबरले प्रस्तुत गरिएको कवितामा दुईवीचको भूमिका, जिम्मेवारी र आवश्यकताको महत्वपूर्ण चित्रण देख्न पाइन्छ ।

घरभित्रबाट निस्केर

घर उनकै पछिपछि लाग्छ

रहर उनकै अघिअघि भाग्छ

र घरभरि सन्नाटा जाग्छ

घरका नाममा

कंक्रिटको टापुमात्र हात लाग्छ

झ्यालझ्यालले उल्ल्याउन खोज्छ

ढोकाढोकाले जिल्ल्याउन खोज्छ

यस्तोमा घर

कतैबाट पनि घरजस्तो देखिँदैन

श्रीमतीजी हिँडिदिएपछि

नढाँटी भन्छु

केही पनि लेखिँदैन ।

(श्रीमतीजी माइत गएपछि )

पातलो शरीर, काँधमा झुण्डिरहने झोला र टाउकोमा रातो पालीटोपीको परिचय बनाएका कवि पूर्णविराम, जो २० को दशकको उत्तराद्र्धदेखि नै कविता लेखनमा लागेका थिए । उनमा कुनै सेलेब्रेटीको चमक धमक पाइँदैन । भनौँ, त्यस्तोमा कुनै रुची छैन । न त उनी सामाजिक सञ्जालमा नै छाएका छन् । तर, कविगोष्ठीहरुमा छाँउछन् उनी । लेख्छन् उनी जनता र देशका मुक्तिका धारिला कविता ।
कवि नेपालले आफ्नो कविता संग्रहभित्रको एउटा कवितामा यिनै कवि पूर्णविरामको चर्चा गरेका छन् । ‘आलेखमा कवि पूर्णविराम’ शीर्षकको कवितामा कवि पूर्णविरामको तस्बीर उतार्ने प्रयास गरिएको छ ।

नेपालका कविताका विशेषताहरू केलाउँदा सरल भाषाशैली, यथार्थवादी धरालतमा आधारित, विचार र कलाको समुचित सन्तुलनले भरिएको पाइन्छ । बिम्ब र प्रतीकको उपयुक्त प्रयोग, सामयिक विषयवस्तुहरु सापेक्ष भाव संप्रेषण र शब्दको राम्रो बनोटमा लेखिएका कविता यस संग्रहमा समेटिएका छन् ।

यति हुँदाहुँदै पनि कविताहरू थप तथ्य र तर्कमय हुनसक्नेतर्फ कविको ध्यान पुगेको देखिँदैन । विचारको अझै विस्तृतीकरण हुनसक्थ्यो, त्यसमा कवि केही चुकेजस्तो लाग्छ । कुनैकुनै कवितामा समस्या मात्रै आंैल्याइएको छ । तर, समाधान नखोजिएको जस्तो देखिन्छ ।

जेहोस्, कविकै दाबीलाई सापटी लिँदा ‘कविताले तपाईलाई त्यो लोकमा लैजान्छ, जहाँबाट थ्रिडी सिनेमा हेरेजस्तो तपाईले नितान्त फरकपन अनुभूत गर्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment