Comments Add Comment

बजेट कार्यान्वयनमा पुरानै रोग : ११ महिनामा विकास खर्च आधा पनि भएन

लक्ष्य भेट्न दैनिक १ अर्ब ६२ करोड सिध्याउनुपर्ने

१ असार, काठमाडौं । चालु आर्थिक वर्षमा पनि पूँजिगत खर्चको अवस्था उस्तै दयनीय देखिएको छ । ११ औं महिनासम्मको आँकडा हेर्दा बजेटको आधा हिस्सा पनि खर्च हुन सकेको छैन ।

जेठ मसान्तसम्मको तथ्यांकमा सरकारले मात्र ४८.२३ प्रतिशत पूँजिगत बजेट खर्च गरेको देखिन्छ । चालु आवमा कूल ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पूँजिगत वजेट विनियोजन गरिएको थियो । तर, जेठ मसान्तसम्म आइपुग्दा केवल १ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

वार्षिक लक्ष्य भेट्ने हो भने अब सरकारले एक महिनामा १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । यसका लागि दैनिक औसत ५ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बजेट सिध्याउन जथाभावी खर्च गर्ने परम्परा रहँदै आएको छ ।

सरकार यस वर्ष पूँजिगत खर्च गर्न असफल भएको अर्थमन्त्री स्वयमले स्वीकार गरिसकेका छन् । प्रतिनिधिसभा बैठकमा बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजिगत खर्च नहुनुमा धेरै कारण रहेको बताए । भौतिक काम भए पनि भुक्तानी समयमा हुन नसक्दा पूँजिगत खर्च कम देखिने गरेको तर्क अर्थ मन्त्रालयले दिँदै आएको छ । अर्कोतर्फ तयारी अवस्थामा नपुगेका आयोजनामा ठूलो रकम बजेट विनियोजन गर्दा बजेट खर्च नभई बस्ने गरेको अवस्था छ ।

समग्र बजेट खर्च मात्र ६२.८४

पूँजिगत खर्च कम हुनुको असर समग्र बजेट खर्चमा पनि देखिन्छ । ११ औं महिना सकिदासम्म कूल बजेट खर्च ६२.८४ प्रतिशत मात्र भएको छ । सरकारले यस वर्ष १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यस अवधिमा खर्च भने ८ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ । त्यसमध्ये चालु खर्चको हिस्सा ७२.०२ प्रतिशत रहेको छ । पूँजिगत खर्च ४८.२३ प्रतिशत हुँदा वित्तीय व्यवस्थातर्फ ४२.४७ प्रतिशत बजेट खर्च भएको छ ।

संशोधित लक्ष्य समेत भेटाउन मुस्किल

सरकारले बजेटको अर्द्धवार्षिक समिक्षामार्फत समग्र बजेट खर्चको लक्ष्य ९१.२ प्रतिशत अर्थात ११ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँमा झारेको थियो । अर्धवार्षिक समीक्षामार्फत चालु र पूँजिगत खर्चको लक्ष्यसमेत घटाइएको थियो । नयाँ लक्ष्य अनुसार असार मसान्तसम्म २ खर्ब ६५ अर्ब २६ करोड रुपैयाँ पूँजिगत खर्च भइसकेको हुनुपर्छ । यो लक्ष्यको ८४.५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment