Comments Add Comment

भारतसँग पाकिस्तान हार्नुका तीन कारण

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान फेरि भारतसँग हार्‍यो । अहिलेसम्म भारतलाई हराउन नसकेको पाकिस्तान यो पटक बदला लिन चाहन्थ्यो तर, वर्षाले प्रभावित खेलमा ८९ रनले हार्‍यो ।

भारत पाकिस्तानसँग हावी हुनु र पाकिस्तान हार्नुका केही कारण छन् ।

भारतको ओपनिङ जोडी जम्यो

टस हारेर ब्याटिङ गर्न उत्रिएको भारतका रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे । पहिलो विकेटको रोहित र राहुलले १३६ रनको साझेदारी गरे । यो नै पाकिस्तानको लागि भारी बन्यो । ओपनिङ जोडीलाई सस्तैमा आउट गरेको भए पाकिस्तानले भारतलाई मध्यम स्कोरमा समेट्न सक्ने थियो ।

तर सुरुवातमा उत्कृष्ट बलिङ गरेपनि भारतका ओपनिङ जोडीलाई पाकिस्तानका बलरले छिट्टै आउट गर्न सकेनन् ।

रोहितले १४० रन बनाए । यो नै भारतको जितको आधार बन्यो भने पाकिस्तानको पराजय । त्यस्तै राहुलले ५७ रन बनाए । कप्तान विराट कोहलीले पनि ७७ रन बनाएर भारतको ठूलो स्कोर बनाउन मद्दत गरे । तीन खेलाडीलाई सस्तैमा समेटेको भए पाकिस्तान हावी हुन सक्ने थियो ।

मौसमले धोका

पाकिस्तानलाई भारतविरुद्धको खेलमा मौसमले पनि धोका दियो । मौसमलाई नै मध्यनजर गर्दै पाकिस्तानले टस जितेपछि बलिङ रोज्यो ।

भारतले टस जितेको भएपनि बलिङ नै रोज्ने थियो । तर मौसमले भारतीय खेलाडीले ब्याटिङ गरिन्जेल साथ दियो । भारतले ४६.४ ओभरमा चार विकेटको क्षतिमा ३०५ रन बनाउँदा पानी परेपछि खेल केही बेर रोकियो तर फेरि सुरु भयो ।

पानी परेपछि पाकिस्तानलाई ओसिलो मैदानमा ब्याटिङ गर्न गाह्रो थियो । पाकिस्तानले इमाम उल हकलाई व्यक्तिगत ७ रनमा गुमायो ।

ओसिलो मैदानमा पाकिस्तानले सुस्त सुस्त ब्याटिङ ३५ औं ओभर चलिरहँदा पानी परेपछि फेरि खेल रोकियो । यो बेलामा पाकिस्तानको ३५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १६६ रन भएको थियो भने अब जितको लागि १५ ओभरमा १७१ रन आवश्यक थियो ।

डकवर्थ लेविस मेथोडको आधारमा पाकिस्तान सुरुमा ३३७ रनको लक्ष्य पाएको पाकिस्तानले अब पानी परेपछि ४० ओभरमा ३०२ रनको नयाँ लक्ष्य पायो । तर पाकिस्तानलाई ब्याटिङ गर्न झनै गाह्रो भयो ।

मुख्य खेलाडी नचल्नु

एकाध बाहेक अधिकांश ठूला प्रतियोगितामा पाकिस्तान भारतसामू निरिह हुने गरेको छ । त्यसको असर आइतबार पनि देखियो । पाकिस्तानका ब्याट्सम्यानमा त्यस्तो आत्मविश्वास देखिएन, जुन भारतीय खेलाडीमा थियो । आत्मविश्वासकै कारण पनि पाकिस्तान भारतसँग पराजित भयो । फखर जमानले ६२ र बाबर अजामले ४८ रन बनाउन बाहेक पाकिस्तानका शीर्ष ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

ओपनर ब्याट्सम्यान इमाम १८ बलमा सात रन बनाएर आउट भए । मोहम्मद हफिज पनि ९ रनमा आउट हुदा कप्तान सर्फराज अहमद १२ र अर्का ब्याट्सम्यान सोइब मलिक शुन्य रनमै पेभिलियन फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment