Comments Add Comment

हामी कतिबेला गलत हुन्छौं ?

हरेक कुरालाई हेर्ने दृष्टि र दुरी निर्धारण गरौं

अरुले बोल्ने भाषा, अरुले गर्ने व्यवहारले तपाईंलाई कस्तो असर गर्छ ? मानौ कसैको कुरामा तपाईं सहमत हुनुभएन, के गर्नुहुन्छ ? कसैले गरेको व्यवहार तपाईंलाई चित्त बुझेन, के गर्नुहुन्छ ?

जवाफ हो, त्यसको विरुद्धमा केही न केही प्रतिक्रिया जनाउनुहुन्छ । यो स्वभाविक कुरा हो । अर्थात मानविय स्वभाव नै हो कि आफुलाई चित्त नबुझेको, आफुलाई ठिक नलागेको कुरामा बिरोध जनाउनु । तर, हामी कतिपय कुरा हामीले सोचेजस्तो हुँदैन । हामीलाई जे सही लाग्छ, त्यो वास्तवमा सही नहुन सक्छ । हामीले जे कुरा ठिक मान्छौ, त्यो ठिक नहुन सक्छ । अर्थात हाम्रो आँखाबाट हेर्दा मात्र त्यस्तो देखिएको हुनसक्छ । हाम्रो धारणा वा बुझाई फरक हुनसक्छ ।

जब हाम्रो आँखा बन्द हुन्छ

किनभने धेरैजसो कुरालाई हामी तटस्थ भएर हेर्दैनौ । कुनैपनि कुरालाई हेर्नुअघि नै त्यस कुराप्रति हामी आफ्नो धारणा बनाउँछौ । यसर्थ आँखाले सही देखेको कुरा पनि हाम्रो मनले भिन्न देख्छ । हाम्रो धारणा अनुरुप नै हामी त्यसको व्याख्या एवं विश्लेषण गर्न खोज्छौ । यतिबेला हामी आफै सही ठाउँमा नहुन सक्छौ । हामी गलत ठाउँमा उभिएर गलत कुरालाई सही पनि भनिरहेका हुन सक्छौ ।

कुनैपनि कुरालाई कसरी हेर्ने भन्ने सन्दर्भमा हामी स्पष्ट छैनौ । धेरैजसो कुरा हामी आफुलाई केन्द्रमा राखेर हेर्ने गर्छौ । हाम्रो रुची, हाम्रो स्वार्थ, हाम्रो ज्ञान आदिलाई केन्द्रमा राखेर कुनैपनि कुरामा आफ्नो दृष्टिकोण बनाउँछौ ।

हाम्रो पक्षपाती हेराई

आफ्नो वंश, क्षेत्र, जाति, भूगोल, सम्प्रदायदेखि राजनीतिक विचार आदिले पनि हाम्रो दृष्टिकोण पक्षपाती बनाइदिन्छ । कुनैपनि कुरालाई हेर्दा, विश्लेषण गर्दा हामीलाई ति कुराहरुले निष्पक्ष हुन दिदैन । हामी आफ्नो वशं, क्षेत्र, जाति, भूगोल, सम्प्रदाय, पार्टी आदितर्फ बढी झुकाव राख्छौ । यही कारण हामी निष्पक्ष रहन सक्दैनौ ।

हामीले दोस्रो व्यक्तिलाई देख्नसाथ पनि आफ्नो धारणा विकास गरिहाल्छौ । उक्त व्यक्तिलाई जुन ढंगले वा जुन कोणले हेर्नुपर्ने हो, त्यसो गरिदैन । आफ्नो धारणा अनुरुप नै हेर्ने गर्छौ । त्यसैले त मान्छे अनुसार हाम्रो सम्बन्ध र व्यवहार फरक हुनेगर्छ ।

खासमा हामी एक्लो छौ । सबै एक्लो छन् । हामी कसैप्रति आग्रह एवं पूर्वाग्रह राखेर बस्नु उचित होइन । सबैसँग समान व्यवहार, भेदरहित दृष्टिकोण बनाउनुपर्ने हो । हुनसक्छ, कतिपय व्यक्तिसँग हाम्रो व्यवहारिक तालमेल मिल्दैन । लेनदेनमा विवाद हुनसक्छ । वा कुनै शैद्धान्तिक कुरामा हाम्रो मत बाझिन सक्छ । त्यसो भन्दैमा अरुलाई गलत हो, खराब हो भनेर दाबी गर्न उचित होइन ।

हरेक कुरालाई हेर्ने दृष्टि र दुरी निर्धारण गरौं

संसारमा भएका हरेक बस्तुलाई हेर्ने आ-आफ्नै दृष्टिकोण छन् । निश्चित दुरी छन् । सही कोण र निश्चित दुरीबाट हेर्दा सबैकुरा आफ्नो ठाउँमा ठिक छन् । सबै सुन्दर छन् । सबै राम्रा छन् । सबै असल छन् । तर, हाम्रो दृष्टिकोण नै विकृत भएपछि संसार कुरुप देख्न थाल्छौं ।

हाम्रो आँखामै दोष छ भने हामीले हेर्ने दृश्यहरु स्पष्ट र सफा हुँदैन । ठिक यसैगरी हामीले बनाउने धारणा वा हाम्रो मानसिक स्थितीले पनि कतिपय कुरालाई सही ढंगले देख्दैन । यसर्थ हामीले कसैलाई हेर्नुअघि मनलाई सफा राख्नुपर्छ । खुला राख्नुपर्छ । तब सही देखिन्छ ।

हामी आफै गलत ढंगले हेर्छौ भने दोष हाम्रै हो । तर, हामी अरुलाई दोष दिन्छौ । अरुलाई खराब देख्छौ । अरुप्रति गुनासो गर्छौ । अरुप्रति रोष प्रकट गर्छौ । अरुप्रति इष्र्या गर्छौ । यी सबैमा हामी आफै पनि एक कारण हौ भन्ने कुरामा कहिल्यै घोत्लिदैनौ । खासमा हाम्रो धारणा र दृष्टिकोण नै खराब भएपछि सबैकुरा खराब देखिने हो ।

हामी जे सोच्छौ अरुले त्यही सोच्नुपर्छ भन्ने छैन । हामीलाई जे राम्रो लाग्छ, अरुले पनि त्यही कुरा रुचाउनुपर्छ भन्ने छैन । संसारमा सात अर्ब मान्छे छन् । सबैको रुची र सोंच फरक छ । सबैको व्यवहार र स्वभाव फरक छ । सबै एकैनास हुँदैन । त्यसैले यो विविधतालाई हामीले स्विकार्नुपर्छ । अरुको दृष्टिकोण, धारणा, सोंच, चिन्तनलाई पनि हामीले सम्मान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment