४ असार, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा देशको अर्थव्यवस्था खस्किदो अवस्थामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांकमा आर्थिक परिसूचकहरु उत्साहजनक छैनन् ।
देशको अर्थतन्त्रलाई धानिरहेको रेमिट्यान्सको बृद्धिदर घट्दो क्रममा छ । मूल्यवृद्धि बढ्दै गएको छ । विदेशी विनिमय सञ्चिती घट्दो अवस्थामा रहेको छ भने वैदेशिक व्यापार घाटा बढेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १.२ प्रतिशतले बढेको हो ।
२०७५ वैशाखमा ४.१ प्रतिशत रहेको मुद्रास्फीति २०७६ वैशाखसम्म आइपुग्दा ५.३ प्रतिशत पुगेको छ । जबकी अघिल्लो महिना (चैत्र) मा पनि ४.४ प्रतिशतमात्रै रहेको थियो ।
सबैभन्दा बढी मुद्रास्फीति हिमाली क्षेत्रमा देखिएको छ । यस क्षेत्रको मुद्रास्फीति ६.१ प्रतिशत छ । त्यसपछि काठमाडौं उपत्यकामा ६.०५ प्रतिशत, पहाडमा ५.० प्रतिशत र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३ प्रतिशत, ३.३ प्रतिशत, ५.७ प्रतिशत र ४.० प्रतिशत रहेको थियो ।
२०७६ बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो ।
२०७६ बैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो ।
यस अवधिमा थोक मुद्रास्फीति भने ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत रहेको थियो ।
भारतमा निर्यात बढ्यो, चीनमा घट्यो
पछिल्लो १० महिनामा नेपालको वैदेशिक व्यापारघाटा तीव्ररुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा व्यापार घाटा १९.७ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।
विदेशी विनिमय सञ्चिति घट्यो
कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ४२ अर्ब रुपैयाँले घटेको छ ।
२०७५ असार मसान्तमा ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिती वैशास मसान्तसम्म आइपुग्दा ४१ अर्ब ८९ करोड रुपैयाँले घटेर १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ कायम भएको हो ।
आर्थिक वर्ष २०७५÷७६ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दावी छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.६ प्रतिशत, ६६.६ प्रतिशत र ३१.१ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।
पेट्रोलियम र सुनको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्यमा कमी आएको छ । कच्चा पेट्रोलियमको मूल्य २०७५ वैशाख मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ७८.१७ रहेको थियो । २०७६ वैशाख मसान्तमा आइपुग्दा भने कच्चा पेट्रोलियमको मूल्य ७.२ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ७२.५३ पुगेको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका सुनको मूल्य २०७५ वैशाख मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३१९.८५ रहेकोमा २०७६ वैशाख मसान्तमा १.६ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२९८.४० कायम भएको छ ।
विनिमय दर
२०७५ असार मसान्तको तुलनामा २०७६ वैशाख मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.९ प्रतिशतले अवमूल्यन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.३ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११२.५६ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा बढेको छ । यस्तो घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ ।
चालु खाता देशभित्र आउने कुल विदेशी मुद्र र वाहिरिने मुद्राबीचको अन्तर हो । बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ ।
चालु खातासँगै शोधनान्तर स्थिति पनि घाटामा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको छ ।