Comments Add Comment

आफ्ना पितालाई कसरी सम्झनुहुन्छ ?

बाल्यकालमा र्फकनुहोस् त । खुसी हुँदा तपाईं कसको काखमा नाच्न जानुहुन्थ्यो ? चित्त दुख्दा कसको छातीमा टाँसिएर आँशु चुहाउनुहुन्थ्यो ? ठुस्किएको बेला कसको काखमा लुटपुटिएर घुक्र्याउनुहुन्थ्यो ?

निसन्देहः आमाको । बाल्यकालमा हामीलाई आमा नै पि्रय लाग्यो । आमासँग नै हामी पोखियौ । आमासँग हामीले केही लुकाएनौ, कहिल्यै लुकेनौ । केही छिपाएनौ । सबैकुरा पोख्यौं ।

तर, पिता ?

पितासँग हाम्रो दुरी रह्यो । हामीले कहिल्यै भावना साटेनौ । मनको कुरा लुकायौं । हामीलाई लाग्थ्यो, पिता कठोर छन् । आमा जस्ता कोमल छैनन् ।

तर, कठोर बन्नु पिताको बाध्यता थियो भनेर हामीले बुझेनौ । उनको मन पनि भकानिन्थ्यो । तर, उनलाई रुने छुट छैन भन्ने कुरा हामीले बुझेनौ । सिंगो परिवारलाई आफ्नो छहारी दिने उनी कसरी रुन सक्छन् ? कसरी विलौना गर्न सक्छन् ?

वास्तवमा पिताले आफ्नो काँधमा सम्पूर्ण परिवारको बोझ बोकेर बाँच्छन् । छोराछोरीको भोलिका खातिर उनले आफ्नो आज त्याग्छन् । छोराछोरीको अनुहारमा खुसी ल्याउन उनले आफ्नो सुख भुल्छन् ।

पिता यस्ता व्यक्ति हुन्, जो आफ्नोभन्दा सन्तानको उन्नतीमा उमंगित हुन्छन् ।

पिताको मर्मलाई बुझाउने एउटा सानो दृष्टान्त भेटिन्छ, सामाजिक सञ्जालमा । पिताको जुत्ता फाटेको छ । थोत्रो छ । त्यही जुत्ता लगाएर हिँड्ने पितालाई देखेर छोराले ठान्छ, ‘मेरो पिता कति लोभी ?’ तर, पिता लोभी भएर थोत्रो जुत्ता लगाएका होइनन् । उनले त जतन गरेका हुन् । आफ्नै छोराछोरीले भोलिका दिनमा अभाव झेल्नुपर्ला कि भनेर उनले आज नयाँ जुत्तामा खर्च नगरेका हुन् ।

भारतिय अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सन्जु’को एउटा दृश्यले पनि पिताको सर्मपणलाई दर्शाउँछ । दृश्य यस किसिमको छ । लागुऔषधको दूव्र्यसनमा फसेका सञ्जुलाई हिरासतमा राखिन्छ । त्यो बाफिएको साँघुरो र दुर्गन्धित कोठामा थुनिएको हुन्छ । छोराको यो दशा कसले अनुभूत गर्छ ? पिताले ।

पिता अर्थात सुनिल दत्त (परेश रावल) आफ्नो आरमदायक विच्छ्यौनामा सुत्न सक्दैनन् । उनले पंख बन्द गर्छन् र भुँईमा कष्टसाथ सुत्छन् । उनले आरमदायक ओछ्यान र वाताअनुकुलित कोठा किन त्यागे ? छोराका खातिर । साँघुरो र बाफिएको कोठामा थुनिएको छोराको पीडा भुल्न उनले आफु कष्ट मोल्छन् ।

पिताले सन्तानका खातिर आफ्नो दुःख लुकाउँछन् ।

पितासँगको यस्तै सम्बन्धलाई मियो बनाएर बुद्धिसागरले उपन्यास लेखेका छन्, कर्णाली ब्लुज । त्यहाँ एउटा पंक्ति छ, ‘जतिबेला मसँग बुवा हुनुहुन्थ्यो, त्यसबेला मैले बुवालाई बुझिन । जतिबेला मैले बुवालाई बुझें, त्यतीबेला उहाँ मसँग हुनुहुन्नथ्यो ।’

हामी धेरैको यर्थाथ यही हो । जतिबेला हामीसँग हाम्रा पिता हुन्छन्, तबसम्म हामी उनलाई बुझ्दैनौ । जतिबेला बुझ्छौ, ढिला भइसकेको हुन्छ । किनभने त्यसबेला हामीसँग हाम्रा पिता हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment