Comments Add Comment

पोखरामा प्रचण्डलाई प्रश्न : पर्यटनमन्त्री कहिले पाउँछौं ?

५ असार, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार पोखराका व्यवसायीले आफूहरुको अभिभावकत्व लिइदिन आग्रह गरे । तत्कालीन पर्यटनमन्त्री रवीन्द्रको निधनपछि पोखरेलीले अभिभावक गुमाएको बताउँदै उनीहरुले प्रचण्डलाई अभिभावक बन्न आग्रह गरेका हुन् ।

पोखराका पर्यटन व्यवसायीले प्रचण्डसँग पर्यटनमन्त्री टुंगो लगाइदिन पनि आग्रह गरे । ‘मैले सुनें, हजुरलाई पोखरा माइती आएजस्तो लाग्छ । माइती पनि यही हो, घरको ठूलो अंश पनि यही हो,’ पर्यटन व्यवसायी वासु त्रिपाठीले भने, ‘भीमादबाट चितवन जोड्न पाइयो भने हजुर माइत–घर घण्टामा गर्न सक्नुहुन्छ ।’

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यक्रम ल्याइरहेको छ । तर, पर्यटन क्षेत्र नै अभिभावकविहीन बनेको भन्दै छिटोभन्दा छिटो पर्यटनमन्त्री ल्याउने व्यवस्था मिलाउन पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भइसकेको अवस्थामा पर्यटन क्षेत्र अविभावकविहीन अवस्थामा रहेको लामो समय भएको सर्वविदितै छ,’ उनले भने, ‘यस विषम परिस्थितिलाई मध्यनजर गरी छिटोभन्दा छिटोे पर्यटन मन्त्री चयन गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।’

प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको विषय उठेको भन्दै पर्यटनमन्त्री पनि छिट्टै टुंगो लाग्ने बताए । ‘मन्त्रिपरिषदकै पनि पुनर्गठनसँग सम्बन्धित चर्चा, छलफल भइराखेकै छ,’ उनले भने, ‘पर्यटनमन्त्रीको कुरा यसपटक मिल्छ नै पनि ।’ यस विषयमा पोखराबाट फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने पनि उनले बताए ।

फेवामा जानुपर्ने बजेट रुपातिर परेछ

पर्यटन व्यवसायीको गुनासो थियो, ‘यसपटक फेवाताललाई बजेटले सम्बोधन नै गरेन ।’ उनीहरुले केन्द्र र प्रदेश सरकारले फेवाताल संरक्षणमा चासो नदिएको गुनासो गरे ।

कास्कीकै रुपातालमा झण्डै पाँच अर्ब रुपैयाँ विनियोजन भएर काम भइरहँदा खुम्चिँदै, पुरिँदै र प्रदुषित हुँदै गउको फेवाताल उपेक्षामा परेको उनीहरुले बताए ।

अध्यक्ष प्रचण्डले ताल संरक्षणको काम फेवातालबाटै सुरु हुनुपर्नेमा अन्यत्रबाट भएको बताए । आफू प्रधानमन्त्री भएका बेला रुपामा बजेट परेको बताउँदै प्रचण्डले खासमा त्यो फेवातालका लागि भएको बताए ।

‘खासगरी त्यतिबेला सुवेदीजी (तत्कालिन मुख्य सचिव सोमलाल सुवेदी) ले जोडबल गर्नुभयो । फेवाताललाई थियो, खासमा त्यो दिएको । मुख्य त फेवातालबाट सुरु हुनु पर्ने थियो,’ प्रचण्डले भने, ‘फेवातालका विषयमा म जानकार छु ।’

व्यवसायीले सन् २०२१ सम्ममा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्ने भएकाले त्यसअघि नै विभिन्न सहरसँग हवाई सम्झौता गर्न व्यवसायीले प्रचण्डसँग माग गरे ।

विराटनगर, सिमरा, नेपालगन्ज, धनगढी लगायतका सहरसँग सिधा हवाई उडड्यन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन पर्यटन व्यवसायीको आग्रह थियो ।

जवाफमा प्रचण्डले आन्तरिक उडानका लागि पहल गर्ने बताए । पोखरा झर्दै गर्दा जहाजबाट विमानस्थल हेरेको बताउँदै प्रचण्डले भने, ‘समयमै सकिने गरी विमानस्थल बनिरहेको देख्दा खुसी लागेको छ ।’

व्यवसायीले काठमाडौ–मुग्लिङ–पोखराको सडक ६ लेनको बनाउने प्रक्रिया अगाडि बढिसकेको अवस्थामा पोखरा–चितवन–लुम्बिनी दु्रतमार्ग निर्माणको समेत थालनी गर्नुपर्ने बताए ।

प्रचण्डले प्रधानमन्त्री छँदा पोखरामा पोलिटेक्निकल इन्स्टिच्युट निर्माण गर्ने बताएका थिए । तर, त्यसको प्रक्रिया अगाडि बढ्न सकेन । पोखरा आउँदा व्यवसायीले प्रचण्डलाई उक्त कुरा पनि स्मरण गराए ।

व्यवसायीको मागपछि प्रचण्डले आफूलाई पोलिटेक्निकल इन्स्टिच्युट बनाउनुपर्छ भन्ने लागेको र अब पनि पहल गर्ने बताए । ‘तपाईंहरुले अहिले राख्नुभएको मागको ठूलो अर्थ छ । म फर्केलगत्तै प्रधानमन्त्रीसँग छलफल नै छलफल छ । मैले यी कुराहरु उहाँसँग पनि राख्ने भएकाले यो अर्थपूर्ण छ भनेको हुँ ।’

शान्ति पक्रियामा आएपछि अलि बढी जाने–आउने र विकास प्रक्रियामा ध्यान दिनेमध्ये पोखरा नै भएको प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment