Comments Add Comment

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : प्लाष्टिक र धुलोमुक्त शहर

घरबहाल सम्झौता अनिवार्य

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार राष्ट्रिय सभागृहमो नगरसभा बैठकमा मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे । .मेयर शाक्यले आगामी आर्थिक वर्ष महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्ष हुने बताए ।

महानगरले ल्याएको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकालाई प्लाष्टिक र धुलोमुक्त बनाउने उल्लेख गरिएको छ ।

प्रदुषण र प्लाष्टिकमुक्त सहर बनाइने

महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारी साधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने उल्लेख गरेको छ । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिने साथै सार्वजनिक यातायातका ठुला तथा विद्युतीय सवारी साधनहरुलाई प्रोत्साहित गर्ने महानगरको योजना छ ।

प्रदुषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी नो मास्क सीटीका रुपमा विकास गर्नका लागि बु्रमरको प्रयोगलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गर्ने पनि नीति महानगरले लिएको छ ।

आगामी आर्थिक वर्षमै प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेसमेत महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

घरबहाल सम्झौता अनिवार्य

महानगले आगामी आर्थिक वर्षदेखि घरबहाल सम्झौता अनिवार्य गर्ने भएको छ । शहरी सुरक्षा कायम गर्न र शहरी सेवा वितरणमा प्रभावकारिता हासिल गर्न भन्दै महानगरले यस्तो व्यवस्था गर्ने नीति लिएको हो ।

अस्थायी रुपमा बसोबास गर्ने व्यक्तिको समेत लगत अद्यावधिक गर्न आवश्यक देखिएको भन्दै महानगरले अनिवार्य रुपमा घरवहाल सम्झौता गरी वहालमा बस्नेको व्यक्ति र परिवारको विवरण समेत काठमाडौं महानगरपालिका कार्यालयमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था मिलाइने महानगरले बताएको छ ।

अब काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिंङ प्रणालीबाट मात्र लिने नीति अवलम्बन गर्ने भएको छ । आर्थिक पारदर्शिताका लागि भन्दै महानगरले यस्तो नीति लिन लागेको हो ।

सम्पदा संरक्षणका कार्यक्रम धेरै

महानगरले पार्क निर्माण गर्ने, शालिक बनाउने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्नेलगायतका कार्यक्रम समावेश छ । बालाजु बाइसधारा उदानको सांस्कृतिक तथा धार्मिक पार्कलाई स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, पर्यटन पदमार्ग, फोहोरमैलाको दिगो व्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण लगायतका योजना महानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।

पूर्वाधारको ठूलो योजना भनेको महानगरले मोनोरेल सञ्चालन गर्ने विषयलाई निरन्तरता दिएको छ । यसैगरी महानगरले आफ्नै केन्द्रीय कार्यालय बनाउने विषय पनि नीति तथा कार्यक्रममा समेटेको छ । महानगरको कार्यालयहरु छरपस्ट अवस्थामा छन् । बागदरबार, राष्ट्रिसभागृह साथै नीति कम्पनीको कोठा भाडामा लिएर समेत महानगरको कार्यालय सञ्चालन हुँदै आएको छ ।

महानगरपालिकाले समुदाय तथा संघसंस्थाहरुसँग पाँच तहको समन्वय गरी साझेदारी कार्यक्रम अगाडि बढाउने उल्लेख गरेको छ । जसमा पहिलो तहको समन्वय तथा सहकार्य सरकारी तहमा, दोश्रो तहको अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग, तेश्रो तहको राष्ट्रिय गैर सरकारी तथा गैर नाफामूलक संघ संस्थाहरुसँग, चौथो तहको सहकार्य निजी क्षेत्रसँग र पाँचौ तहको सहकार्य स्थानीय समुदायमा आधारित संस्थाहरुसँग हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विकक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपी, रितीरिवाज र अमुर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

यसैगरी महानगरले आगामी आर्थिक वर्षभित्रमा बिभिन्न क्षेत्रमा शालिक समेत बनाउनेछ । धर्मभक्त माथेमाको सिफलमा, सहित दशरथको र गंगालालको शोभाभगवतिमा पूर्णकद्को शालिक प्रतिस्थापन गर्ने महानगले बताएको छ ।

नीति तथा कार्यक्रममा सुरक्षित भवन निर्माण गर्न महानगरवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले २ वा २ भन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने,

महानगरपालिकाकाभित्रका मूख्य सडकहरुमा अर्नामेन्टल प्लान्ट लगाई शहरी हरियाली एवम सौन्दर्य अभिवृद्धि गरिने, एक घर दुई रुखको कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिईने लगायतका विषय समेत समेटिएको छ ।

विभिन्न पुरस्कार स्थापना

महानगरले नीति तथा कार्यक्रममा विभिन्न किसिमका पुरस्कार तथा सम्मान कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष महानगरले नेपाल भाष र नेपाली भाषा प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुका लागि हरेक वर्ष महानगर सािहत्य पुरस्कार प्रदान गर्ने समेत नीति बनाएको छ ।

महानगरले नेपाल कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसका दिगंवत नेताको नाममा दुई पुरस्कार स्थापना गर्ने भएको छ ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सामाजिक विकास र सुरक्षा तथा संरक्षण नीतिमा दुई नेताको नाममा पुस्कार वितरण गरिने उल्लेख गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ आयोजना गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

महानगरले नेपाली कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंहको नाममा समेत पुरस्कार वितरण गर्नेछ । मेयर शाक्यले कांग्रेसका नेता स्वर्गीय सिंहले प्रजातन्त्र प्राप्तिको निमित्त गरेको योगदानलाई चिरस्थायी बनाउने भन्दै प्रत्येक वर्ष प्रजातन्त्र आन्दोलनमा समर्पित व्यक्तित्वहरुलाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ बाट विभुषित गरिने जानकारी दिए ।

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि र प्रोत्साहनका लागि आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ३/३ विद्यालयलाई प्रत्येक वर्ष महानगरको शिक्षा ऐन अनुसारको महानगर उत्कृष्ट शिक्षा पुरस्कारलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।

यसैगरी युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशीलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० जना युवाहरुलाई महानगर आदर्श युवा पुरस्कार दिई सम्मान गर्ने समेत महानगरले बताएको छ ।

चालु आर्थिक वर्षमा महानगरले शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारमध्येबाट विभिन्न विधामा १० पत्रकारलाई महानगर सुशासन पुरस्कारको नामबाट पुरस्कृत गरेको थियो । यस कार्यक्रमलाई आगामी वर्ष पनि महानगरले निरनतरता दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment