Comments Add Comment

एप्सबाट हुने आम्दानीमा एप्पल अगाडि, गुगलको हिस्सा कति ?

प्रविधि जगतका दुई दिग्गज कम्पनी एप्पल र गुगलबीच तिव्र प्रतिस्पर्धा छ । मोबाइल एपहरुको मामिला जब आउँछ, गुगलभन्दा एप्पल केही कदम अघि रहँदै आएको छ ।

चाहे त्यो एपहरुको गुणस्तर होस् वा एप स्टोरको गोपनियता अनि एपहरुको संख्या, सबै मामिलामा एप्पल अगाडि छ ।

एप रिसर्च कम्पनी सेन्सर टावरको पछिल्लो रिपोर्ट अनुसार एपबाट हुने आम्दानीको हिसाबमा गुगलभन्दा एप्पल कम्पनी निकै अगाडि छ । रिपोर्ट अनुसार एप्पलको एप स्टोरका शीर्ष १ सय वटा एपबाट सन् २०१९ को पहिलो त्रैमासिकमा एप्पलले ८ करोड ३० लाख डलर आम्दानी गरेको छ ।

जबकी सोही अवधिमा गुगल प्ले स्टोरका शीर्ष १ सय एपबाट गुगलले जम्मा ५ करोड १० लाख डलर मात्र आम्दानी गर्न सफल भएको छ । यसरी एप्पलले एपबाट गर्ने आम्दानी गुगलको आम्दानी भन्दा ६५ प्रतिशतले बढी हो ।

रोचक त के छ भने स्मार्टफोनको बजारमा एप्पल भन्दा एन्ड्रोइड स्मार्टफोनको दबदबा छ । तर एपबाट हुने कमाइको मामिलामा एप्पल झण्डै दोब्बरले अगाडि छ । तर गुगलका लागि खुसीको खबर के छ भने एप्पलको तुलनामा एपबाट गर्ने कमाईको अन्तर अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष एप्पलले गुगलले भन्दा ८८ प्रतिशत बढि आम्दानी एपबाट गरेको थियो ।

तथ्यांक अनुसार स्मार्टफोन बजारमा एन्ड्रोइडको हिस्सा ८५ प्रतिशत रहेको छ ।

अपरेटिङ्ग सिस्टमबाट हुने कमाईको मूख्य आधार भनेको एपस्टोरमा हुने एपहरु हुन् । पछिल्लो रिपोर्ट अनुसार एप्पलको आइओएस र एन्ड्रोइड दुबैको कमाईमा नन गेमिङ्ग एपबाट हुने कमाई बढ्दै गएको छ । एप्पलले शीर्ष १ सय नन गेमिङ्ग एपबाट २ करोड ३३ लाख आम्दानी गर्न सफल भएको छ भने गुगलले ७० लाख डलर । त्यस्तै गेमिङ्ग एपबाट हुने कमाई तुलनात्मक रुपमा स्थीर तर अधिक रहेको छ । शीर्ष १ सय गेमिङ्ग एपबाट एप्पलले झण्डै ७ करोड डलर आम्दानी गरेको छ भने गुगलले ४ करोड ८० लाख डलर ।

एप्पलका स्मार्टफोन प्रयोगकर्ता कम हुँदाहुँदै पनि एन्ड्रोइडको तुलनामा एपबाट बढि आम्दानी हुनुका विभिन्न कारणहरु छन् । त्यसमध्ये एउटा मूख्य कारण एप्पलका स्मार्टफोन प्रिमियम स्मार्टफोन हुनु र महंगो मूल्यका स्मार्टफोन चलाउने प्रयोगकर्ताले एपमा पैसा खर्च गर्न नहिच्किचाउनु हो । उता एन्ड्रोइड स्मार्टफोनहरु भने सस्तो मूल्यका पनि उपलब्ध हुने र बजेट स्मार्टफोन प्रयोगकर्ताहरुको एपमा पैसा खर्च गर्ने बानी नहुनु पनि हो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment