Comments Add Comment

३३० किलोका व्यक्तिलाई बाहिर निकाल्न घरको भित्ता फोरियो

काठमाडौं । जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ ।

पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पताल पुर्‍याउन निकै सकस भयो । उनको जिउ यति भिमकाय थियो कि घरको ढोकाबाट उनलाई बाहिर निकाल्न सम्भव थिएन । त्यसैले घरको भित्ता फोरेर उनलाई बाहिर निकालियो अनि उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरियो ।

पञ्जाब प्रान्तस्थित सादिकावादमा बस्ने नुरुल हसन नामका व्यक्ति अत्यधिक मोटोपनाबाट पीडित छन् । उनको उमेर ५५ वर्षको छ ।

घरभित्रै बस्दै आएका उनलाई उपचारका लागि अस्पताल भर्ना गर्नु थियो । तर अस्पताल लग्नु चानचुने कुरा थिएन । त्यसैले आपतकालीन सेवा प्रदायक निकायलाई खबर गरियो । कर्मचारीहरु र सेनाका जवानहरु उनको घरमा आए । तर जिउ निकै ठूलो भएका कारण उनलाई घरको ढोकाबाट बाहिर निकाल्न सम्भव भएन । अन्ततः घरको भित्ता फोरियो र उनलाई बाहिर निकालियो । अनि गाडीमा हालेर अस्पताल लगियो ।

नुरुल हसनले पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग आफ्नो उद्दार गरी उपचारका गर्नका लागि सोसल मिडियामार्फत अनुरोध गरेका थिए । उनको सोही अनुरोध सुनुवाई गर्दै सेना प्रमुखले उनको उपचारको बन्दोबस्त मिलाएका हुन् ।

जिउको वजन निकै धेरै भएका कारण उनी हिँडडुल गर्न सक्दैनन् । नुरुल हसनको अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी गरिनेछ ।

मिडिया रिपोर्टअनुसार नुरुल हसन पाकिस्तानका सबैभन्दा बढी तौल भएका व्यक्ति हुन् । तथापि उनले त्यसको आधिकारिक मान्यता भने पाएका छैनन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment