Comments Add Comment

जसले नेपालमा विश्व विख्यात फेसन ब्राण्ड भित्र्याए

६ असार, काठमाडौं । खाद्यान्न र लत्ता कपडा व्यापारमा रमाइरहेका रुपेश पाण्डेलाई एक ग्राहकको प्रश्नले छट्पटीमा पार्‍यो । सकेसम्म सस्तोमा सामान किन्न खोज्ने नेपाली उपभोक्ता झेल्दै आएका उनलाई २०६१ सालको कुनै दिन ‘तपाईंको पसलमा ब्राण्डेड सामान पाइन्न ?’ भन्ने प्रश्न आएको थियो । उनले ‘छैन’ भनेर विदा त गरे, तर मन खिन्न भइरहृयो ।

वास्तवमा ग्राहकले उनलाई नेपालीको रुचि फेरिएको सूचना दिएर गएका थिए । त्यो बुझेपछि पाण्डेले अध्ययन थाले । त्यसक्रममा भारतको बैंगलौरबाट ‘बिजनेस एनालाइसिस’ गर्ने व्यक्ति बोलाएर नेपालमा ‘ब्राण्ड बिजनेस’को सम्भावना अध्ययन गराए । त्यसपछि नेपालमा सुहाउँदो ब्राण्डहरु के-के हुन् ? यसको मूल्य के छ भन्ने निर्क्यौल गरे र नेपालमा ब्राण्ड भित्रन सुरु गरे ।

नेपालमा ब्राण्डेड फेसन सामाग्री भित्र्याउन थालेका पाण्डे आज यो व्यवसायमा अग्रणी बनेका छन् । उनले पछिल्लो १४ वर्षमा १७ वटा विश्वस्तरीय फेसन ब्राण्ड नेपाल भित्र्याएका छन् ।

वैधानिक रुपमा अन्तर्राष्ट्रिय फ्रेन्चाइचको ब्राण्ड नेपाल भित्र्याउने उनी पहिलो नेपाली व्यवसायी हुन् । आरपी ग्रुपका अध्यक्ष रहेका पाण्डेसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

आरपी ग्रुप के हो, कहिले जन्मियो ?

यो २०६२ सालमा स्थापना भएको एउटा ट्रेडिङ कम्पनी हो । यसअन्तरगत आरपी ट्रेड प्रालि, फ्यासन स्टोर प्रालि, अंशु इलेक्ट्रोनिक्स प्रालि, जय अम्बे साडी शोरुम लगायतका थुप्रै कम्पनी छन् ।

नेपालमा ब्राण्डेड कपडा लगाउने ग्राहकको इच्छा पूरा गर्ने कम्पनीहरुमा हामी अग्रणी हौं । हामीले इन्डियन टेरिन, लुइस फ्लिप, सेलियो, कलर कल्स, देमिलानो, इटालिय, रोसो बुनालियो, अरेलिया क्लाक, जोसे लगायत १७ वटा ब्राण्ड नेपालमा बिस्तार गरेका छौं । हामी विदेशी बजारमा चलेको अन्तर्राष्ट्रिय ब्राण्डलाई अदालती सम्झौता गरेर, फ्रेन्चाइची लिएर नेपालमा ब्राण्डेड सप खोल्छौं ।

सबैभन्दा पहिले नेपालमा तपाईले भित्र्याएको ब्राण्ड कुन थियो र ग्राहक को थिए ? त्यो ब्राण्डबारे ग्राहकलाई बुझाउन के-के गर्नु पर्यो ?

मैले नेपालमा पहिलो ब्राण्ड सेलियो भित्र्याएको हुँ । काठमाडौंको ईन्द्रचोकमा पहिलो ब्राण्डेड पसल थियो । सेलियोमा पुरुषका सबै पहिरन पर्दछन् ।

मेरो पसलको पहिलो ग्राहक नेपालका एकजना उच्च पदस्थ छन् । उनको नाम अहिले भन्दिनँ । ब्राण्डका सोखिन उनी यूरोपमा किनमेल गर्थे । मेरो ब्राण्डेड पसल खुलेको दिन उनले दुई वटा भेष्ट, दुई वटा प्यान्ट र एकजोर जुत्ता लिएका थिए ।

त्यसपछि मैले दमिलानो ब्राण्ड नेपाल ल्याएँ । मानिसहरु यति महँगो जुत्ता, ब्याग, पर्स, बेल्ट नेपालमा बिक्दैन भन्थे । तर, जब मान्छेले ती सामानबाट सन्तुष्टि पाए उनीहरुले आफन्तलाई पनि मुखले मार्केटिङ गरिदिए, मलाई हौसला मिल्यो । त्यसपछि लबिम मलमा इन्डियन टेरिन खोलेँ, डीलजिन्स पनि खोलेँ र डब्लु अरेलिया सञ्चालनमा ल्याएँ ।

त्यसपछि भारतको बिरला समूहसँग सल्लाह गरेर सुटको ब्राण्ड लुइस फ्लिप नेपाल भित्र्याएँ । मेरो अनुभव छ- चिज राम्रो हुनुपर्छ, ग्राहकसँग पैसाको कमी छैन ।

ब्राण्डेड सामान बिकाउन महँगो बिज्ञापन क्याम्पेनिङ गर्न परेन ?

सुरुवाती चरणमा हामीले ब्राण्डेड पसल खोलेका छौं, यस्ता-यस्ता ब्राण्डेड सामान पाइन्छ है भनेर लोकेसनसहित विज्ञापन गर्नुपर्छ । त्यसपछि ठूलो विज्ञापन क्याम्पेनिङ गर्न जरुरी मैले देखिनँ । ग्राहकलाई बिक्री गर्ने सामान डुप्लिकेट चाहिँ कुनै पनि हालतमा हुनु हुँदैन ।

ब्राण्डेड भनेर चिन्ने चाहिँ कसरी ?

कुनै पनि प्रडक्टको बारकोड हुन्छ । सामान किनेर उक्त सामानको बारकोड गुगलमा हाल्नेबितिक्कै सामानको मूल्यदेखि सामान बनेको कम्पनी लगायत सबै कुरा एक क्लिकमा जान्न सकिन्छ । ग्राहक झुक्किने सम्भावना नै रहदैन । मेरो अनुभवले भन्छ- अब नेपालमा ब्राण्डेड सामान बिकाउन कुनै समस्या छैन । ब्राण्डको नाममा नक्कली सामान बिकाउन खोज्नेको लागि नेपालमा ठाउँ छैन ।

कमजोर आर्थिक अवस्था भएको मुलुकमा महंगा ब्राण्ड भित्र्याउनु आफैंमा जोखिमको काम होइन ?

नेपालमा ब्राण्ड कल्चर अद्भूत ढंगले विकास भएको मैले पाएको छु । हरेक क्षेत्रका मानिसले कुनै न कुनै सामान ब्राण्डेड प्रयोग गरेका छन् । हरेक व्यक्तिको ब्राण्डेड सामान किन्ने कुनै न कुनै मार्केट छ । कतिको त्यो मार्केट विदेशमा हुन सक्ला । त्यस्तो किनमेलबाट सरकारको राजश्व गुम्यो, नेपाली पैसा सीधै विदेशिन पुग्यो ।

आजकल भारतीयहरु पर्यटक भएर निस्कदा सपिङ गर्दैनन्, किनकी भारतमै सब कुरा उपलब्ध छ । घुम्न जाने नेपालीले यो सामान नेपालमै पाइन्छ किन विदेशमा किन्ने भन्ने सोच स्थापित गर्न म एकहदसम्म सफल भएको छु । अर्थात्, महंगा ब्राण्ड नेपाल भित्र्याउने कुरा मेरा लागि जोखिमपूर्ण छैन ।

ब्राण्डेड वस्तु व्यापार गर्नेले नेपालमा झेल्नु पर्ने मुख्य समस्या के हो ?

मैले ब्राण्डेड सामानको ब्यापार थाल्दा ग्राहकको ‘कन्फ्यूजन’लाई समस्याको रुपमा बेहोरेको थिएँ । नेपालका बजारहरुमा ठूला ब्राण्डका कपडाहरु निकै सस्तोमा जता तै पाइने हुनाले मकहाँ आउने ग्राहकहरु यो सामान नक्कली कि सक्कली हो भनेर रनभुल्लमा पर्थे ।

ग्राहकलाई लाग्थ्यो- ६०० को प्यान्ट सक्कली कि २५ सयको ? नन्ब्राण्डेड सामानको बिगबिगीले ब्राण्डेड ब्यापार गर्न सहज थिएन । तर अब भन्सार बिन्दुमा नै ओरिजिनल सर्टिफिकेट देखाउनु पर्ने भएकाले नक्कली ब्यापार सुक्दैछ ।

सस्तो सामानको आयात रोकिएपछि सबैले ब्राण्डेड सामान किन्न नसक्लान् नि ?

यहीँनेर हो ग्राहकले ब्राण्डेड सामान भनेको के हो भनेर बुझ्नु पर्ने । ५०० मा किनेको नन्ब्राण्डेड टिसर्ट एक महिनामै खुइलिने, साइज नमिल्ने हुन्छ । हरेक महिना पाँच सयको नयाँ टिसर्ट किन्दा वर्षमा छ हजार खर्च हुन्छ । जबकी, एकै पटक दुई हजार हालेर एउटा ब्राण्डेड टिसर्ट किन्नुस्, कम्तिमा एक वर्ष केही हुँदैन ।

तत्कालका लागि खर्चिलो देखिए पनि ब्राण्डेड सामान टिकाउ हुन्छ । यो कुरा ग्राहकले बुझ्दैछन् । बैदेशिक रोजगारी, अध्ययनका लागि विदेशिनेको लहर आदिले गर्दा धेरै मान्छेको बुझाइ सकारात्मक छ । अबको पाँच वर्षमा यो बुझाइ झनै परिपक्व हुनेमा म विश्वस्त छु ।

भनेपछि नेपालमा ब्राण्ड बिजनेसको भविष्य उज्वल छ ?

हो । नेपाल अब पर्यटनको केन्द्र पनि बन्दैछ । यहाँ ठूल्ठूला होटलहरुको चेन खुल्न थालेका छन् । पर्यटक आगमन दर बढेको छ । दरबारमार्गमा ब्राण्डेड सामान किन्न विदेशीहरुको भिड लागेको मैले देखेको छु । न्यूयोर्क सिटी र काठमाडौंमा गरिने सपिङमा फरक हुन छोडेको छ । मलाई लाग्छ, यसबाट विश्वमा नेपालको इज्जत बढेको छ । नेपालमा यो व्यवसायको भविष्य उज्वल रहेको यसले पनि देखाउँछ ।

नेपालको व्यापार नीति, सरकारी संयन्त्र ब्राण्डेड वस्तु बिक्री प्रवर्द्धनका लागि सहयोगी छन् ?

यो सरकार र व्यवसायीका लागि निकै राम्रो बनेर प्रस्तुत भएको छ । नेपालमा ब्राण्डेड सामान ल्याउँदा सामानको एमआरपी ट्याग वस्तु निर्माता कम्पनीले लगाएकै सक्कली हुनुपर्ने भनेर भन्सारले जाँच कडा बनाएको छ । अहिलेसम्म त नेपालमा ब्राण्डेड कम्पनीको एनपीआर एमआरपी प्राइसट्याग भएको सामान बेच्ने म मात्रै हुँ ।

एमआरपी लगाउँदा कम्पनीले आफ्नो बारकोड बनाउँछ । नक्कली ब्राण्डेड उत्पादन गर्नेहरुले देश अनुसारको एमआरपी लगाउन सक्दैनन् । ब्राण्डेड कम्पनीले नेपालका लागि एनपीआरमा, भारतका लागि आईसीमा, यूरोपका लागि यूरोमा एमआरपी ट्याग बनाउँछ । त्यसो गरिँदा भन्सार बिन्दुमा देखिएको न्युन विजकको समस्या पनि हट्छ । सरकारलाई राजश्व पनि बढ्छ । अण्डर इन्भोइसको समस्या टर्छ । भन्सार र ब्यावसायीबीच तनाव पनि हुँदैन । यसले हाम्रो व्यापार संस्कृति अन्तर्राष्ट्रिय स्तरको हुन्छ ।

ब्राण्डेड सामानमा न्यून आय भएकाहरुको पहुँच कसरी बढाउन सकिन्छ ?

हामी नेपाली ग्राहक नन्ब्राण्डेडभन्दा ब्राण्डेड सामान सस्तो हुन्छ भन्ने बुझाइरहेका छौं । ब्राण्डेड सामान उत्पादकहरुले पनि ग्राहकलाई यो जानकारी गराउने कार्यक्रमहरु चलाएका छन् । ब्राण्डेडमा वारेन्टी, ग्यारेन्टी गरिएको हुन्छ ।

ग्राहकले तपाईसँग गर्ने गुनासा कस्ता हुन्छन् ?

अहिले त गुनासो होइन, फलाना ब्राण्ड नेपाल भित्र्याउनुस् भनेर सुझाव दिनेहरु धेरै हुनुहुन्छ । धेरैले एचएनएम ब्राण्ड नेपालमा खोल्न हौस्याइरहनु भएको छ । तर, एचएनएमका लागि काठमाडौंमा पूर्वाधार पूरा गर्न धेरै काम गर्नुपर्नेछ । हामी यसबारे सोचिरहेका छौं ।

तपाईले चाहेर पनि नेपालमा भित्रिन नसकि रहेको कुनै ब्राण्डेड वस्तु छ ?

काठमाडौं र पोखरामा जे डब्लु मेरियट होटल ब्राण्ड भित्र्याउने मेरो सपना छ । ट्रेडिङ व्यवसायसँगै त्यो ब्राण्ड भित्र्याएर पर्यटन क्षेत्रमा अगाडि बढ्न चाहेको छु । तर समस्या के छ भने नेपालमा जमिन किनेर भौतिक संरचना निर्माण गर्न अमेरिकामामा भन्दा महंगो पर्न थालेको छ । यस्ता विषयमा सरकारबाट लगानीमैत्री नीति आउनुपर्छ ।

अन्त्यमा कसैलाई कुनै सुझाव दिन चाहनुहुन्छ ?

म ब्राण्डेड व्यवसायमा आउन चाहनेहरुलाई भन्न चाहन्छु- कृपया, देखासिकीको भरमा नआउनुस् । गहिरो अध्ययन गरेर, राम्रो बिजनेस प्लान बनाएर मात्र यो क्षेत्रमा प्रवेश गर्नुस् । सुरुमा कमाउन भन्दा स्थापित हुन ध्यान दिनुस् । स्थापित भइसकेपछि व्यवसायले नै तपाईलाई कमाएर दिन्छ । व्यवसायका लागि नेपालमा राम्रो वातावरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment