Comments Add Comment

बुढेसकालमा को होला साथी ?

अँ तपाईं कति बर्ष पुग्नुभयो ? २५, ३०, ४० वा ५० ? विवाह गर्नुभयो होला । छोराछोरी भए होलान् । तपाईंको पारिवारिक जिम्मेवारी बढ्दै गइरहेको होला । वा छोराछोरी हुर्के-बढेका भए तपाईंको काँधको बोझ हलुंगो हुँदै होला ।

हिजो युवा छँदा तपाईं करियरको चिन्तामा हुनुहुन्थ्यो । करियर बनाउनुभयो । आफ्नो खुट्टामा उँभिने हुनु भयो । त्यसपछि घरजाम गर्ने सुरसार गर्नुभयो । आफुले खोजेजस्तो मन मिल्ने जोडी खोज्नुभयो होला । विवाहपछि आफ्नै कोखको बालबच्चा हुर्काउने रहर हुन्छ । बालबच्चा जन्माउनुभयो होला ।

बालबच्चा जन्मिएपछि उनीहरु पालनपोषण, शिक्षादिक्षामा लाग्नुभयो । बच्चाहरु कहिले हुर्किएलान् भन्दा भन्दै उनीहरु ठूला भए । पढे, बढे, काम गर्ने भए । उनीहरु पनि विवाह गर्ने उमेरका भए । विवाह गराइदिनुभयो । सबैजना आ-आफ्नो कामधन्दामा लागे । तपाईंले पनि आफ्नो काम (पेशा/व्यवसाय)बाट अवकास लिनुभयो ।

बुढ्यौलीको अनुभूत

एक हिसाबले सोच्नुहोला, फुर्सदिलो भइयो । सबै कामधन्दाको बोझ बिसाइयो । छोराछोरीप्रतिको दायित्व पुरा गरियो ।

अर्को हिसाबले सोच्नुहोला, उमेर ढल्कियो । जीवनको रसरंग सकियो । कति रहरहरु, कति इच्छाहरु यत्तिकै थाँती रहे । अब जीवनको उत्तरार्द्धमा आइपुगियो ।

यतिबेला तपाईं पुराना दिनहरु सम्झेर नोस्टाज्कि बन्नुहोला । ति कलिला बालबच्चासँग खेलेको, जो आज हुर्केर लाखापाखा लागिसके । हिजो तपाईंकै सामिप्य खोज्ने, तपाईंको स्पर्श खोज्ने ति बालबच्चा आज आफ्नै दुनियाँमा मग्न छन् । तपाईंसँग बस्ने, भलाकुसारी गर्ने फुर्सद छैन उनीहरुलाई ।

उनीहरुको जीवन हो, उनीहरुको खुसी हो । त्यसमा तपाईं बाधा अड्चन लगाउन चाहनुहुन्न । राजीखुसी गर्न दिनुहुन्छ । त्यसैले कोही विवाह गरेर शहर पसे, कोही विदेश पुगे । आ-आफ्नै कामधन्दामा लागे ।

ति साथीभाई रमझम गरेको, जो कहाँ-काहाँ पुगे । आज उनीहरुसँग भेटघाट गर्ने, भलाकुसारी गर्ने मेलोमेसो मिल्दैन । कोही जीवित नहोलान् । कोही अस्पतालमा होलान् । कोही घरमै थलिएका होलान् । सग्लो ज्यान भएकाहरु पनि आ-आफ्नै हिसाबले जीवनका आखिरी दिनहरु कटाइरहेका होलान् ।

तपाईं एक्लिनुभयो

हिजो तन्नेरी हुँदा तपाईर्ंका साथीभाई कति थिए, आफन्तहरु कति झ्याम्मिन्थे । जागिरे जीवनमा तपाईंका सहकर्मी थिए, उनीहरु कति रुचीपूर्वक तपाईंसँग भेटघाट गर्थे । आज सबै लाखापाखा लागे । तपाईं एक्लिदै जानुभयो ।

कसैलाई तपाईंसँग भलाकुसारी गर्ने फुर्सद छैन । कसैलाई तपाईंको दुःखसुख बुझ्ने फुर्सद छैन । कसैलाई तपाईंसँग रमाउने फुर्सद छैन । सबैको आफ्नै जीवन छ । आफ्नै संसार छ । सबै आफ्नै खुसी खोजिरहेका छन् । सबै आफ्नै दुःखसँग पैठेजोरी खेलिरहेका छन् ।

हो त, यतिबेला तपाईं एक्लै हुनुभयो । फुर्तिसाथ हिँडडुल गर्न सक्नुहुन्न । घरको पर्खाल नाघेर टाढा-टाढा जाने ताकत छैन । ठिक-ठिक समयमा औषधी सेवन गर्नुपर्छ । चिसो र गर्मीबाट ज्यानलाई जोगाउनुपर्छ । मनले मागेको खान पाइदैन, मनले रुचाएको गर्न पाइदैन, मनले चाहेको हेर्न पाइदैन । कति पट्यारलाग्दो भो जीवन ? कति झर्कोलाग्दो भो जीवन ?

सायद बुढ्यौलीले गाँज्दै गर्दा तपाईं थप उदास बन्नुभयो ।

यतिबेला तपाईंको दुःख बुझ्ने को होला ? तपाईंको हात समाएर डोहोर्‍याउने को होला ? तपाईंको शरीरको ख्याल राख्ने को होला ? औषधीपानीको व्यवस्था गरिदिने को होला ?

जीवनसाथीको साथ

यतिबेला तपाईंको जीवनसाथी (श्रीमान्/श्रीमती) छन् । जीवनभर आफ्ना जीवनसाथीसँग के-कस्ता सपना बाढ्नुभयो होला, के-कति योजनाहरु बुन्नुभयो होला । कति दुःखमा साथ खोज्नुभयो होला । कति खुसीमा साथ रोज्नुभयो होला । उनै त हुन्, तपाईंको जीवनमा अन्तिम क्षणसम्म साथ दिने ।

आज छोराछोरी टाढिएका छन्, साथीभाई टाढिएका छन्, इष्टमित्र-आफन्त टाढिएका छन् । तर, तपाईंका श्रीमान्/श्रीमती छन्, जो हरक्षण तपाईंसँगै छन् । तपाईंकै ख्याल राखिरहेका छन् ।

बुढेसकालमा जब हामी एक्लदै जान्छौ, त्यसबेला साथ दिने भनेका आफ्नै श्रीमान् वा श्रीमतीले नै हो । त्यसैले उमेर छँदा, रसरंग छँदा एकअर्कालाई हेलाहोचो गर्ने, एकअर्कालाई छल्ने, एकअर्कालाई धोका दिने गल्ती नगरौं ।

वैंश र पैसा स्थायी होइन

उमेर छँदा, शक्ति छँदा, सम्पति छँदा, साथीभाई छँदा यस्तो नसोचौ कि जीवन सधै यसैगरी बित्नेछ । वैंश, रुप, धनदौलत भनेको स्थायी हुँदैन । चाहे तपाईं जतिसुकै शक्तिशाली हुनुहोस्, जतिसुकै प्रभावशाली हुनुहोस्, जतिसुकै धनी हुनुहोस्, जतिसुकै प्रतिष्ठित हुनुहोस्, बुढेसकालमा ति सबै अर्थहिन हुँदै जानेछ ।

अर्थपूर्ण त त्यही हुनेछ कि जीवनलाई तपाईंले कति बुझ्नुभयो, कसरी बुझ्नुभयो । जीवन स्थायी छैन । हाम्रा खुसी, हाम्रा समृद्धि, हाम्रा सम्बन्ध, हाम्रा प्रभाव, हाम्रा सम्पति केहीपनि स्थायी छैन । यो कुरा बोध गरौं । जीवनलाई सरल, सहज र मिठासपूर्ण बनाउने प्रयास गरौं । किनभने भोलि त तपाईंसँग केही हुनेछैन, कोही हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment