Comments Add Comment

संघीय सरकार एकलौटी गर्दैछ : मुख्यमन्त्री गुरुङ

८ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको आरोप लगाएका छन् ।

आइतबार पोखरा महानगरको पाँचौ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन् । ३० मिनेटभन्दा बढी भाषण गरेका उनले आधाभन्दा बढी समय केन्द्र सरकारको आलोचनामा खर्चिएका थिए ।

‘सत्ता फेरियो, सरकार फेरियो, संरचना फेरियो तर, माथि बस्नेहरुको सोच र कार्यशैली फेरिएन,’ मुख्य मन्त्री गुरुङले भने, ‘संघीयतामा गएपछि परिवर्तन हुन जरुरी थियो । विकेन्द्रिकृत सोच हुनुपर्थ्यो । तर त्यस्तो भएन । केन्द्रिकृत मानसिकता हटेन ।’

केन्द्र सरकारले एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको उनको आरोप छ । ‘संघ सरकारले अझै संघीयताको मर्म अनुरुप काम गरेको छैन । हरेक कुरामा एकलौटी ऐन कानुन बनाएको छ । यसरी पनि संघीयता कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण छ,’ उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्न सकिन्थ्यो । तर छलफल र सहमति केही गर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सँग त कुनै पनि गरेको छैन ।’

प्रदेश तथा स्थानीय तहले आफ्ना ऐन तथा कार्यान्वयन गर्न पनि केन्द्र सरकारको ढोका ढक्ढक्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

संघकै कारण प्रदेश तथा स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न नसकेको मुख्यमन्त्री गुरुङले सुनाए । ‘जनताले घरघरमा सिंहदरबार आयो भनेर अनुभूत गर्न पनि माथि बस्नेहरुको कार्यशैली बद्लिनुपर्ने देखिन्छ,’ उनले भने ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न समेत संघीय सरकारले आनाकानी गरेको मुख्यमन्त्री गुरुङले आरोप ।

मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयन नभए सत्ताधारी पार्टी पनि असफल हुने भएकाले सजग रहन आग्रह गरे । ‘संघीयता असफल भए मुलुक असफल हुन्छ । मुलुक असफल भए सत्ताधारी पार्टी नै असफल हुन्छ,’ उनले भने । उनले केन्द्र सरकारले ल्याएका बहुवर्षीय योजना सफल बनाउन प्रदेश तथा स्थानीय तहले पनि सोही अनुरुप योजना ल्याएर सहयोग गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment