Comments Add Comment

‘घराना’ युवतीलाई पछ्याउँदा ठगिए भारतीय व्यापारी

८ असार, काठमाडौं । भारतका निर्माण व्यवसायी श्रीपाल जैनलाई तीन महिना अघि नेपाली युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । मिलेको जिउडाल, अर्मानी घडी, गुची ब्राण्डको जुत्ता ।

हरेक फोटोमा ब्रान्डेड कपडाका भएका कारण युवती खान्दानी परिवारकी भएको निष्कर्ष निकाले र फेसबुकमा आएको मित्रताको प्रस्ताव स्वीकार्न जैनले ढिलो गरेनन् ।

लगतै युवतीबाट सन्देश आयो, ‘हाई ।’

त्यसपछि कुराकानीको क्रम बाक्लियो । ‘डायना सकेण्ड’ नाम गरेकी युवतीले आफ्नो घर नेपाल भएको बताउँछिन् । बुबा चाहिँ सिंगापुरको प्रख्यात ‘बिजनेस म्यान’ भएको सुनाउँछिन् । आमा पनि बुबाकै कारोबारमा संलग्न रहेको विश्वास दिलाउँछिन् ।

‘भारतका मन्त्रीदेखि उच्च तहका कूटनीतिज्ञसँग पनि बुबाको राम्रो सम्बन्ध भएको उनले बताउँथिन्’, जैन भन्छन्, ‘यतिसम्म कि उनले बुबाको सम्पत्तिको आफू एक्लो हकदार भएको बताएकी थिइन् ।’ यो सबैबाट प्रभावित उनले युवतीलाई भेट्न चाहे ।

‘डायना सकेण्ड’ त्यसवेला भिजिट भिषामा संयुक्त अरब इमरेट्स (यूएई) मा थिइन् । जैन त्यही पुगे । उनी मोहित भइसकेका थिए । उनले शारीरिक सम्बन्ध राख्ने प्रस्ताव गरे तर, डायनाले अस्वीकार गरिन् ।

०००

जैन डायनालाई गुमाउन चाहन्नथे । बुबाको सम्पत्तिको एक्लो हकदार भनेकाले पनि उनले आँखा लगाएका थिए । त्यसैले उनले बहिनीका रुपमा नाता सम्बन्ध बनाउने प्रस्ताव राखे ।

उनलाई अर्को अफर पनि थियो, ‘डायनाको बुबाको व्यापारमा भारतका लागि प्रमुख अधिकृत भएर व्यवसाय फैलाउने ।’

उनले जताततै फाइदैफाइदा देख्न थाले । डायनालाई लिएर यूएईदेखि बम्बईस्थित आफ्नो घरसम्म पुर्‍याए, जहाँ जैन पत्नी र छोराछोरी पनि थिए । ‘घरमा बहिनीकै रुपमा उसले चिनजान गराएको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘उनको हाउभाउ र अंग्रेजीमा राम्रो दख्खलका कारण परिवारका कसैले पनि शंका गर्ने ठाउँ पाएनन् ।’

करिब एक साताको भारत बसाइपछि डायना नेपाल फर्किन्छिन् । एक दिन जैनलाई डायनाको सहयोग मागिन्, ‘बुबाले विदेशबाट सुन पठाउनु भएको छ । भन्सारका लागि ४० लाख बुझाउनु पर्ने भयो ।’

बुबा हङकङमै भएकाले रकमको जोहो गर्न गाह्रो भएको उनको तर्क थियो ।

भारतको प्रमुखका रुपमा जिम्मेवारी दिने आश्वासन पाएका जैनलाई केही लाख दिन अफ्ठ्यारो थिएन ।

एकमनमा भने डर थियो । त्यसैले टार्न खोजे तर, फेसबुकमा डाइनाको बुबाको रिक्वेस्ट आएपछि उनी सोच्न बाध्य भए । म्यासेजमा बुबाले भनेका थिए, ‘नानी, छोरीलाई पैसा दिनु इण्डियामै आएर फिर्ता गरिदिन्छु ।’ बुबाले नै भनेपछि जैन पत्याउन बाध्य भए ।

आफैंले पैसा लेनदेन गर्दा समस्या पर्न सक्ने बताउँदै डायनाले अर्कै व्यक्तिमार्फत पैसा दिन आग्रह गरिन्, जसअनुसार शुक्रबार एक किशोरले जैनबाट २३ लाख रुपैयाँ लिए ।

रकम लिएपछि डायना र जैनसँगै भारत फर्किने योजना थियो । रकमको लेनदेन भइसकेपछि १२ः४० मा दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर एरियामा प्रवेश गरे ।

तर, डायनाले भीआईपी पास देखाउँदै आफू अर्को बाटोबाट छिर्ने बताउँछिन् । जैन साधारण प्रवेशद्धारतिर लागे ।

लगेज दिएर विमान उड्ने समय २ बज्नै लाग्दासम्म डायना विमानमा आइनन् । उनको मनमा चिसो पर्‍यो, बाहिर निस्किएर सोधपुछ गर्छन्, कर्मचारीले उनी ट्याक्सी चढेर टाप कसिसकेको बताउँछन् । बल्ल जैन छाँगाबाट खसेझैँ हुन्छन् ।

०००

आफू फसेको थाहा पाइसकेपछि जैनले पनि चलाखी अपनाउँछन् । मोबाइल स्वीच अफ गरेर महानगरीय प्रहरी वृत्त, गौशालामा गएर समस्याबारे बताउँछन् । डायनालाई आफू भारत गइसकेको अनुमान होस् भनेर मोबाइल अफ गरेको उनले सुनाए ।

गौशाला प्रहरीबाट घटनाको अनुसन्धान सम्भव नहुने भएपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा पठाइन्छ । महाशाखाका ठगी पिल्लरका अधिकृतले गरेको अनुसन्धानका क्रममा जैनसँग विमानस्थलबाट छुट्टिएको ५ मिनेटमै डायना ट्याक्सी चढेको खुल्यो ।

‘संयोगवश उनी प्रि–पेड ट्याक्सी सेवामार्फत विमानस्थलबाट बाहिर निस्किएकी रहिछिन्’, घटनाको अनुसन्धान गरिरहेका अधिकृत भन्छन्, ‘ट्याक्सी र विमानस्थलमा कार्यरत एक कर्मचारीको सहयोगमा उनको कोठासम्म पुग्न हामी सफल भयौं ।’

व्यवसायीको बयानबाट युवती कुनै व्यापारिक घरानाकी होलिन् भन्ने सोचेका प्रहरी त्यतिवेला जिल परे, जब डायना भेटिइन् । तीन वटा कोठा भाडामा लिएर डायना भाइ र बहिनीसँगै बसेकी रहेछिन् ।

उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार रुपैयाँ पनि बरामद भएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । ‘जैनले दिएको मध्ये २ लाख २० हजार रुपैयाँ उनले महोत्तरीमा रहेका परिवारलाई पठाएकी रैछिन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले अनलाइनखबरसँग भने, ‘तर परिवारलाई चाहिँ उनको कर्तुतबारे थाहा नभएको भेटिएको छ ।’

बुबाको पनि फेक आईडी ?

अनुसन्धान अधिकारीका अनुसार डायनाले बुबाको नाममा पनि नक्कली फेसबुक प्रोफाइल बनाएर जैनलाई ठगेको देखिएको छ । ‘डायनाको बुबा भनेर कतारमा रहेका श्रदाम भन्ने व्यक्तिले कुरा गरेको भेटिएको छ’, अनुसन्धानमा खटिएका एक प्रहरी निरीक्षकले सुनाए, ‘तर, उनी आफैंले त्यो संवाद गरेकी थिइन् कि भन्ने पनि शंका छ ।’

युवतीले यूएईमै श्रदामसँग चिनजान भएको बयान दिएकी छन् । प्रहरीले उनी डायनाको प्रेमी भएको आशंका गरेको छ । जैनलाई ठगेको भन्ने उनले स्वकिार गरेकी छन् । बयानका क्रममा उनले भनेकी छन्, ‘बुबा डाइबेटिजको बिरामी भएकाले यो सबै गरेकी हुँ ।’

तर, प्रहरी अधिकारीले उनको बयानमा विश्वास गरेका छैनन् । डायनाका बुबा महोत्तरीबाट काठमाडौँं आएका छन् । ‘यहीँ आएपछि डायनाका बुबा लाइसेन्स प्राप्त वकिल भएको खुलेको थियो’, प्रहरी भन्छ, ‘छोरीले पठाएको पैसा पनि उहाँ फिर्ता गरिसक्नुभएको छ ।’

रकम फिर्ता गरे पनि जैनले अहिल्यै पाउने छैनन् । किनकि, कानुनतः डायनाविरुद्ध चल्ने ठगीसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि मात्रै पीडितलाई रकम दिने व्यवस्था छ ।

सरकारी कर्मचारी पनि ठगिए

प्रहरी अधिकारीका अनुसार विमानस्थलका एक सरकारी कर्मचारी पनि डायनाबाट ठगिएका छन् ।

यूएईमै भएका वेला चिनजान र निकट सम्बन्ध बनाएका उनले डायनालाई पासको व्यवस्था मिलाइदिएको अनुसन्धानका क्रममा खुलेको छ । डायनाको कर्तुत सुनेपछि उनी खंरङ्ग भए ।

‘आफू पनि फस्न सक्ने डरले उनले अनुसन्धानमा सहयोग गरे’, एक कनिष्ठ प्रहरी अधिकृतले भने, ‘जसको कारण हामीले केही घण्टामै युवतीलाई पक्राउ गर्न सफल भयौं ।’

प्रहरीले थप अनुसन्धान र बयान लिने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment