Comments Add Comment

कम्युनिष्टका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा : उपसभापति निधि

८ असार, बार्सिलोना। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताएका हुन् ।

‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा उत्पन्न भएको छ । कम्युनिष्टलाई संघीयतामाथि विश्वास छैन, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकोले उनीहरु संघीयताविरुद्ध हाकाहाकी कुरा  गरिरहेका छन्’ उनले भने ।

सरकारले संसदमा पेश गरेका विधेयकहरु समेत संघीयताविरोधी देखिएको निधिले बताए । ‘संसदमा एकपछि अर्को विधेयक संघीयताको विरुद्धमा,  संविधानको विरुद्धमा,  स्वतन्त्र न्यायपालिकाको विरुद्धमा र प्रेस स्वतन्त्रताको विरुद्धमा काम आइरहेका छन्’ निधिले भने ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन देशभित्र र बाहिरका लोकतन्त्रबवादीहरु एक हुनुपर्ने नेता निधिको भनाइ छ । ‘नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा कायम राखिराख्ने कि जनवादी गणतन्त्रको रुपमा जान दिन टुलुटुलु हेरेर बस्ने भन्नेबीचको अवस्थामा छौं’ उनले भने ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा गुट उपगुटका कुरा छाडेर एकजुट हुनुपर्ने बताए । ‘एकजुट भएर हिँड्ने हो भने कांग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न सक्दैन’ उनले भने ।

कार्यक्रममा कांग्रेस नेताहरु डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराईलगायतले प्रशिक्षण दिइरहेका छन् । २३  देशका प्रतिनिधि सहभागी प्रशिक्षण भेला आइतबार पनि जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment