Comments Add Comment

‘दाल भात तरकारी’को आलोचनाको जिम्मेवारी म लिन्छुः हरिवंश आचार्य

वैशाख २० गतेबाट रिलिज भएको चलचित्रले ३ वटा हलमा ५१ दिन मनाएको भन्दै एक कार्यक्रम आयोजना गरियो । चलचित्र क्षेत्रका केही मानिसहरुको उपस्थितीमा आयोजित कार्यक्रममा प्राविधिकलाई बोनस पनि बाँडियो ।

तर, चलचित्रको ५१ दिने कार्यक्रम भैरहँदा आलोचना पनि भएको छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले सकारात्मक भनेनन् । यसैले ‘शत्रु गते’मा १० करोड भन्दा माथिको व्यापार गर्न सफल मह संचार यसपटक ६ करोड ग्रसको आसपासमा खुम्चियो । यो मह संचार र निर्माता किरण केसीका लागि पनि खुशीको कुरा थिएन ।

चलचित्रको ५१ दिने सेलिव्रेशनमा आयोजित कार्यक्रममा यसका कथा, पटकथा तथा लेखक हरिवंश आचार्यले अरु सबै पाटोको प्रशंसा गर्दै आलोचनाको जिम्मेवारी आफूले लिने बताए । भलै, निर्माता किरण केसीले आलोचनाको जिम्मेवारी हरिवंश एक्लैले लिन नपाउने बताए ।

हरिवंशले भने–‘यसपटक ५१ प्रतिशत आलोचना र ४९ प्रतिशत खुशी मिलेको छ । यसको सम्पूर्ण अभिभारा मैले लिएको छु । म चलचित्रका प्राविधिक, कलाकार र निर्देशकलाई बधाई दिन चाहन्छु । किनकी, यी पाटोमा चलचित्र उत्कृष्ट बनेको छ । हामीले एउटा नयाँ प्रयोग गर्न खोजेका थियौं, रेगुलर चलचित्र हेरिरहेका दर्शकहरुले यो पचाउन सक्नुभएन ।’

हरिवंशले आफूहरुले राम्रो गरेको र राम्रै भन्नुपर्छ भन्ने सोच नपालेको बताए । उनले अगाडि भने–‘अर्को पटक हामी यसका कमिकमजोरी सबै सच्च्याएर राम्रो बनाउने कोशिश गर्छौ । चलचित्र बनाउनु भनेको जाँच दिनु जस्तै हो । सधै पास भइन्छ भन्ने पनि छैन ।’

उनले, यसपटक आलोचना बढी लाउडनेश भएका कारण भएको बताए । तर, नायिका निरुता सिंहले पाएको भूमिकालाई उत्कृष्ट तरिकाले निर्वाहा गरेको बताए । उनले, चलचित्रका निर्देशक सुदन केसीको प्राविधिक पक्षको जानकारी उत्कृष्ट रहेको भन्दै उनलाई पनि बधाई दिएका थिए ।

पत्रकारहरुले गरेको आलोचनालाई समेत सकारात्मक रुपमा लिएको भन्दै आचार्यले भने–‘केही आलोचना गरेर समिक्षकहरुले त्रुटिहरु औल्याइदिनुभएको छ । यसका लागि आभार भन्न चाहन्छु ।’ उनले, तत्काल आफूहरु नयाँ चलचित्र घोषणा गर्ने सोचमा नभएको बताए । यसका लागि रिसर्च गरेर मात्र कथा तयार पार्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment