Comments Add Comment

अफगानिस्तानको हारको कारण कमजोर फिल्डिङ

१० असार, काठमाडौं । अफगानिस्तानका कप्तान गुलबदिन नाइबले विश्वकपमा आफूहरुको खराब प्रदर्शनको कारण खराब फिल्डिङ रहेको बताएका छन् । बंगलादेशसँग सोमबार ६२ रनले पराजित भएसँगै अफगानिस्तान विश्वकपमा ७ खेल हारेर पुछारमा छ ।

भारतसँगको खेलमा पहिले बलिङ गर्दा २२५ रनको मात्रै लक्ष्य पाएकाले अफगानिस्तनाले बंगलादेशविरुद्ध टस जितेर बलिङ नै रोज्यो । तर यसपटक कप्तान नाइबको सोच गलत हुन पुग्यो । प्रयोग भइसकेको पिचमा बंगलादेशका सकिब अल हसनको बलिङ भारी पर्‍यो ।

बंगलादेशलाई २६२ रनमा नै रोक्दासम्म पनि अफगानिस्तनाले विश्वकपको पहिलो जित निकाल्ने अडकलबाजी भइरहेका थिए । क्षमता देखाउन व्यग्र खेलाडी र पहिलो जितको चुनौतीका बाबजुद पनि अफगानिस्तानले सोचेजस्तो गर्न भने सकेन ।

हुन त एकदिवसीयमा सिनियर टिमका विरुद्ध अफगानिस्तानले पछिल्लो १५ खेलमा ३ खेल मात्रै जितेको छ । त्यसमा पनि २१२ रनभन्दा बढीको लक्ष्य पछ्याउँदा अफगानिस्तानले जित्न सकेको छैन । अहिलेसम्मकै खेललाई हेर्ने हो भने लक्ष्य पछ्याउँदा अफगानिस्तानले अहिलेसम्म बनाएको सर्वाधिक रन २५८ हो । जुन बंगलादेशविरुद्ध नै २०१६ मा हानेको थियो ।

‘हामीले फेरि पनि फिल्डिङमा धेरै गल्ती ग¥यौँ र हार्न पुग्यौँ’ कप्तान नाइबले आफूहरुको फिल्डिङ नै हारको कारण बताए पनि उनले भने जस्तो अन्य क्षेत्रमा पनि देखिएन । उनीहरु कुनै पनि बेला लक्ष्यको नजिकसम्म पनि देखिएनन् ।

‘पक्कैपनि टस जितेको बेला हामी खुशी नै थियौँ । तर खेलका बेला तपाइँ हेर्नुहुन्छ भने हामीले केही क्याचहरु समेत छोड्यौँ । ३५ रन जति त फिल्डिङमा भएको गल्तीले नै गुमायौँ । यदि फिल्डिङ राम्रो भएको भए लक्ष्य त्यति पनि हुने थिएन’ कप्तान नाइब भन्छन्, ‘स्लो पिचमा हामीले राम्रै ब्याटिङ गरौँला भन्ने थियो तर सकिबले त्यसो हुन दिएनन् ।’

दौलत जर्दानले छाडेको सहज क्याचसँगै अफगानिस्तानको ग्राउण्ड फिल्डिङ पनि असाध्यै कमजोर बनेको थियो । जसमा बंगलादेशले छिटो छिटो रन बटुल्न एक÷दुई रनले धेरै नै सहयोग गर्‍यो ।

‘विकेटलाई हेर्ने हो भने २६२ रन भेट्टाउन सकिने नै हो । तर बलिङका बेला हामीले पहिलो १० ओभरमा नै राम्रो गर्न सकेनौँ । फिल्डिङ र पहिलो १० ओभरलाई विचार गरेको भए ५० रन नै कम हुन्थ्यो’ उनले भने ।

अफगानिस्तानका भरपर्दा स्पीनर रसिद खानले फेरि अर्को खेलमा पनि आफूलाई सम्हाल्न सकेनन् । उनमा मेहनत पर्याप्त रहे पनि मैदानमा त्यो देखिएको छैन । ‘रसिदले निकै मेहनत गरेका छन् । उनले सतप्रतिशत नै मेहनत गरेका छन् तर साथ मिलिरहेको छैन’ नाइबले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment