Comments Add Comment

अर्जेन्टिनाका मार्टिनेजलाई ल्याउने बार्सिलोनाको चाहना

काठमाडौं । अर्जेन्टिनी टिमका फरवार्ड लौटारो मार्टिनेजलाई बार्सिलोनाले ल्याउन चाहेका खबरहरु बाहिरिरहेका छन् । गएको सिजन इन्टर मिलानमा रहेका उनले कोपा अमेरिकामा देखाएको खेलका कारण बार्सिलोनाले ल्याउन चाहेको हो ।

सिजनको अन्त्यतिर इन्टर मिलानबाट लयमा देखिएका मार्टिनेजले २७ सिरी ए खेलमा ६ गोल गर्नुका साथै दुई गोलका लागि अवसर मिलाएका थिए । तर कोपा अमेरिकाको तीन खेलमा उनले दुई गोल गरिसकेका छन् ।

बार्सिलोनाले ल्याउन चाहनुका पछाडिको सबैभन्दा महत्वपूर्ण कारण मैदानमा लियोनल मेस्सीसँग मिलेको उनको तालमेल नै हो । मेस्सीले समेत मार्टिनेजको खेल मन पराएकाले बार्सिलोनामा पनि अर्जेन्टिनी राष्ट्रिय टिममा जस्तै मार्टिनेजको खेल चल्ने विश्वास गरिएको छ ।

बार्सिलोनाले त्यसैका लागि मार्टिनेजका एजेन्ट वेटो याक्वेसँग भेटेर उनलाई बार्सिलोना ल्याउन चाहेको जानकारी पनि गराएको छ । बार्सिलोनाले उनका लागि ११२ मिलियन युरो खर्च गर्न तयार भएको बताइएको छ ।

यसको आधिकारिक जानकारी नआए पनि स्पेनिस पत्रिकाहरुले समेत मार्टिनेजका एजेन्ट र बार्सिलोनाबीच कुराकानी भएको खबरहरुमा उल्लेख गरेको छ ।

२०१५ देखि २०१८ सम्म अर्जेन्टिनाकै रेसिङ क्लबमा रहेका मार्टिनेज गएको सिजन मात्रै इन्टरमा आएका थिए ।

मार्टिनेजका एजेन्टले भने खबरहरुमा आएजसरी बार्सिलोनासँग कुराकानी नभएको र त्यसबारे मार्टिनेजको धारणा पनि बाहिर नआएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment