Comments Add Comment

एक वर्षभित्र नयाँ काठमाडौं पाउनुहुनेछ : मन्त्री महासेठ

१९ असार, काठमाडौं । बिहीबार संसदको विकास तथा प्रविधि समितिले काठमाडौको ट्राफिक जाम, चक्रपथ निर्माण, सडक विस्तारमा भइरहेका ढिलाइलगायतका विषयमा छलफल आयोजना गर्‍यो ।

छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालाई बोलाएको थियो ।

समिति सभापति कल्याणीकुमारी खड्काले पनि काठमाडौं उपत्यकाको दुराअवस्थाको अन्त्य कसरी गर्ने ? भन्दै मन्त्री महासेठलाई प्रश्न गरिन् । जवाफमा मन्त्री महासेठले ‘दुरावस्था’ शब्द प्रयोग नगर्न आग्रह गरे ।

उनले एक वर्षभित्र काठमाडौं उपत्यकाको रुप फेरिने जिकिर गरे । ‘म विश्वास दिलाउन चाहन्छु, आगामी आर्थिक बर्षमा यहाँहरुले नयाँ काठमाडौं पाउनुहुनेछ’ उनले भने ‘हामीले यही महिनामा नेपाल सरकारलाई आफ्नो योजना प्रस्तुत गर्न गइरहेका छौं । जहाँ काठमाडौं उपत्यकालाई विशेष रुपमा ग्राहायता दिएका छौं ।’

कोटेश्वरमा अन्डरपास

मन्त्री महासेठले नयाँ काठमाडौंमा विभिन्न ठाउँमा अन्डरपास, अन्डरवे र फ्लाईओभरहरु बन्ने जिकिर गरे । ‘कोटेश्वरमा नेपाल सरकारकै लगानीमा कभर्ड अन्डरपास बनाउन लागेका छौं’ उनले भने । त्यसका लागि बजेट विनियोजन भइसकेको पनि उनले जानकारी गराए ।

‘जाइकाले सर्भे गरिरहेको छ, त्यो जनाइकाको कुरा हो । त्यसले २÷३ बर्ष अध्ययन नै गर्छ’, महासेठले समिति बैठकमा भने, ‘नेपाल सरकारले आफ्नै पैसाले एउटा अण्डरपास बनाउन सक्दैन ? त्यस्तो होइन । हामीले यसपाली बजेट ब्यवस्थापन गरेका छौं । पुगेन भने, अर्थमन्त्रालयसँग समन्वय गरेर माग गर्छौं ।’

कोटेश्वरमा ललितपुर, भक्तपुर र तीनकुने तीनैतिरबाट आउने सवारी साधन निर्वाध चल्न सक्ने गरी कभर्ड अन्डरपास बनाइने मन्त्री महासेठले बताए । त्यसका लागि यहि महिनाभित्र सर्भेको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

काठमाडौंलाई व्यवस्थित गर्न अन्यत्र पनि अण्डरवाइपास बनाउने योजना रहेको मन्त्री महासेठले सुनाए । ‘महाराजगञ्ज, गौशाला चाबहिल र थापाथलीको सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न अन्डरपास, फ्लाई ओभर वा के बनाउँदा ठीक हुन्छ भनेर अध्ययन भइरहेको छ’ उनले भने ।

नागढुङ्गा–नौविसे सुरुङ २ वर्षभित्र शिलान्यास

मन्त्री महासेठले आगामी दुई बर्षभित्र नागढुङ्गा–नौविसे सुरुङको शिलान्यास गर्ने दावी गरे । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नौविसे सुरुङ निर्माण गर्ने निर्णय गरेको थियो । बिहीबार समितिको बैठकमा स्वयं पूर्वप्रधानमन्त्री खनालले त्यो आयोजना कहिलेसम्म बन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री महासेठले भने, ‘यो अन्तिमचरणतिर पुगेको छ । काठमाडौंतिर मुआब्जा दिइसकेका छौं । एउटा जापानी कम्पनीले काम पाउने संभावना छ । हामी अहिले जाइकालाई सिफारिस गरेका छौं ।’

हाल यस सुरुङमार्गको मुल्याङ्कन जापानी सहयोग नियोग जाइकाले गरिरहेको छ । जाइकासँग ४० महिनाको सम्झौता भएको मन्त्री महासेठले बताए । तर, दुई वर्षभित्र सिध्याउन भनिएकाले दुई बर्षभित्रै नागढुङ्गा–नौविसे सुरुङको शिलान्यास हुने उनको भनाइ छ ।

नुवाकोट जोड्ने टोखा–छहरे सुरुङमार्ग, मकवानपुरको चित्लाङको सुरुङमार्ग लगायतका सुरुङमार्ग निमार्णको सर्वे अगाडि बढाइएको र त्यसका लागि आगामी आर्थिक बर्षका लागि ५९ करोड छुटाइएको उनले जानकारी दिए ।

टेण्डरको विकल्प खोजिने

सरकारले विकासका लागि टेण्डर प्रक्रियाको पनि विकल्प खोज्न लागेको मन्त्री महासेठले बताए । ‘विकासका लागि अहिले जे सिस्टम अपनाएका छौं । त्यो भन्दा फरक तरिकाले पनि जान यो मन्त्रालय चाहन्छ’, उनी भन्छन्, ‘खाली यो टेडरै टेण्डर होइन ।’

उनले सरकारले आफ्नो निर्माण कम्पनी स्थापना गर्न लागेको जानकारी दिए । ‘नेपाल सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ । सम्भवत सात दिन भित्र यो आइसक्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment