१९ असार, काठमाडौं । चोरी आरोपमा पक्राउ परेर धरौटीमा छुटेको दुई महिना नबित्दै पाकिस्तानी दम्पत्ति पुनः पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाकिस्तानको इस्लामावादका राहदानी नं. क्यूडब्लू ४१०२६४३ वाहक मोहसिन खान र एइ ०११०९४३ वाहक पूजा मोहसिन खान छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महशाखा, टेकुको टोलीले भक्तपुर दरबार स्क्वायरमा रहेको एक होटलबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुले ललितपुरको झोंछेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको विदेशी मुद्रा सटही केन्द्रमा ५ सय साउदी रियाल साट्ने बहानामा अमेरिकी डलर ९ सय, साउदी रियल ३ हजार र चिनियाँ मुद्रा १४ सय चोरी गरेका थिए ।
उनीहरु यसअघि ३१ वैशाखमा पक्राउ परेका थिए । त्यसवेला उनीहरुलाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । तर, दुवै जना जेलबाट छुट्ने वित्तिके पुनः पक्राउ परेका छन् ।