Comments Add Comment

प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष गम्भीर घाइते

२२ असार, सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट घाइते कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । सिन्धुलीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालले होटलमा बसिरहेका आफूहरुको भिडियो प्रहरी हवल्दार सनमसिंह लामा र प्रहरी जवान विकास स्याङतानले खिच्न थालेपछि त्यसो नगर्न आग्रह गरिएलगत्तै कुटपिटमा उत्रिएको बताए ।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ । पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताए ।  घाइतेको उपचार व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment