Comments Add Comment

डाइपरमा लुकाएर ५ सय ग्राम सुन तस्करी

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको रहस्य पर्दाफास गरेर प्रहरीले एउटा ¥याकेटको अन्त्य गरेको छ । तर, अझै विभिन्न शैलीको प्रयोग गरेर तस्करले अवैध सुन भित्र्याउन छाडेका छैनन् ।

कहिले मलद्वार त कहिले जुत्तामुनि लुकाएर सुन ल्याउने शैली नौलो रहेन । आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन् ।

उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए । ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन्’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

बोगटीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए । थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

अर्का व्यक्ति पनि समातिए 

प्रहरीको अपरेशन लगत्तै विमानस्थल भन्सार कार्यालयले पनि उस्तै शैलीबाट सुन तस्करी गर्न खोज्ने अर्का एक भरियालाई पनि पक्राउ गरेको छ ।

विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारु पक्राउ परेका हुन् ।

भन्सार स्रोतका अनुसार उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment