Comments Add Comment

कलिलैमा ‘पोर्न’को लत

Photo Credit : साङ्केतिक तस्वीर

२२ असार, काठमाडौं । ललितपुरका सबिन (नाम परिवर्तन) ले ११ वर्षको हुँदादेखि अश्लील चलचित्र हेर्न थाले । उनी हिन्दी चलचित्रका ‘लभ स्टोरी’ हुँदै पोर्न साइटहरुमा पुगेका थिए ।

बुबाआमाले ट्याब ल्याइदिएपछि पोर्न साइटको संसार उनको हातमा आइपुगेको थियो । खातापिता परिवारमा हुर्किँदै गरेका उनी आफ्नो कोठामा चुकुल लगाएर घन्टौं यौन फिल्म हेर्थे ।

छोराले ट्याबबाट के सिक्दैछ भन्ने अभिभावकलाई ख्यालै थिएन । केहीअघि बाबुआमा घरमा नभएको बेला छोराले घरेलु काम गर्ने किशोरीमाथि यौन आक्रमणको प्रयास गरे । मुश्किलले जोगिएकी किशोरी भागेर घर पुगिन् तर, आफूमाथि भएको यौन हिंसाबारे बताइनन् ।

परिवारले बाल हेल्पलाइन १०९८ मा सम्पर्क गर्‍यो । प्रहरीले मनोपरामर्शदाताको सहयोगमा बालबालिका दुवैसँग सोधपुछ गर्दा बलात्कार प्रयास पुष्टि मात्र भएन, कक्षा ९ मा पढ्ने १४ वर्षका सबिनको अश्लील चलचित्र हेर्ने लत खुल्यो ।

घटना प्रहरीसम्म पुगे पनि ३५ दिने हद म्याद नाघिसकेकाले उजुरी भने दर्ता हुन सकेन ।

००० 

चार महिनाअघि बाल हेल्पलाइन १०९८ मा आएको एउटा उजुरी सुनेर त्यहाँ कार्यरत कर्मचारी चकित भए । पोखराको एक विद्यालयका पाँच वर्षमुनिका तीन बालकले सँगै पढ्ने बालिकामाथि यौन आक्रमण गरेका थिए ।

तर, प्रहरीलाई छानबिन र अनुसन्धानका लागि कानुनी जटिलता थियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को सजायसम्बन्धी व्यवस्थाको उपदफा १ ले १० वर्षभन्दा कम उमेरकाले गरेको कसुरमा कुनै प्रकारको मुद्दा नचलाउने, सजाय नहुने व्यवस्था गरेको छ । त्यसैले दुवै पक्षका अभिभावकलाई राखेर समझदारी गराएको प्रहरी बताउँछ ।

०००

२०७५ असोज पहिलो साता जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिएको १३ वर्षे बालकमाथि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग थियो । बालिकाको आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका ती बालकले प्रहरी हिरासतमा अनौठो व्यवहार देखाएका थिए ।

‘लाग्थ्यो, आफूले गरेको अपराधबारे बालकलाई कुनै भेउ थिएन’, यो मुद्दा हेरेका अधिवक्ता टीकाप्रसाद शर्मा कँडेल भन्छन्, ‘जबकी, उनले पीडित बालिकाप्रति केही वर्ष अगाडिबाटै अश्लिल हर्कत गर्न थालेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख थियो ।’

आखिरमा उनले सानैदेखि अश्लील चलचित्र हेर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । कक्षा ८ मा पढ्ने उनी एक्लो सन्तान हुन् । अभिभावकले उनलाई कुनै अभाव महसुस हुन नदिइएको र निगरानी पनि नगरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

‘बालकले इन्टरनेटमा पोर्न साइट हेरेर छिमेकी बालिकालाई आक्रमण गरेको बयानमा बताए’, ती प्रहरी अधिकृत भन्छन्, ‘उनको मोबाइलमा पोर्न भिडियो पनि भेटियो ।’

नाबालक भएकाले हाजिरी जमानीमा छाडिएका उनी अहिले सुधार गृहमा छन् ।

यो पनि पढ्नुहोस भयावह बन्दैछ अनलाइन बाल यौन दुर्व्यवहार: प्रहरीमा किन उजुरी पर्दैन ?

हिंस्रक बन्दै बालबालिका

बालबालिकाको क्षेत्रमा काम गर्ने गैर–सरकारी संस्था सिविन, नेपालको एक अध्ययनले ८२ प्रतिशत नेपाली बालबालिकाले इन्टरनेट चलाउने देखाएको छ । तीमध्ये ७३.७ प्रतिशत बालक र २६.३ प्रतिशत बालिकाले अपरिचितसँग व्यक्तिगत विषय आदान–प्रदान गर्ने गरेको देखिएको छ ।

अध्ययनमा समेटिएका बालबालिकामध्ये ३.९ प्रतिशतले रुचीको पाँच वेवसाइटमध्ये पोर्नलाई एउटामा राखेका थिए भने ११ प्रतिशतले अनलाइनबाट भेटिएका व्यक्तिसँग अश्लील कुराकानी र तस्वीर साटासाटसमेत गरेको भेटिएको थियो । त्यस्तै, ६६.६ प्रतिशत बालबालिकाले अश्लील चलचित्र हेर्ने गरेको पाइएको थियो ।

सिविनका व्यवस्थापक भरत अधिकारीका अनुसार, बाल हेल्पलाइन १०९८ मा हरेक वर्ष सरदर १५० वटा यौन आक्रामणसम्बन्धी उजुरी पर्ने गरेको छ । तीमध्ये ५ देखि १० वटा घटनामा १० वर्षभन्दा मुनिका बालबालिका संलग्न भएको देखिन्छ ।

नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयका प्रमुख पिताम्बर अधिकारी बालबालिका जोडिएको अधिकांश जबरजस्ती करणीका घटनामा कहीँ न कहीँ अश्लील चलचित्रको प्रभाव देखिने बताउँछन् ।

‘बलात्कारको भनेको मानिसको मनोवैज्ञानिक स्थितिबाट सिर्जित हुँदै अभिप्राय बनेर हुने अपराध हो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अधिकारी भन्छन्, ‘बलात्कारलाई मानिसको अभिप्राय बनाउन प्रेरित गर्ने एउटा कारण अश्लील चलचित्र हो ।’

बलात्कार जस्तो अपराधमा पीडक आफैं नाबालक भएपछि कानून कार्यान्वयनमा जटिलता उत्पन्न भएको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस सहमतिमा ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !

अभिभावकले समय दिएनन्

द भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा प्रविधिको सदुपयोग नभई दुरुपयोग हुनुलाई बाल यौन अपराधको प्रमुख कारण मान्छन् । ‘अहिले घरघरमा मोबाइल र अन्य ग्याजेटलाई बच्चा भुलाउने माध्यम बनाइएको छ’, उनी भन्छन्, ‘युट्युव या अन्य साइटमा भिडियो हेर्दाहेर्दै पनि कहिले अश्लील दृश्यहरु आइदिन्छन् ।’

बालबालिका स्वभावले नै जिज्ञासु हुने भएकाले त्यसरी देखेको दृश्यलाई प्रयोग गरेर हेर्न खोज्ने उनी बताउँछन् । अहिले अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय नदिँदा यो समस्या थाहै नपाई बिकराल बनेको थापाले बताए ।

‘फेरि बच्चाले कुनै अश्लील कुरा सुनेर अविभाकलाई सोध्यो भने के बोलेको यस्तो ? कहाँ सिकेर आयो भनेर गाली गर्ने चलन छ’, उनी भन्छन्, ‘त्यो सही वा गलत के हो भनेर सम्झाउने परिपाटी छैन ।’

निर्देशक थापा बलात्कारको घटनामा बालबालिका नै संलग्न देखिन थाल्नुमा पोर्नसाइट मात्र कारण नभएको बताउँछन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले अश्लील तस्वीर/भिडियोसम्बन्धी वेवसाइट प्रतिबन्धित गरेपनि त्यो नै पर्याप्त नहुने यौन मनोविज्ञ कुरुणा कुँवर बताउँछिन् । ‘प्रतिबन्धपछि पनि युट्युबलगायतमा अश्लील सामग्रीहरु सजिलै पाइन्छन्’, उनी भन्छिन्, ‘त्यसले पनि बालबालिकालाई असर पारिरहेको हुन्छ ।’

अश्लील चलचित्रमा १८ वर्षमुनिका बालबालिकाको पहुँच पूर्णतः रोकिनुपर्ने उनको भनाइ छ । उनका अनुसार वयस्क भएपछि बुझ्ने कुरा सानैमा देखेपछि अनुभवका लागि अभ्यास गर्ने रहर हुन्छ । ‘बलात्कार भन्ने थाहै नपाई गरेको नक्कलबाट गम्भीर अपराध भइरहेको छ’, कुँवर भन्छिन्, ‘यस्तो अवस्थामा घर र विद्यालयमा यौन शिक्षाको पनि खाँचो छ ।’

यो पनि पढ्नुहोस सामाजिक सञ्जालबाट ‘टार्गेट’ रोज्छन् बाल यौन दुराचारी

खतरनाक असर

मनोविद् कुँवरका अनुसार अश्लील चलचित्र हेर्ने बालबालिकाको स्वभावमा झर्किने र नकारात्मक सोच्ने क्रम बढ्छ, पढाइमा ध्यान दिन सक्दैनन् । एक्लै वा परिवारभन्दा साथीसँग बस्न रुचाउने, कतिपयमा निन्द्रा नलाग्ने बताउँदै उनले भनिन्, ‘पोर्नसाइटमा समय बिताउने बालबालिकामा खाना नरुच्ने समस्या पनि देखिएको छ ।’

पोर्नसाइटमा समय बिताउने बालबालिकामा कम उमेरमै विवाह गर्न प्रेरित हुनु र पुरुष वा महिलालाई वस्तुको रुपमा हेर्न प्रवृत्ति बढेर जानुलाई बलात्कारजस्तै खतरनाक प्रवृत्ति मान्छिन्, मनोविज्ञ कुँवर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment