Comments Add Comment

बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित

२४, असार, चितवन । भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुरको चौबिसकोठीबाट वर्षाको परवाह नगरी विद्यार्थी नाराबाजी गर्दै चितवन मेडिकल कलेज परिसरसम्म पुगेका थिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । चितवन मेडिकल कलेजले एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेको भन्दा १२ लाख देखि २५ लाखसम्म बढी असुलेको विद्यार्थीको आरोप छ ।

सरकारले राजधानी बाहिर एबीबीएसकोे भर्ना शुल्क ४२ लाख तोकेको छ । तर, चितवन मेडिकल कलेजले विद्यार्थीबाट त्यो भन्दा बढी शुल्क लिँदै आएको छ । कलेजले शुल्कवापत नगदै रकम लिने गरेको र त्यसवापत रसिद पनि नदिएको एक विद्यार्थीले गुनासो गरे । ‘उनीहरुको खातामा पैसा राखिदिन्छु भन्दा पनि हुँदैन, क्यास नै ल्याएर देउ भन्छन्’ ती विद्यार्थीले भने, ‘न त रसिद दिन्छन् न त पैसा दिएको कुनै प्रमाण नै हामीसँग हुन्छ ।’

कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीहरुको गुनासो छ । एबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन शाह दुखेसो पोख्दै भने ‘हामीलाई कलेजले चरम अन्याय गरेको छ, लुटेको छ, त्यसको विरुद्ध आन्दोलित भएका हौं ।’

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले पुरक परीक्षा शुल्क २५ सय तोके पनि चितवन मेडिकल कलेजले पाँच हजार असुलिरहेको छ । ‘यसको विरुद्धमा बोल्दा उल्टै कलेजले धम्क्याउँछ’, शाहले भने ‘कहिलेसम्म यो अन्याय सहने ?’ उनले अन्यायका विरुद्ध आन्दोलित भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

तेस्रो वर्षमै अध्ययन अर्का विद्यार्थी बसन्त शाहले परीक्षाका बेला पैसा माग्ने र मानसिक तनाव दिने गरेको बताए । कलेजको अत्याचारविरुद्ध र्‍याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की दिएको उनले बताए । विद्यार्थीले होस्टेलभित्रको क्यान्टिनको शुल्कसमेत वृद्धि गरेको विद्यार्थीको भनाइ छ । क्यान्टिनका विषयमा तीन महिनादेखि कलेज प्रशासनलाई भनेको तर कुनै सुनुवाई नभएको विद्यार्थीहरुले गुनासो गरे ।

शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । तर, सरोकारवालाहरुसँगको सहमतिपछि मन्त्रालयले दिएको निर्देशनले तीन महिना पार गर्दा पनि कार्यान्वयन भएको छैन ।

मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । परीक्षा, इन्टर्नसिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षक राखेर कलेजहरूले सरकारले तोकेभन्दा दुई गुना बढीसम्म रकम लिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएस लगायत मेडिकल शिक्षका अन्य विषयमा विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएका छन् । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई रकम फिर्ता गर्न पत्राचार गरे पनि मेडिकल कलेज सञ्चालकहरुले टेरपुच्छर लगाएका छैनन् ।

यसअघि, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले समेत तोकिएको समयभित्र शुल्क फिर्ता गराउन सरकारलाई निर्देशन दिएको थियो । शिक्षा मन्त्रालय शुल्क फिर्ताका विषयमा कलेजहरूलाई ताकेता नगर्दा विद्यार्थीहरु मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment