Comments Add Comment

३० हजार धरौटीमा छुटिन् ‘धर्ती माता’

पीडितले उजुरी दिन मानेनन्

२४ असार, काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिने आफूलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवर थुनामुक्त भएकी छन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।

यो पनि पढ्नुहोस ‘धर्ती माता’ लाई प्रहरीले बोलायो, उजुरी दिन पीडितलाई आग्रह

अदालत र प्रशासन दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।

उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् ।

तर, पीडितले उजुरी नदिँदा अनुसन्धान फितलो बनेको प्रहरीले बताएको छ । भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेको देखिएको थियो ।

यो पनि पढ्नुहोस भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।

यदि पीडितले कुँवरविरुद्ध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा जाहेरी दिएको भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको हुनसक्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment