Comments Add Comment

बनेपा ‘सिरिन्ज’ प्रकरणमा दुवै पक्षको विज्ञप्ति– परिस्थितिजन्य घटनाप्रति दुःखी छौं

२५ असार, काठमाडौं । बनेपाको कथित सिरिन्ज प्रकरणमा जोडिएका दुवै पक्षले मेलमिलाप गरेका छन् । उनीहरुले घटनाप्रति दुःख व्यक्त गर्दै सबैमा संयम हुनसमेत आग्रह गरेका छन् ।

बनेपास्थित चारदोबाटोमा गत सोमबार युवतीमाथि सिरिन्ज आक्रमण भएको हल्लाकै भरमा वालिङ न.पा १३, स्याङ्जाका खगेन्द्रपसाद पाठकमाथि भीडले कुटपिट गरेको थियो । कुटपिटपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर आरोपबारे छानबिन गरेको थियो ।

तर, अनुसन्धानका क्रममा युवकमाथि लगाइएको आरोप निराधार भएको पुष्टि भएको छ । उनी निर्दोष सावित भएपछि मंगलबार नै प्रहरीबाट थुनामुक्त भइसकेका छन् ।

कथित सिरिन्ज प्रकरणलाई लिएर बनेपालगायतका क्षेत्रमा त्रास फैलिरहेका बेला दुवै पक्षले घटना निराधार भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

यो प्रकरणमा जोडिएका पाठक, वेथानचोक गाउँपालिका–६ काभ्रेपलाञ्चोककी मनीषा तामाङ र चौरीदेउराली गाउँपालिका–५ कि सपना वागदासले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति दःख व्यक्त गरेका हुन् ।

‘सिरिन्ज आक्रमण गरिएको भनी लाञ्छनासमेत लाग्न गई उत्पन्न भीडबाट सिर्जित परिस्थितिजन्य घटनाप्रति दुवै पक्ष खेद प्रकट गर्दछौं,’ पाठक, तामाङ र वागदास तीनै जनाले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘शंकाको भरमा आगामी दिनमा समेत कुनै सामाजिक दुर्घटना नहोदोरिउन भन्दै सबैमा संयमताका साथ शान्ति सुरक्षालाई मजबुत बनाइ राख्न अपिल गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment