Comments Add Comment

नारायणहिटीको आखेटोपहार संरक्षण गर्न सरकारलाई निर्देशन

२५ असार, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको वन्यजन्तुका हाड, छाला र विभिन्न अङ्ग (आखेटोपहार) संरक्षण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै नारायणहिटी संग्रहालय अन्तर्गतको फरासखाना, हनुमानढोका, बेलायती बैठक, सिंहदरबारमा रहेको आखेटोपहारहरुको संरक्षण उचित ढङ्गले संरक्षण गर्न निर्देशन दिएको हो ।

समितिले मंगलबार वन मन्त्रालयलाई पठाएको पत्रमा नारायणहिटी दरबार संग्रहालयमा रहेको आखेटोपहारहरुको संरक्षण गर्न अति आवश्यक भएको उल्लेख छ । यसअघि समितिले नारायणहिटी दरबार संग्रहालयमा रहेको आखेटोपहारहरुको संरक्षणको सन्दर्भमा स्थलगत अनुगमन पनि गरेको थियो । स्थलगत अनुगमनपछि संग्रहालयमा रहेका आखेटोपहारहरुको संरक्षण गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

‘एक महिनाभित्र प्रतिवेदन बुझाउनू’

संसदीय समितिले नारायणहिटी संग्रहालय अन्तर्गतको फरासखाना, हनुमानढोका, बेलायती बैठक, सिंहदरबारमा रहेको आखेटोपहारहरुको व्यवस्थित संरक्षण गर्नका लागि सिफारिस समिति गठन गर्न पनि निर्देशन दिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकको संयोजकत्वमा सिफारिस समिति गठन गर्न र आखेटोपहारहरुको अवस्था र त्यससम्बन्धमा गर्नुपर्ने कार्यबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनेको छ ।

सिफारिस समितिमा गृहमन्त्रालय, संस्कृति पर्यटन मन्त्रालय, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका अधिकृत प्रतिनिधिलाई सदस्यका रुपमा राख्न भनिएको छ ।

यस्तै, प्राकृतिक विज्ञान संग्रहालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय काठमाडौंका अधिकृत प्रतिनिधि र सम्बन्धित कार्यालयको प्रमुख वा संग्रहालय प्रमुखलाई अधिकृत प्रतिनिधिलाई समिति सदस्यका रुपमा राख्न भनिएको छ । इकोलोजिस्ट, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सचिवलाई समितिको सदस्य सचिवमा राख्न भनिएको छ ।

‘उक्त समितिले तीनवटै ठाउँ नारायणहिटी संग्रहालय अन्तर्गतको फरासखाना, हनुमानढोका, बेलायती बैठक सिंहदरबार) को आखेटोपहारको स्थलगत रुपमा जाँची हेरी जे जे गर्नुपर्छ कानुन बमोजिम प्रक्रिया अपनाइ एक महिनाभित्र प्रतिवेदन तयार गरेर सम्बन्धित निकायमा पेस गरी सो बमोजिमको संरक्षण कार्य वा अन्य आवश्यक कार्य सम्पन्न गरी यस समितिलाई जानकारी गराउने’ समितिले वन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

यस कार्यका लागि आवश्यक पर्ने सबै संयोजनकारी भूमिका वन तथा वातावरण मन्त्रालयको सचिवलाई अधिकार दिन निर्देश गरिएको छ । प्राविधिक एवं वैज्ञानिक दृष्टिकोणले भविष्यको लागि सुरक्षित राख्नुपर्ने, वैज्ञानिक अनुसन्धानका लागि आवश्यक र नमुनाका लागि सुरक्षित गर्ने आखेटोपहारलाई सुरक्षित राख्नुपर्छ । त्यसका लागि सरकारलाई निर्देशन दिएका छौं’ समिति सभापति रामनारायण बिडारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment