Comments Add Comment

सम्बन्ध विच्छेद ? सोच्दै नसोच्नुहोस्

विवाह एउटा त्यस्तो अटुट बन्धन हो, जसमा दुई व्यक्तिसहित दुई भिन्न परिवारको पनि नाता-सम्बन्ध जोडिन्छ । विवाहको सम्बन्धमा बाँधिएपछि दुई व्यक्तिको संसारमा पहिलेको भन्दा निकै परिवर्तन आउँछ । थुप्रै कुराहरु पछाडि नै छुट्न सक्नछन्, अनि थुप्रै नयाँ कुराहरु गाँसिन्छन् ।

एक-अर्काप्रति जिम्मेवारी र इमान्दारिता वैवाहिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण शर्त हुन् । यो पवित्र सम्बन्धमा बाँधिनका लागि उमेरसँगै आपसी समझदारी पनि अत्यावश्यक छ । साथै, एक-अर्काको कुरा सुन्ने र बुझ्ने पनि गर्नुपर्छ । तर वैवाहिक सम्बन्धमा माया, प्रेम, विश्वास र खुशीको ठाउँ घृणा,अविश्वास र दुःखले लिन थाल्यो भने त्यो वैवाहिक जीवन टुंगिने अवस्थामा पुग्छ ।

हिजो-आज सम्बन्ध विच्छेदका खबरहरु धेरै नै सुनिन थालिएको छ । श्रीमान्- श्रीमतीबीच सानो मनमुटावले पनि सम्बन्ध विच्छेद भएको हुन्छ । तर के सम्बन्ध विच्छेद नै सबै समस्याको हल हो त ?
आफ्नो वैवाहिक जीवनबाट असन्तुष्ट भएर सम्बन्ध विच्छेद गर्दा त्यो समयमा आफु वैवाहिक बन्धनबाट मुक्त भएको आभास होला ।

तर, के सम्बन्ध विच्छेदपछि जीवन सहज हुन्छ ? के जीवनमा पहिलेको जस्तो खुशी फर्कीएर आउँछ ? यदि तपाईं यी कुराहरु सोच्नु हुन्छ भने तपाईं शत प्रतिशत गलत हुनुहुन्छ । त्यसैले सम्बन्ध विच्छेदको निर्णय लिनु अगाडि त्यसपछि आउने परिस्थितिहरुको बारेमा पनि विचार गर्नु अत्यन्त आवश्यक छ ।

श्रीमान्-श्रीमतीबीच केही गलत भएर नै सम्बन्ध विच्छेद हुन्छ । एक-अर्का प्रतिको मनमुटावले स-साना कुरामा झगडा भैरहनु सामान्य कुरा हो । यसबाहेक आर्थिक समस्या, आफ्ना सन्तानको लालन-पालनको समस्या जस्ता कारणहरुले पनि दम्पत्तिहरुबीच झगडा हुने गर्दछ । मनमुटाव हुने कुराहरुले गर्दा नै तपाईलाई अब अगाडिको जीवन एक-अर्कासंग बिताउन सकिंदैन कि जस्तो लाग्छ । यसबाटै तपाईं आफ्नो वैवाहिक जीवन टुंगाउन बाध्य हुनुहुन्छ ।

दुवैले सम्झौता गर्न नसक्नु अथवा मानसिक रुपमा डिस्टर्बको अनुभव गरेर अलग हुनु नै समस्याको हल हो भन्ने सोच्नु हुन्छ भने सम्बन्ध विच्छेदको क्रममा हुने कानूनी, सामाजिक र भावनात्मक समस्याहरुको सामना गर्न पनि तयार हुनु पर्छ, जुन त्यति सहज हुँदैन । यदि विवाहित जोडिले विवाहलाई यातनाको रुपमा लिन्छन् भने त्यसबाट छुट्कारा पाउन पनि धेरै नै यातनाको सामना गर्नु पर्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

आफैंलाई मूल्यांकन गर्नुहोस्

तपाईलाई कुन कुराले पिरोलिरहेको छ भन्ने कुरा सम्बन्ध विच्छेद गर्नु अगाडि नै सोच्नु पर्छ । त्यो कुरालाई सुर्धान सकिन्छ कि ? तपाईं आफुले आफुलाई पनि मूल्यांकन गर्नुहोस् । जुन कुराले तपाईं सम्बन्ध विच्छेद गर्न लाग्नु भएको छ, त्यो कुरा केहि समयको लागि मात्र हो कि ? समयसँगै समस्या आफैं टाढा हुन्छ कि भन्ने कुरा सम्बन्ध विच्छेद गर्नु अगाडि सोच्नुपर्छ । सम्बन्ध विच्छेदपछि तपाईं पुनः एक पटक नयाँ सम्बन्ध गाँस्न तयार हुनुहुन्छ ? तपाईका बालबालिकालाई यसको कस्तो प्रभाव पर्छ ? के तपाईंको यो निर्णयमा तपाईंका बालबालिकाको समर्थन छ ? यी कुरामा पनि विचार पुर्‍याउनु पर्छ ।

केही व्यक्तिहरु हतारमा केही पनि नसोचि विवाह बन्धनमा बाँधिन्छन् र केही समयपछि आफुहरु एक-अर्काको लागि बनेको होइन भन्ने अनुभव गर्दै सम्बन्ध विच्छेद गर्छन् ।

त्यस्तै कोही व्यक्ति विवाह गरेको केही दशकसम्म संगै बसेर आफना सन्तानहरुलाई सेटल गराउँछन् र अब संगै बस्नु पर्ने कुनै बाध्येता छैन भन्ने सोच्छन् र अलग हुन्छन् ।

किन हुन्छ विच्छेद ?

आफ्नो साथीलाई धोका दिनु सम्बन्ध विच्छेदको महत्वपुर्ण कारण हो । केही दम्पतीलाई आफुहरुबीच पहिले जस्तो मायाप्रेम नभएको जस्तो लाग्छ । पैसा र विचारहरुमा मतभेदका कारण पनि दम्पतीहरुका बीचमा झगडा भैरहन्छ । कतिपय दम्पतीलाई जीवनमा अन्य केही कुराको आवश्यकता भएको अनुभव हुन्छ, जसका कारण उनीहरु आफ्नो सम्बन्धमा कुनै पनि किसिमको सम्झौता गर्न चाहाँदैनन् र अलग हुन खोज्छन् ।

आजभोलि प्रोफेशनल स्तरमा महिला र पुरुषको बढ्दो महत्वाकांक्षाहरुका कारण पनि धेरै सम्बन्ध विच्छेद भैरहेको देखिन्छ । धेरै प्रोफेशनल दम्पतीको प्राथमिकता परिवार र सम्बन्धभन्दा पनि आफ्नो करियरप्रति बढि हुनु पनि सम्बन्ध विच्छेदको अर्को कारण हो ।

उनीहरुलाई आपसमा कुरा गर्ने फुर्सद पनि हुँदैन । उनीहरु काम र परिवारबीच सन्तुलन मिलाउन सक्दैनन् । दुबैमा आर्थिक स्वतन्त्रताका कारण एक-अर्कामा कम निर्भर हुनु पनि कारण हो । सहनशिलताको अभाव हुनु सम्बन्ध विच्छेदको अर्को महत्वपुर्ण कारण हो ।

यदि तपाईले सम्बन्ध विच्छेद गर्न लाग्नु भएको छ भने एउटा कुरा सधैं याद राख्नु होला । वैवाहिक जीवनले नै तपाईहरु दुबैलाई बाँधेर राखेको हुन्छ र यो सम्बन्ध विच्छेद भयो भने सबै भताभुङ्ग हुन्छ भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ । सम्बन्ध विच्छेद पछि तपाईलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

के तपाई परिवर्तनको लागि तयार हुनुहुन्छ ?

सम्बन्ध विच्छेदपछि हुने हरेक परिर्वतनको सामना गर्न तपाईं तयार हुनुहुन्छ ? सम्बन्ध विच्छेद जीवनको महत्वपुर्ण मोड हो, जुन सुखदायी पनि हुनसक्छ अनि दुखदायी पनि । त्यसैले हतारमा निर्णय लिनु भन्दा सोचेर मात्र निर्णय गर्नु बुद्धिमानी हुन्छ ।

सम्बन्ध विच्छेदको अर्थ परिर्वतन पनि हो । कुनै पनि किसिमको परिवर्तनको सामना गर्न त्यति सहज छैन । सम्बन्ध विच्छेदपछि पहिलाको जीवन सम्झेर रुनु परेमा अथवा बितेका जीवन सम्झेर अपराधबोध हुने जस्ता धेरै कुराहरु हुन्छन् । जसले तपाईलाई आफ्नो निर्णय गलत लाग्न थाल्छ । यदि तपाईं सम्बन्ध विच्छेद गर्ने स्थितीमा पुग्नु नै भएको छ भने आफ्नो जीवनमा आउने परिवर्तनको बारेमा राम्रोसंग सोचेर मात्र निर्णय लिनु होला ।

लिस्ट बनाउनुहोस्

सम्बन्ध विच्छेद गर्नु पर्ने कारणहरु के-के हुन्, ती सबै कारणहरुको लिस्ट बनाउनु होस् । आफ्नो सम्बन्धका राम्रा-नराम्रो सबै कुराहरु त्यसमा लेख्नुहोस् । अर्को पक्षको कमिलाई मात्र ध्यान नदिनुहोस् । केही कमि त तपाईं आफुमा पनि हुन सक्छ । सम्बन्ध विच्छेदपछि व्यक्ति एक्लो हुन्छ । त्यो समयमा आफ्ना साथी अथवा आफन्तको साथ र सहयोग हुनु पनि आवश्यक छ, जहाँ उसले आफ्ना सबै कुरा खुलेर भन्न गर्न सकोस् । आवश्यक परेमा थेरापिस्ट कहाँ पनि जान सकिन्छ, तर तनावग्रस्त भएर बाँच्नु हुँदैन ।

व्यवहारिक सोचको खाँचो

सम्बन्ध विच्छेदपछि आर्थिक समस्या पर्न थाल्छ । एउटा अध्ययनले सम्बन्ध विच्छेदपछि सिर्जना हुने आर्थिक समस्याले महिलाको जीवनस्तरमा ३० प्रतिशत र पुरुषको १० प्रतिशत गिरावट आएको पत्ता लगाएको छ । महिला सम्बन्ध विच्छेद पछिको जीवनका लागि जति तयार भएता पनि आर्थिकस्तरमा आफुलाई अक्षम नै अनुभव गर्छिन् । त्यसैले सकेसम्म सम्बन्ध विच्छेदको बाटो रोज्नु भन्दा भावनालाई बसमा राखेर ब्यावहारिक सोच राख्नुहोस् ।

सम्बन्ध विच्छेदपछि हुने लाभभन्दा त्यसबाट हुने हानीलाई ध्यान दिनुहोस् । यदि तपाई आत्मनिर्भर हुनु हुन्न भने अलग भएर पनि तपाई पुन अरुमा निर्भर हुनु पर्छ, जसले तपाईको आत्मसम्मानमा ठेस लाग्न सक्छ ।

सम्बन्ध विच्छेदले तपाईका सन्तानहरुलाई गहिरो असर पर्न सक्छ । उनीहरुका लागि आमा- बुबा दुबै उत्तिकै महत्वपुण्र्ँ हुन्छन् । आमा-बुवा अलग हुँदा उनीहरुको विश्वासमा चोट पुग्छ, जसका कारण उनीहरु नकारात्मक सोच्न थाल्छन् ।

केही प्रश्न आफ्नो लागि

-के आफ्नो साथीको लागि अहिले पनि तपाईको मनमा भावना छ ? यदि छ भने आफ्नो सम्बन्ध बचाउने कोशिश गर्नुहोस् ।

-के तपाई समाजको डरले मात्र सँगै बसिरहनु भएको हो ?

-के तपाई साँच्चै नै सम्बन्ध विच्छेद गर्न चाहानु हुन्छ ? कि यो झगडा पर्दा धम्क्याउने तरिका मात्र हो । यदि यस्तो भने यसले झन् भयानक रुप लिन सक्छ ।

-के तपँई शारीरिक, मानसिक, आर्थिक र भावनात्मक रुपले सम्बन्ध विच्छेद गर्न तयार हुनु हुन्छ ?

-के तपाईले यसको नकारात्मक परिणामको बारेमा सोचिसक्नु भएको छ ?

सम्बन्ध विच्छेदले तपाईको धेरै कुरामा कमि ल्याउन सक्छ साथै तपाईको कति सपना टुट्न पनि सक्छ ।

-के तपाईलाई साथ दिने कोहि छ ? के आफ्ना सन्तानलाई सम्झाउन र उनीहरुको दुःख कम गर्न सक्षम हुनुहुन्छ ?

-के तपाई आफ्नो करियर र निजी जिन्दगीमा तालमेल मिलाउन सक्नुहुन्छ ?

सम्बन्ध विच्छेदपछि तपाईले आफुलाई नयाँ अनुभव, नयाँ सम्बन्ध र नयाँ चिजहरुलाई नयाँ रुपले लिनका लागि तयार पार्नु पर्छ । अर्को विवाह गरेर खुशी र सुखी हुन्छु भन्ने भ्रममा नपर्नुहोस् । तपाईको दोस्रो विवाह सफल हुन्छ नै भन्ने के ग्यारेन्टी छ ? तपाईको नयाँ साथी पहिलाको तुलनामा राम्रो नै पर्छ भन्ने कुराको पनि कुनै ग्यारेन्टी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment