Comments Add Comment

मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा, आइतबार रातिसम्म पानी परिरहने

२७ असार, काठमाडौं । दुई दिनको लगातार वर्षा घट्ने अपेक्षा गर्नुभएको छ र अन्य योजना बनाउदै हुनुहुन्छ भने पख्नुस् । अझै कम्तीमा तीन दिन यस्तो वा यो भन्दा भारी वर्षात कायमै रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहनेछ । पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहनेछ । सोमबारदेखि मौसममा सुधार हुनसक्छ तर ढुक्क भइहाल्ने अवस्था भने छैन ।

मौसमविद मीनकुमार अर्यालका अनुसार आइतबार साँझदेखि भारी वर्षातमा कमी आउने आँकलन गरिएको छ । मनसुन अहिले पूरै नेपालमा केन्द्रित भएकाले वर्षा बेला बेलामा केही बेर रोकिए पनि निरन्तर भइरहनेछ ।

मौसमविद अर्यालले भने ‘अहिले मनसुन न्युन चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ । यसका साथै मध्य र पूर्वी भूभागमा न्युन चापीय क्षेत्र समेत रहेकाले क्रस हुँदा लगातार तीन दिनसम्म मनसुन अति सक्रिय हुने भएकाले सोही अनुसार तयारी गर्नुहोला ।’

अर्यालले वर्षातसँगै हावाहुरी आउने र शनिवार मध्य पहाड र तराईका क्षेत्रमा ५ मिलिमिटर भन्दा माथिको भारी वर्षात हुने बताए । यो क्रम आइतबार रातिसम्म कायमै रहने र सोमबारको अवस्था अहिलेनै आँकलन गर्न नसकिने अर्यालले जानकारी दिए ।

बिहीबारदेखि निरन्तर जारी रहेको वर्षालाई लगातार वर्षा भन्ने कि भारी वर्षा ? यो प्रश्नमा मौसमविद अर्यालले भने ‘यो लगातार वर्षानै हो तर ५० मिलिमिटरभन्दा माथि भएपछि भारी वर्षा भनिन्छ । चौबिस घण्टा लगातार ५० मिलिमिटरभन्दा माथि गयो भने भारी वर्षा भनिन्छ । त्यसैले अहिले मध्य र पूर्वी क्षेत्रमा भारी वर्षात नै भइरहेको छ ।’

जुलाई र अगष्ट भारी वर्षाकै समय भएकाले अहिले नेपालमा केन्द्रित मनसुन स्वभाविक रहेको उनको भनाइ छ । देशका खासगरी पूर्वी र मध्य क्षेत्रमा बासिन्दाले आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाले बताएको छ ।

पूर्वी र मध्य पहाडी क्षेत्रका भू भागमा पहिरोको जोखिम रहेको र तराई क्षेत्रका नदीहरुमा पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment