Comments Add Comment

फोहोरले नाला टालियो, वीरगञ्ज पनि डुवानमा

२७ असार, वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्जको विभिन्न स्थान डुबानमा परेको छ । पानीको निकास राम्रोसँग हुन नसक्दा जिल्ला प्रशासन कार्यालय, श्रीपुर, रानीघाट, राधेमाई, चिनी मिल आवास क्षेत्र, आदर्शनगर, नगवा, रामगढवालगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ ।

नगर क्षेत्रमा एशियाली विकास बैंकसँगको सहकार्यमा एकीकृत मझौला सहरी वातावरण सुधार परियोजना अन्र्तगत नाला बनिसकेको ठाउँमासमेत पानीको निकास भएको छैन ।

परियोजनाले बाढीको पानी निकासका लागि आदर्शनगरमा अन्डर ग्राउन्ड नाला बनाएको भए पनि निरन्तर वर्षा हुँदा डुबानमा पर्ने गरेको छ । बिहान आदर्शनगर क्षेत्र डुबानमा परेको भए पनि बन्द भएका इनलेट च्याम्बर खोलिदिएपछि अहिले पानीको निकास भएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।

‘४ वटा इनलेटमा फोहोर जमेर जाम भएको रहेछ, बिहान गएर खोलिदियौं, अहिले पानी नाला हुँदै सिर्सिया नदीमा गएको छ’ उनले भने ‘अब सिर्सियामा नै ठूलो बाढी आयो भने भन्न सकिन्न ।’

वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका सरफुद्धिन मियाँले फोहोरले नाला जाम भएका कारण पानीको निकास नभएको बताए । फोहोर हटाइदिएपछि पानीको निकास भइरहेको उनको भनाइ छ । पानीको निकास नभएका ठाउँमा खुलाउनका लागि महानगरपालिकाको दुईवटै स्काभेटर प्रयोग भइरहेको छ ।

एडीबी परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले भने नाला बनाइएको ठाउँमा पनि पानीको निकास नहुनुमा नगरबासीको लापरबाही रहेको बताए । उनले फोहोरको उचित व्यवस्थापन नहुँदा इनलेट च्याम्बरहरु बन्द हुने हुँदा पानीको निकास नहुने गरेको जानकारी गराए ।

‘पहिलो कुरा त हामीले नगरका सबै ठाउँमा वर्षाको पानी निकास हुने गरी नाला निर्माण गरेका छैनौं, जहाँ निर्माण गरिएको छ, त्यसमा वर्षाको पानी नालामा पठाउन इनलेट च्याम्बरहरु राखिएको छ’ उनले भने ‘नगरबासीले प्लास्टिक, बोरा, गुट्खा लगायत जंक फुडका प्याकेट जथाभाबी फालेर इनलेट च्याम्बर बन्द भइदिन्छ, त्यसैले गर्दा पानीको निकास हुन सक्दैन ।’

अबिरल वर्षाका कारण पर्साको ग्रामीण क्षेत्रका अधिकांश गाउँ जलमग्न भएका छन् । नदी, नहर, कुलोको पानी खेत र बस्तीमा पसेका छन् । पर्साको बिन्दवासनी गाउँपालिकाको गर्दौल, बहुअर्वा, झौवा, ईटियाहि, अमरपटी, मधवल, प्रसौनी, भाठा, हसवा, बरसवरा गाँउ डुवानमा परेको छ ।

ग्रामीण क्षेत्रमा जताततै पानी नै पानी भएको स्थानीय लालबाबु बानियाँले जानकारी दिए । उनका अनुसार सिक्टा खोलाको पानी पसेर मुड्ली, लंगडी, जगरनाथपुर, रविदास, भिश्वा बञ्जारी गाउँ त्यसैगरि ओरिया खोलाको पानी पसेर जयमंलापुर, भिश्वा बञ्जारी, दसौता, आसवारी, नुनिया टोल डुबानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment