Comments Add Comment

कांग्रेस र राजपाबीच सदनमा मुद्दाका आधारमा सहकार्य

Photo Credit : राजकिशोर यादव/अनलाइनखबर

२७ असार, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सदनमा मुद्दाका आधारमा सहकार्य गर्ने भएका छन् ।

दुई दल पहिलो पटक सर्लाही घटनालाई लिएर सदनमा एकस्वरमा प्रस्तुत भएका थिए । कुमार पौडेल र सरोजनारायण सिंहको मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई लिएर दुई दलले रोष्टम घेराउ समेत गरेका थिए ।

‘लोकतन्त्रमाथि नै धावा बोल्न थालेपछि हामीले सहकार्य सुरु गरेका हौं’ राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भन्छन्, ‘हामी मुद्दाका आधारमा सहकार्य गर्छौं ।’

सुरुमा राजपा नेताहरुले प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी भएको थियो । त्यसपछि राजपा नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

राजपा नेता यादवकाअनुसार मधेस तथा थारु आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाव दिने सहमति भएको छ । ‘सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन’ उनले भने, ‘यो संसदको अपमान हो । यसमा हामीले उठाएको मुद्दामा कांग्रेस सैद्धान्तिक रुपमा सहमत छ ।’

कांग्रेसले सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्थाका लागि आवाज उठाए आफूले साथ दिने उनले बताए । नेताहरुकाअनुसार अहिले सदनमा यसरी मुद्दाका आधारमा सहकार्य हुनेछ । तर सरकार यसरी नै अगाडि बढे सडकमा पनि सहकार्य गर्नेबारे छलफल हुन सक्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment