Comments Add Comment

भोलि पनि पर्न सक्छ लामो झरी, किनारका बस्ती जोखिममा

२७ असार, काठमाडौं । लगातारको वर्षासँगै उपत्यकाका नदी किनारमा बस्तीहरु डुवानमा पर्न थालेका छन् । कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ ।

तर अझै वर्षा रोकिने छाँटकाँट देखिएको छैन । जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै दुई दिन पानी पर्छ । मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अझ भोलि त आजको जस्तै लामो झरी पर्ने सम्भावना छ ।’

विभागकाअनुसार शुक्रबार काठमाडौंमा  ११५.२ मिलिमिटर पानी परेको थियो । त्यसपछि दिउँसो २ः४५ सम्म थप ४४ मिलिमिटर पानी परेको छ । अब केहीबेरमा साँझ ५ः४५ सम्म परेको पानीको मात्रा आउँछ ।

यसरी हेर्दा काठमाडौंमा अहिलेसम्मकै ठूलो पानी परेको होइन । तर, ठूलोमध्ये एक भने हो ।

विभागको तथ्यांकअनुसार २३ जुलाई २००२ मा १७७ मिलिमिटर पानी परेको थियो । जुलाई महिनाभरको हिसाब हेर्ने हो भने गतवर्ष ३६५ मिलिमिटर पानी परेको थियो । यो वर्ष १३९ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।

तर डुवानको समस्या भने बढ्दो छ ।

उपत्यकामा विगतका वर्षहरुमा डुवान नभएका सडक किनारका बस्तीहरु समेत यो वर्ष पानी परेको छ । यसको प्रमुख कारण कोरिडर सडकका नाममा नदीलाई साँघुरो बनाउने, नदी मिचेर बस्तीहरु बनाउनुलाई मानिएको छ ।

यस्तै शहरका कंक्रिट संरचनाहरु बढ्दो छ । यसले गर्दा परेको पानी जमिनमुनि जाने ठाउँ छैन । मौसदविद् श्रेष्ठ भन्छन्, ‘आकासबाट परेको पानी जमिनमुनि जानै पाउँदैन । सिधै खोलामा पुग्छ । यसले पनि पानीको सतह बढेको हो ।’

पानीको सतह बढेपछि स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment