Comments Add Comment

स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय

२८ असार, काठमाडौं । सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।

शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने निर्णय गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए ।

बैठकले बर्षा नरोकिए अझै क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि आग्रह गरेको छ ।

बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिए । जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकोप्टर भने मौसम प्रतिकुल भएका कारण इटहरीतर्फ फर्किएको उनले बताए ।

बर्षासँगै आएको बाढी तथा पहिरोका कारण अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण ४ सय ३५ परिवारका १५ सय जना विस्थापित भएका छन् ।

बाढीले पूर्वपश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा यातायात पुर्ण रुपमा प्रभावित भएको छ । त्यसैगरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्थुम, म्याग्दी, बेनी, जोमसोङ्ग, मनाङ्ग लगायतका ठाउँमा बाटो अवरुद्ध भएको छ ।

यस्तै रौतहटका कतिपय स्थानमा एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क विच्छेद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment