धमिराकै सही
पहाड त पहाडै हो ।
०००
अग्ला होचा जति पहाड हेरे पनि
खास लाग्छन् मलाई ती देवलहरु
जुन मान्छेले बनाउन सक्दैनन्
न त बनाउन सक्छन् ठूला–ठूला मेसिनले,
बनाउँछन् त केवल ती प्रकृतिका कालिगडहरुले ।
०००
ती पिकासोहरु हुन्
अनि भ्यान गगहरु हुन्
ती अरनिकोहरु हुन्
जन्मिन्छन् त्यहीँ,
कुँद्छन् आफ्ना अनुपम कला त्यहीँ, अनि सजाउँछन् उत्तुङ्ग देवलहरु
र, रमाउँछन् अनि हराउँछन् त्यहीँ ।
०००
ती धमिराहरु
ती कमिलाहरु
प्रकृतिप्रदत्त ईश्वरहरु
ती देवल राजा– देवल रानीले
नसुती दिनरात
अग्ला–होचा पहाड बनाउँछन्
तिनै पहाडभित्र घर बनाउँछन्
अनि आफ्नो संसार सजाउँछन् ।
०००
म नियाल्छु ती देवलहरु
र पुग्छु सनातनसम्म
त्यहीँबाट निस्किए ऋषि च्यवन
निस्किए त्यहीँबाट महर्षि वाल्मिकि
यी धमिराहरु शिल्पकार हुन्,
युग जन्माउँछन् ।
०००
हेर्दा बाहिरबाट झट्ट देखिए पनि पहाडजस्ता,
तर हुन्छन् भित्र दरबार
त्रिपुर छन् त्यहीँ,
अलकापुरीका रत्नखानी छन् त्यहीँ
सप्तर्षिका तारामण्डल
सारा जग्मगाउँछन् त्यहीँ
गन्धमादन तिनै हुन् ।
विन्ध्याभल र गौरीशंकर,
कुम्भकर्ण अनि अविचल सुमेरु तिनै हुन् ।
०००
भक्षकहरु यहाँ भत्काउँछन् सालिक
तोड्छन् सम्पदाहरु
तर, भमिराहरु माटो उठाउँछन्
र निर्माण गर्छन्
बिगार्दैनन् उनीहरु,
उनीहरु केवल जोड्न जान्दछन्
किनकि ती कालिगड हुन्
ईश्वर हुन् ।
(चापागाईको यसै साता प्रकाशित कविता संग्रहको शीर्ष कविता)