Comments Add Comment

बन्दीले उत्पादन गरेका कपडा बेच्न पसल खोलिँदै

२९ असार, काठमाडौं । कारागारका बन्दीले उत्पादन गरेका सामाग्रीको बजार प्रवर्द्धन गर्न स्थायी बिक्री केन्द्र निर्माण कार्य सुरु भएको छ । देशका बिभिन्न कारागारमा उत्पादन हुने स्तरीय तन्ना, पर्दा, सारी, सटिङ्ग एवं पप्लीनहरु सस्तो मूल्यमा पाइन्छ भन्ने जानकारी सर्वसाधारणलाई गराउन उद्योग विभाग हातामा बिक्री केन्द्र निर्माण थालिएको हो ।

त्रिपुरेश्वर-टेकु सडकमा मुख्य सटरको मोहोडा हुने गरी चार कोठाको बिक्री एवं प्रदर्शनी स्थल निर्माण अघि बढेको उद्योग विभागका महानिर्देशक विनोदप्रकास सिंहले जनाकारी दिए । करिब २० लाख लागतमा निर्माण हुने टसको उक्त केन्द्र साउन महिनाबाटै सञ्चालनमा आउने महानिर्देशक सिंहले बताए ।

केन्द्रीय कारागारका बन्दीहरुले सुती कपडाका स्तरीय सामान उत्पादन गरे पनि ग्राहकको पहुँच नपुग्दा उत्पादन ओझेलमा परेको पाए पछि केन्द्र स्थापना जरुरी भएको महानिर्देशक सिंह बताउँछन् । भृकुटीमण्डपमा केही समयअघि भएको घरेलु प्रदर्शनीमा निकै रुचाइएको बन्दीहरुद्वारा उत्पादित कपडा कारागारबाट बिक्री हुन मुस्किल भएको थियो ।

जेलमा आएर आफैँ कपडाको प्रकार छानेर लैजान सर्वसाधारणलाई असहज हुने भएकाले यस्तो केन्द्र जरुरी देखिएको उद्योग विभागका निर्देशक एवं प्रवक्ता बिनोदकुमार खड्का बताउँछन् । बाहिरबाट आयात भएका र बजारमा कम्तिमा एक सय रुपैयाँ पर्ने रुमाल यस्ता केन्द्रमा २५ रुपैयाँमै पाउन सकिने खड्काले बताए ।

सरकारको जेल सुधार योजनाअनुसार केन्द्रीय कारागार काठमाडौं, झापा, कास्की र पाल्पामा कारागार तालिम केन्द्र सञ्चालनमा छन् । विभिन्न अभियोगमा लामो समय जेल जीवन बिताउनुपर्ने बन्दीलाई जेल भित्र बसेको समय सदुपयोग गरी जेल जीवनपछि स्वावलम्बी बनाउन यस्ता कारखाना सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०६१ सालदेखि हालसम्म २ हजार ८७१ जना बन्दीले यस्तो तालिम लिइसकेका छन् । उनीहरुले अहिलेसम्म ४५ हजार मिटर कपडा उत्पादन गरिसकेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा कपडा बिक्रीबाट ६५ लाख आम्दानी गर्ने लक्ष्य लिएको कारागार कारखानाले १० लाख बढी ७५ लाख रुपैयाँ बराबरको ब्यापार गरेको उद्योग विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment