Comments Add Comment

कविता  : भानु रंग

रामको गाथा सगरमाथा भानुले पुर्‍याए

नेपालभरि नेपाली भाषा फिलिली कुदाए

कविले रोपे कविता फूल नेपाली माटोमा

भ्रातृत्व फुल्यो आदर्श झुल्यो हिमाली देशमा ।।

 

घाँसीको कुवा दिल भो रुवा मन भो भरंग

झस्किए भानु पस्किए ज्ञान छोडे लौ तरंग

एकताभित्र नेपाल उने भाषाले सजाई

रामको कथा रावण व्यथा संसार फिँजाई ।।

 

प्रथम कवि उपाधि मिल्यो भानुका नाममा

भानुको देन अतुलनीय चमक काममा

नेपाली काव्य कला र भाव यी दुवै पक्षमा

निखार ल्याई कवितालाई देखाए दक्षता ।।

 

कृतिमा ध्यान नेपाली पन भएर छहरा

सलल बग्ने छाँगा हुन् भानु काव्यका पहरा

प्रश्नोत्तरभित्र जीवन चित्र छ रामायणमा

नेपाली जिब्रो स्वादले फड्क्यो छन्दका लयमा

 

विवाह पर्व मेला र जात्रा बढाइँ खुशीमा

गाइन्छन् भानु संसारभरि नेपाली दिलमा

रसिला रस साहित्याकाश जुनेली रातका

खँदिला कृति छोडेर गए नेपाली हातमा ।।

 

भाषामा धावा जजसले बोले कलमको तीरले

नेपाल नाम भानुले राखे जस्तो कि वीरले

कलम बोकी असत्यमाथि जीतको सवारी

भानु नै त्यस्ता सर्जक बने भाषाका रख्वारी ।।

 

उमंग खिची चलाऔं रंग इन्द्रेणी पारामा

मनाऔं भानु जयन्ती खुब उज्यालो तारामा

टारेर झारा नखरा सारा सीमित नारामा

आषाढ माझ भानुको स्वर उरालौं सारामा।।

– लेटाङ, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment