Comments Add Comment

६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक तोक्न कांग्रेसको माग

२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।

आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखिन् ।

उनले भौगोलिक कारणले पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गरिन् । सांसद भुसालले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि असन्तुष्टि जनाउँदै ज्येष्ठ नागरिकको बर्गीकरण गर्न नहुने बताइन् ।

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने बताइन् ।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ । त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment