Comments Add Comment

एक वर्षअघि धनुषामा भएको डकैतीमा संलग्न ३ जना पक्राउ

३१ असार, जनकपुरधाम । एक वर्ष अगाडि धनुषामा भएको डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा हातहतियारसहित डकैती गर्नेमध्ये एक जना पछिल्लो पटक धनुषाकै मिथिला नगरपालिका ६ ढल्केबरबाट पक्राउ परेका छन् । अन्य दुई जना यसअघि नै पक्राउ परिसकेका थिए ।

पछिल्लो पटक पक्राउ पर्नेमा सर्लाहीको साविक नोकैलवा गाविस ६ बस्ने ४९ वर्षीय गनेरु माझी रहेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

माझीसहितका व्यक्तिहरुले २०७५ साल साउन २५ गते मिथिला नगरपालिका ८ का पुष्पलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, नवराज श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठको घरमा लाखौं धनमाल डकैती गरेका थिए । उनीहरुले एकै परिवारका चार जना श्रेष्ठ दाजुभाइको घरबाट नगद २ लाख ५० हजार, साढे ६ तोला सुनका गहना, ५६ तोला चाँदीका गहना, ६ थान मोबाइल, जग्गा जमिनको लालपूर्जा, नागरिकता, सवारी साधनको ब्लू बुकसहितका कागजात समेत लुटेका थिए ।

पेस्तोल, खुकुरी र लाठीसहित लुट्न आएकाहरुलाई समात्न खोज्दा उनीहरुले चलाएको गोली लागेर पुष्पलाल श्रेष्ठ घाइते भएका थिए ।

उक्त डकैतीमा संलग्न सर्लाहीकै चन्द्रनगर गाउँपालिका ६ का ३६ वर्षीय देवलाल कापडलाई यसअघि नै पक्राउ गरिसकिएको र उनलाई इलाका प्रहरी कार्यालय वर्दिवासको नियन्त्रणमा राखी अनुसन्धान भइरहको डिएसपी कार्कीले बताए ।

डकैतीमा संलग्न अर्काे व्यक्ति मनोज कुमार कुसवाहालाई धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर खोलाबाट बालुवा, गिट्टी उत्खनन् गर्न आउँदा स्वचालित पेस्तोलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।

श्रेष्ठमाथि प्रहार गरिएको गोलीको खोका केन्द्रीय प्रहरी विधी विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा कुशवाहाकै पेस्तोलबाट फायर भएको देखिएको प्रहरीको भनाइ छ ।

कुशवाहा हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् । उक्त डकैतीमा संलग्न भएका अन्यहरुको पहिचान भइसकेको र खोजतलास भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment