Comments Add Comment

असारे विकासले बैंकिङ प्रणालीमा तरलता बढायो

बैंकर्स संघका अध्यक्ष भन्छन्- दिनमै १५/२० अर्ब आइरहेको छ

३१ असार, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ सकिन केही दिनमात्रै बाँकी रहँदा सरकारले असारे विकासमा जोड गरेको छ । बजेट सक्नकै लागि असारको अन्तिममा आएर विकास निर्माणका कामहरु गर्ने पुरानो परिपाटीलाई यस वर्ष पनि निरन्तरता दिएको देखिन्छ ।

असारको २९ दिनमा मात्रै सरकारले करिब ५८ अर्ब रुपैयाँ खर्चेको छ । आइतबार (२९ असार)सम्म सरकारले ५७ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत बजेट छुट्याएको थियो । छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्म सरकारले मात्र ४८.२३ प्रतिशत अर्थात १ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ मात्र खर्च गरेको थियो ।

बजेट खर्च असार २९ गतेसम्म आइपुग्दा हृवात्तै बढेर ६४ प्रतिशत पुगेको छ । जस अनुसार असार २९ गतेसम्ममा ६४ प्रतिशत अर्थात २ खर्ब ९ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । ११ महिनामा जम्मा १ खर्ब रुपैयाँ गरेको सरकारले असार महिनामा आएर २९ दिनमै यति ठूलो परिमाणमा खर्च गरेको हो ।

असारे विकासले तरलता बढायो 

बजेट सक्नकै लागि यतिबेला धमाधम विकास निर्माण भइरहेको छ । भएका कामको भुक्तानी समेत सरकारले असारमै दिएको छ । बजेट सक्ने परम्परालाई निरन्तरा दिदै यस वर्ष पनि असारे विकास भए पछि बैंकिङ क्षेत्रमा भने यसको सकारात्मक प्रभाव परेको छ ।

ठेकेदारहरुले धमाधम भुक्तानी पाउन थालेपछि बैंकिङ क्षेत्रमा तरलता बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार बैंकिङ क्षेत्रमा यतिबेला करिब ७० अर्ब रुपैयाँ तरलता पुगेको छ ।

नेपाल बैंकर एशोसिएसनले पनि असारको अन्तिम साता राम्रै तरलता भएको बताएको छ । एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले असारको शुरुवातदेखि शुरु भएको तरलता बढ्ने क्रम अन्तिम सातासम्म आइपुग्दा ठूलो मात्रामा बढेको जानकारी दिए ।

‘असारमा तरलता आउने विषय अब त पुरानो भइसक्यो’ एशोसिएसनका अध्यक्ष ढुंगानाले भने, ‘सरकारी खर्चहरु बढेका तरलता बढिरहेको छ, अहिले दिनमै १५ देखि २० अर्ब रुपैयाँसम्म बैंकमा पैसा आउन थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment