Comments Add Comment

भरत ढुंगाना : अदुवाबारीमा फुल्न नपाएको फूल

Photo Credit : भरत ढुंगाना /अनलाइनखबर फाइल ।

वीरता र बलिदानको गाथा खोज्ने अभियान लिएर म लामो समयपछि गत वर्ष असारमा पुगेको थिएँ नुवाकोटको अदुवाबारी ढुंगानागाउँ । सहिद भरत ढुंगानाकी जीवनसंगीनी विन्दा ढुंगाना र दाजु रामचन्द्र, बुबा, रेशमप्रसाद काकासँग भलाकुसारीसहित दिन बिताएर बिदा भएको थिएँ । त्यो अदुवाबारीको कुनामा फुलेका फूल थिए भरत ढुंगाना ।

सुनसान थियो अदुवारी गाउँ । अलपत्र थिए जनमनका चाहनाहरू । शालिक काकाको चियापसल राजनीतिको तीतो पोख्ने र भविष्यवाणी गर्ने चियागफको एक थलो थियो । काकीको व्यस्तता र हैरानी बदलिएको थिएन । पशुपति सरको ओठमा मन्द मुस्कान हो कि कान्तिक्षय, अनुमान लगाउनै मुस्किल थियो ।

सहिद राजेश ढुंगानाका आमाका पनि उस्तै थिए दैनिकी, वस्तुभाउ चुलोचौको । राजनीतिक यात्राभित्रको उकाली ओरालीमा चिप्लिएको रहेछ मेरो बालसखा जनक ढुंगाना कालु त्यो राजनीतिको पहरोमा । रुखतिर अल्झिएर बाँचेपछि गाउँ बिरानो भएछ आजकल उसलाई ।

जनयुद्ध र १९ दिने जनआन्दोलनतिर माओवादीको केन्द्र बनेको यो अदुवाबारी लप्सेको पाखा गाउँमा अहिले कमरेडहरूको छापामारले पाइलो टेक्दैन । तर, छापामार सपनाहरू ज्युँदै थियो । विदुर सहरको झलिीमिली हेरेर दंग थियो यो गाउँ । अदुवाबारी उस्तै रहेछ । फेरिएछन् त आउने जाने यात्रीहरू । र, मोटरबाटोले दुईचार हातको रछ्यान मासेर विकासको रवाफ दिएको थियो ।

हाम्रो पि्रयजनहरूको रगतको भेलमा उर्लेको यो गणतन्त्र नेपालको यात्रामा आज देशले गुमाएको सपुतहरूबारे पाइला पाइलामा सम्झन जरुरी छ । कुनै पनि मान्छेको भौतिक अस्तित्व मेटिए पनि उसको गुन समाजले सम्झेर साँचेको हुन्छ । त्यही गुनले मान्छे युग युगसम्म पनि मरेर बाँचेको हुन्छ । त्यस्तै गुन समाजमा दिएर जाने अमर योद्धाको नाम हो भरतप्रसाद ढुङ्गाना ‘कमरेड जंगवीर’ ।

उहाँकी श्रीमती विन्दा ढुंगानाको लामो अनुभूतिको पोको मोवाइलमा कैद गर्दै थिएँ म । एक घन्टा लामो भलाकुसारीमा उहाँले भन्नुभएको सबैभन्दा मार्मिक कुराचाहिँ के थियो भने चाहे माले राजनीतिदेखि जिविस सभापति हुँदासम्म होस् कि माओवादी विद्रोहमा लाग्दा, उनी सदा परिवारका लागि भने मायामोह नभएको पाहुनाजस्तै थिए ।

बालबच्चा हुर्काउनु र पढाउनु वस्तुभाउ र खेतीपाती र दुःखका पहाडले थिचेको थियो विन्दाको जीवनकहानी । यस्तै लामो कथाव्यथाको पोको खोलेर सुनाउनुभयो उहाँले ।

आज विरक्तिएको माओवादी आन्दोलनप्रति सन्तुष्टि थिएन । तर, राजनीति यात्रा नछोड, त्यही सुझाव थियो । सायद हरेक सामाजिक र राजनीतिक अभियान-यात्रीको परिवार यस्तै कथाबाट हुर्केका हुन्छन् । तर, मान्छेको भौतिक शरीर सकिएपछि त्यो गुन समाजले के कति कसरी सम्झना गर्ला कि छोराछोरीले मात्रै बाउआमाको नामको प्रतिष्ठानको झोला बोकेर समाजमा सहानुभूति बटुल्नुपर्ला भन्ने नै आजको मुख्य विषय हो ।

भरत ढुंगांना नुवाकोट जिल्लाको जिलिङ्गको यही अदुवाबारी गाउँमा एक सामान्य किसान परिवारमा ०२२ माघ १९ गते आमा तारादेवीको कोखबाट जन्मनुभएको थियो । ढुङ्गानाका पिता मोतीराम गाउँका अगुवा किसान हुनुहुन्थ्यो । भरतको वैवाहिक सम्बन्ध ०४१ सालमा विन्दा आचार्यसँग भएको थियो । उहाँका २ छोरा, २ छोरी छन् ।

उहाँको परिवार पञ्चायतकालमै राजनीतिको केन्द्रमा थियो । त्यो बेला गणेश पण्डित र जितसिंह खड्कालाई एक-एक भोट बाँडेर हालेपछि यता कम्युनिस्टको प्रभाव परेको सम्झना ताजै छ रामचन्द्र ढुंगानासामु । राजनीतिमा प्रवेश गरेलगत्तै भरतले ०३६ सालमा अनेरास्ववियू नुवाकोटको सचिव भएर तत्कालीन वाम विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

०४२ देखि कम्युनिस्ट संगठनमा आबद्ध उहाँले स्कुले जीवनको समापनसँगै शिक्षक भएर समेत काम गरेका थिए । तत्कालीन नेकपा -माले) का तर्फबाट ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी उहाँ जनआन्दोलनमा जेल पर्नुभएको थियो । ०४८ सालमा गाउँ विकास समितिको उपाध्यक्ष भएको उहाँ जिल्ला विकास सदस्य पनि हुनुभएको थियो ।

दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीले भरतलाई सम्झँदै लेखेका थिए- ०४८ को चुनावमा तालमेल गर्ने हाम्रो प्रयासमा एमालेका महेन्द्र पाण्डेलाई तुप्चेबाट र जनमोर्चाको तोयनाथ थपलियालाई भरतको गाउँ जिलिङबाट अधिक मत खसेको थियो ।

बोगटीको आशय एमाले जनमोर्चा तलमेलमा राम्रो भूमिका थियो उनको भन्ने हो । यसैगरी ०५४ सालको स्थानीय निर्वाचनमा पुनः उपाध्यक्षमा निर्वाचित उहाँ नुवाकोट जिल्ला विकास समितिको सभापति पदमा भारी मतान्तरले विजयी हुनुभएको थियो । त्यतिबेला एमाले नुवाकोट जिल्ला सचिव र जिल्ला विकास समितिको सभापतिसमेत हुनुहुन्थ्यो ।

एमाले नेतृत्वले नारायण खतिवडालाई सभापतिको टिकट दिने निर्णय गरेपछि यसलाई कार्यकर्ताको दबाबले पार्टी नेतृत्वको विरोध मात्र होइन, उम्मेद्वारी मनोनयनपत्रसमेत दर्ता गर्न नदिएपछि बाध्य भएर उहाँलाई सभापतिको टिकट दिइएको थियो । त्यो बेला प्रदिप नेपाल र राजेन्द्र पाण्डे उहाँका निकट थिए । त्यही हुलदंगाका बेला भरत ढुंगानासमर्थित कार्यकर्ताले हानेको जुत्ताको डोब पिठ्युँमा बोकेर चुनावभरि नारायणसमर्थित कार्यकता रामहरि न्यौपाने हिँडेको सम्झना नुवाकोट एमालेहरूमा ताजै छ ।

तत्कालीन एमाले पार्टी र सत्ताको नेतृत्व दुवै उनैले सम्हालेका थिए । त्यतिबेला नेपालमा माओवादी जनयुद्ध तीब्र गतिमा विस्तार भइरहेको थियो । मालेका नेता, कार्यकर्ता र नेताहरूसमेत माओवादी जनयुद्धतिर आकषिर्त भइरहेका थिए । त्यो बेला तत्कालीन मालेको एउटा हिस्सा प्रतिगामी दिशातिर गइरहेकोले उनीहरू माओवादीभन्दा एमालेतिरै मिल्ने कुरा गरिरहेका थिए । पुनः एमालेमा र्फकनु क्रान्तिकारी नैतिकता विपरीत हुन्छ भन्ने भरतको विचार थियो । एमालेको ‘राष्ट्रघात’ विरुद्ध सडकमा माले ओर्लिएको थियो ।

भरत ढुंगानालाई सम्झँदै गर्दा धादिङका पूर्वजिविस उपसभापतिसमेत भएका नेता उत्तम कँडेल लेख्नुहुन्छ- एकदिन क. ढुङ्गानाले टेलिफोनमा वामदेवले पनि क्रान्ति गरी खालान् जस्तो छैन कमरेड, हामीले विस्तारै विकल्प खोज्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो ।

भरतको एमालेप्रतिको मोहभंग र माओवादी युद्धप्रतिको आशाको अभिव्यक्तिको रूपमा यसलाई लिन सकिन्छ । त्यो त्यहीबेला थियो, जतिबेला राज्यले दिनहुँ माओवादी भएको आरोपमा जनतालाई हिंसा, हत्या, यातना र बेपत्ता बनाउनेक्रम तीव्र रूपमा चलिरहेको थियो ।

यता जिल्ला सभापति भएका ढुंगानाको दैनिकी भने राज्यले माओवादीको आरोपमा गिरˆतार गरेर यातना दिएकाहरूलाई सभापतिको हैसियतले आफैँ जमानी बसेर बन्दीहरूलाई छुटाइदिने थियो । उहाँको निर्णयमा जिल्ला विकास समिति नुवाकोटको लगानीमा देउरालीको मानेमा जनयुद्धमा नुवाकोटका प्रथम सहिद गजेन्द्र बाइवा ‘प्रविण’ को स्मृतिमा सहिदगेटसमेत बनाउन सहयोग गरेका थिए ।

रेडक्रसका पूर्वसभापति रामप्रसाद जोशी सम्झन्छन्, जहिले पनि जिविसको पछाडिको रेडक्रस भवनमा त्रिशुलीका शुभलाल श्रेष्ठ आउने र उनी आएसँगै भरत ढुंगाना पनि आउँथे । धेरैपछि पो मैले पत्तो पाएँ, भरत ढुंगाना र माओवादीको सूत्रधार त शुभलाल पो रहेछन् ।

यसरी तत्कालीन माओवादी जिल्ला नेता जगतजंग ‘इन्द्र गौतम’ र भरत ढुंगानाको सम्पर्क सहजीकरण शुभलाल थिए । आज भरत र उनीजस्तै नेपाली सपुतहरूको विद्र्रोहको फेर समातेर उदाएको नयाँ एमालेरूपी दलाल पुँजीवादी कम्पनी र त्यसका नयाँ नाफाखोरहरू र उनका समर्थकहरूले आंशिक उपलब्धिहरू लिँदै बाँकी लक्ष्य प्राप्तिको लागि उदाउँदो विद्रोही आशाको मुनाहरूको कोपिला फुलाउन त्यस्तो चरित्र देखाउलान् त, जुन भरतले जिविस सभापति हुँदा देखाएका थिए ।

०५८ भदौ महिनामा नुवाकोटको चौघडामा भएको जनसरकार घोषणासभामार्फत उहाँले जिविस सभापतिबाट राजिनामा दिँदै जिल्ला विकास समिति विघटन भएको घोषणा गर्नुभयो । त्यस घटनाले नुवाकोट मात्र होइन, देशव्यापीरूपमा तहल्का मच्चियो । पुरानो सत्ताविरुद्ध नयाँ जनसत्ताको अभियान व्यापक रूपमा चल्यो । त्यतिबेला नेकपा मालेको क्रान्तिकारी पंक्तिभित्र बेग्लै उत्साह थपियो ।

त्यसबेला मालेका युवाहरूको नारा नै थियो, सपि्रए माले बिग्रे माओवादी । यसबाट नुवाकोटको राजनीतिमा ठूलो धक्का पैदा भयो । जिल्लामा बहालवाला जनप्रतिनिधिहरूको ठूलो पंक्तिलाई विद्रोह गरेर माओवादी जनाधारलाई थप मजबुत बनाउने काम उनको त्यो अभियानले गरेको थियो । उनको माओवादी यात्रामा संगठन शैली, जनशैली र कार्यकर्ता परिचालनको शैली फरक थियो । माओवादी कार्यकताहरू उनको इलाकातिरै निकै झुम्मिन्थे । उनको सहभागितासँगै उपत्यका र बाग्मती क्षेत्रमा माओवादीले आˆनो प्रभाव बढाउँदै लगेको थियो ।

अग्रगामी कम्युनिस्ट आन्दोलनमा अन्तरविरोधको पश्चगामी संकीर्ण चिन्तनले एमाले-माओवादीभित्र गाँजेको थियो । कतै त्यही अन्तरविरोधको कारक त बनेन उनको हत्या ? अनेकौँ आशंका उब्जिरहेका छन् आजपर्यन्त । जनयुद्धका माओवादी जनसरकारका नुवाकोट प्रमुख रजमान तामाङ सामाजिक सञ्जालमा लेख्दै ढुंगानासँग सञ्चारसेट नहुनु नै त्यो दुखद् घटनाको कारक थियो भन्ने तर्क गरेका छन् ।

भरत ढुंगानाको हत्यालगत्तै भारतीय सेनाका जनरल अशोक मेहताले भारतीय सेना जुन कुनै बेला नेपाल पस्न सक्ने भन्ने चेतावनीपूर्ण अन्तरवार्ता बीबीसीमा दिएका थिए । यता स्थानीय तहमा लोकप्रिय नेताको हत्या र छिमेकी देशका सेनाका अधिकारीको धमकीपूर्ण अन्तरवार्तालाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

निःशस्त्र अवस्थामा रहेका भरत ढुंगाना र बैकुण्ठ पोखरेल जो समातिएर जेल जाने सम्भावना थियो, उनीहरूलाई तत्कालीन शाहीसेनाले ०६१ असार ३१ गते धादिङको गुम्दीमा हत्या गरेको थियो ।

हुँदाखाँदाको जिविस सभापति पद थियो । शान, मान थियो । त्यो छाडेर किन लागे उनी विद्रोहमा ? त्यहीँ रहेको भए अहिले सांसद हुन्थे । एक थान मन्त्री पद हुुलहुज्जत गरेरै पनि लिन सक्थे । तर, त्यो संसदीय व्यवस्थाको विकल्पको खोजीमा उनी विद्रोहको जनयुद्धमा लागे ।

कतिपय मान्छेहरू तर्क गर्छन्, उनी आज बाँचेका भए बाबुरामतिर हुन्थे । त्यही समूहतिर निकटता थियो । विकासप्रेमी थिए भन्ने तर्कहरू गर्दछन् । तर, तथ्यहरूले भने त्यस्तो भन्दैन । उनी उनले एमालेले गरेको राष्ट्रघातविरुद्ध सडकमा ओर्लिएर आएपछि वामदेवको एमाले र्फकने निर्णयलाई नै शिरोपर गर्ने थिए । एक थान सांसद र मन्त्रीको आशमा मान्छेहरू विचार, व्यवहार र राजनीतिमा जित्न नसकेपछि व्यवहार र निकृष्ट टिप्पणी गरेर मज्जा लिने सामाजिक मनोदशाबाट अनुग्रहीत धेरै छन् । त्यस्ताहरूले भरतकाबारे धेरै नकारात्मकता फैलाउने गरेका छन् ।

मान्छे आफैँमा पूर्ण हुँदैन । कमजोरी रहन सक्छ । तर, समय योगदान, व्यवहार र विचारको योग गरेर हेर्दा जे श्रेष्ठ सावित हुन्छ, त्यही उसको प्रवृत्ति हो । तसर्थ, भरत ढुंगाना राजनीति आदर्श, त्याग वीरता र बलिदानको एक उदाहरण हुन्, जो सदा जनता र देशप्रति समर्पित थियो ।
आज समयले हाम्रो सामु गम्भीर प्रश्न खडा गरेको छ । हिजो एमाले छाडेर माओवादी विद्रोहमा लाग्ने भरतहरू ठीक हुन् कि आज माओवाद मेटेर एमाले हुन हाम्फाल्ने प्रचण्ड एन्ड कम्पनी ठीक ?

नुवाकोट हिजो सामन्तहरूको र आज दलाल पुँजपतिहरूको प्रभाव रहेको जिल्ला हो । यहाँको उत्पादन सम्बन्ध र आर्थिक-सामाजिक परिवेशले नेतृत्व निर्माणको ठूलो चुनौती खडा गरेको छ । अझ सर्वहारावर्गको लागि त ठूलो नेतृत्वमा उदाउनु अझै ठूलो चुनौती छ । तर, त्यो चुनौती पार गर्ने क्षमता थियो भरत ढुंगानामा । उनमा मध्यमवर्गमा प्रभाव थियो । उनी योजनामा मध्यमवर्ग परिचालन गर्ने क्षमता राख्दथे भने सर्वहारावर्गले समेत उनीबाट ठूलै भरोसा पाएको थियो ।

सरल जीवन-व्यवहारको नेताको लोकपि्रयताको आधार पनि त्यही थियो । जहाँ उनले विद्रोह गर्दा मध्यम वर्गसमेतले विद्रोही माओवादी पार्टीलाई मित्र शक्ति ठान्यो, जसले माओवादी प्रभावलाई व्यापक विस्तार गर्न सफल भयो ।

माओवादीको शान्तिपूर्ण राजनीति र संसदीय व्यवस्थाको वर्तमानको यो उराठलाग्दो चित्रको पूर्वानुमान गर्दै क्रान्तिकारी लेखक एवम् पत्रकार भगिरथ देवकोटाले आजभन्दा १० वर्षअघि भरतको सम्झनामा लेखेका थिए- हजारौँ भरत ढुंगानाहरूको रगतको खोलामा सौदाबाजी गर्ने शासकहरूले फेरि गणतन्त्रको नक्कली कात्रोले छोपेर छद्म भेषमा सत्ता आसीन छन् ।

साँच्चै यो नक्कली गणतन्त्रले सहिदको बलिदानको उपहास गरेको छ, घाइते योद्धाको उपेक्षा गरेको छ । महासमरको बलिबेदीमा ज्यान आहुति गर्न तयार योद्धाहरू खाडीमा पसिना बेच्न पुगेका छन् । कमान्डरहरू त्यही एक थान सत्ताको लागि जीवनको घिडघिडो लिएर बाँचेका छन् । राजनीतिमा नयाँ अभिजात वर्ग उदाएको छ । आज साँच्चै गर्विलो इतिहास र आजको यो उराठ वर्तमानमा उही संसदीय व्यवस्थाका नायकहरू परिवर्तनको मृगतृष्णा राख्नेहरूको रगत पिउन गाउँ पसेको छ ।

यस्तोबेला भरतका सच्चा अनुयायीहरूले सोच्न जरुरी छ । जनताको अवस्था परिवर्तन नहुने र व्यवस्थाले नेताहरूको मात्रै अवस्थामा सुधार ल्याउने व्यवस्थाको विकल्प खोज्न जरुरी छ । त्यही नै भरत ढुंगाना, बैकुण्ठ पोखरेललगायतका हजारौँ योद्धाहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

उहाँको स्मृति दिवसमा कवि भूपि शेरचन कविता सहिदहरूको सम्झनामा एक कवितांश जिउँदाहरूका लागि उपहार-

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेको सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोप्ला आकासले धिक्कार्ला…..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment