Comments Add Comment

डा. सञ्जय कार्की, जसले हवाई उद्धार सेवा सुरु गराए

३१ असार, काठमाडौं । न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटा जीवन मरणको दोसाधमा थिए । मृत्युसँग संघर्ष गरिरहेका उनलाई भेण्टिलेटरमा राखिएको थियो । पित्त थैलीको क्यान्सरसँग संघर्ष गरिरहेका देवकोटाको अन्तिम इच्छा थियो-गोरखास्थित आफ्नो घर जाने ।

कतिपयले गोरखा पुर्‍याउन जोखिमपूर्ण हुने तर्क गरिरहेका थिए, तर भेण्टिलेटरमा रहेका देवकोटालाई अकस्मात जन्मथलो पुर्‍याएर काठमाडौं ल्याइयो । त्यसको एकसातापछि देवकोटाले देह त्याग गरे ।

देवकोटालाई गोरखा पुर्‍याउन डा. सञ्जय कार्कीले सम्भव तुल्याएका थिए । कार्की तिनै हुन्, जसले सन् २०१३ मै नेपालमा पहिलोपटक हेलिकप्टरमा भेण्टिलेटरमा सेवा सुरु गरिसकेका थिए ।

नेपालमा ‘प्रि-हस्पिटल इमर्जेन्सी सर्भिस’ सुरुवात गर्ने श्रेय ग्राण्डी अस्पताललाई जान्छ । यसमा एम्बुलेन्सदेखि एयर एम्बुलेन्ससम्मका सेवा अटाउँछन् । जसले अति गम्भिर दुर्घटनामा परेका बिरामीको उद्दार गर्छ । ग्राण्डीबाट यो सेवा सुरु गरेका डा. कार्की अहिले मेडिसिटी अस्पतालमा कार्यरत छन् ।

नेपालमा एयर एम्बुलेन्स सेवा कसरी सुरु भयो त ? कथा सुरु हुन्छ स्पेनबाट ।

सन् २००८ मा डा. सञ्जय कार्की स्पेनको भाल्डी हाम्टोन हस्पिटलमा कार्यरत थिए । त्यहाँका केही डाक्टरहरुसँग बसिरहेको बेला अस्पतालमा आएर एउटा हेलिकप्टर बस्यो । लगत्तै डाक्टरको टोली त्यहाँ पुग्यो । त्यो टोलीका सदस्यले प्लेनबाट बिरामी ओरालेर अस्पतालमा लगे ।

त्यो सबै नियालिरहेका कार्कीले सोधे, ‘के हो यो ? यहाँ त यस्तो पनि हुनेरहेछ !’

सँगै रहेका डाक्टरले जवाफ दिए, ‘एयर मेडिकल सर्भिस हो । हेलिकप्टरमै भेण्टिलेटर सेवा दिएर बिरामी ओसार्न सकिन्छ ।’

कार्कीको मुखबाट अकस्मात फुत्कियो, ‘ओ हो कस्तो गज्जब ! हाम्रो देशमा पनि यस्तै भइदिए दुर्घटनामा परेका कति धेरै मानिसहरु बाँच्थे ।’

त्यो हेलिकप्टर सामान्य थिएन । त्यहाँ डाक्टर तथा नर्सको टोली उपलब्ध थियो । अस्पतालको आईसीयू बेडमा जत्तिकै उपकरणहरु थिए ।

डा. कार्कीको भने खुलदुली बढ्दै गयो ।

छेउमा रहेका साथीलाई सोधे, ‘यस्तो सेवा सञ्चालनको लागि केके गर्नुपर्छ ?’

जवाफ आयो, ‘क्रिटिकल केयर मेडिसिन पढ्नुपर्छ ।’

कार्कीले मनमनै प्रण गरे, ‘म एकदिन क्रिटिकल केयर मेडिसिन पढ्छु र नेपालमा यो सेवा विस्तार गर्छु ।’

उनले त्यो बेला मेडिसिन स्यान्स फोर्नटाइर्स -एमएसएफ-हल्याण्ड) भन्ने संस्थामा काम पाएका थिए । यो संस्थाले दंगा फैलिएको र विपत आइलागेको ठाउँमा काम गर्थ्यो । हल्याण्डमा तालिम लिएपछि उनी कामको सिलसिलामा बर्मा पुगे ।

बर्माको रखाइन राज्यमा पुगेका उनले त्यहाँ आपतकालीन तीव्र उद्धार गर्नुपर्थ्यो । ठाउँ दुर्गम थियो । दंगा भड्किएको क्षेत्रमा बसेर काम गर्नुपर्थ्यो । अत्यन्तै गम्भिर बिरामीलाई एम्बुलेन्स, प्लेनमा चढाएर अस्पतालसम्म पुर्‍याउनुपर्थ्यो । ‘डक्टर्स विथआउट बोर्डर’ नारा बोकेर उपचारमा खटिएका उनले बर्मामा धेरै कुरा सिके । विभिन्न देशका डाक्टरहरुसँग संगत गरे ।

उनीहरुको संगत गर्दै गर्दा थाहा लाग्यो- क्रिटिकल केयर मेडिसिन त नेपालजस्तो भौगोलिक अवस्था भएको देशमा नभइ नहुने रहेछ ।

तर नेपालमा त्यो सेवा सुरु भएकै थिएन । कार्कीलाई इमर्जेन्सी मेडिसिन पढ्ने हुटहुटी जाग्यो ।

यो सन् २०१० को घटना थियो।

त्यतिबेला नेपालमा क्रिटिकल केयरको कोर्ष पढाइ हुँदैनथ्यो । बर्मामा ९ महिना काम गरेपछि उनी इमर्जेन्सी मेडिसिन पढ्न नोर्दर मेथुन मेडिसिन कलेज अफ चाइना गए। त्यहाँ पढाइ सकाएर ‘एमएसएफ’ मै फर्किने योजना थियो, तर दशैंमा नेपाल आएको बेला ग्राण्डी इन्टरनेशनल अस्पतालले इमर्जेन्सी डिपार्टमेण्ट सम्हाल्ने प्रस्ताव राख्यो।

उनले ग्राण्डीको प्रस्तावलाई ‘नाई’ भनेनन्।

ग्राण्डीको प्रस्ताव स्वीकार गर्नुको एकमात्र कारण ‘हेलिप्याड’ थियो । अस्पताल भवनको छतमै हेलिप्याड भएकाले एयर एम्बुलेन्स सेवा नेपालमा सुरु गर्न सकिन्छ भन्ने उनलाई लागेको थियो ।

नभन्दै सन् २०१३ अक्टोबर २९ मा अस्पतालमा भेण्टिलेटर सर्भिसको ‘टेस्ट ल्याण्ड’ गरे । त्यो सफल भयो । त्यसपछि भेण्टिलेटरमा भएको बिरामी सार्न सकिन्छ भन्ने आत्मविश्वास आयो । त्यसको तयारीमा जुट्न थाले ।

त्यहीबेला ग्राण्डी अस्पतालमा बेलायतबाट फोन आयो, ‘हामी काठमाडौं ल्याण्ड गर्दैछौं, तपाईंहरु भैरहवामा भएका हाम्रो बुवालाई काठमाडौं ल्याउन सक्नुहुन्छ ?’

फोन गर्ने व्यक्ति बिटि्रस आर्मीमा कार्यरत थिए र उनका बुवा भैरहवा मेडिकल कलेजको भेण्टिलेटरमा थिए । उनी ‘स्ट्रोक’ भएर अस्पताल भर्ना भएका बुवालाई काठमाडौं ल्याउन चाहन्थे ।

पहिलोपटक आएको अप्रत्यासित प्रस्ताव डा. कार्कीको टोलीले खेर फाल्न चाहेन । यद्यपि चुनौती थियो । उनी तयार भए । हेलिकप्टरकै भेण्टिलेटरमा हालेर बिरामीलाई काठमाडौं ल्याइयो । पहिलो प्रयासमै सफलता हात लाग्यो । स्पेनको अस्पतालमा बसेर देखेको सपना पाँच वर्षमै पूरा भयो ।

डा. कार्कीको टोलीले हेलिकप्टरमै भेण्टिलेटर सेवा दिएर बिरामीलाई काठमाडौं ल्याएको दोस्रो केस सवारी दुर्घटनाको थियो। ग्राण्डीमै काम गर्ने सेक्युरिटी इन्चार्जको छोरा दामनमा दुर्घटनामा परेका थिए । ९ महिनाको उपचारपछि उनी ठीक भए । उनी अहिले पनि डा. कार्कीलाई भेट्न आउँछन्।

ती दिन सम्झिँदै कार्की भन्छन्, ‘अस्पतालमा एयर एम्बुलेन्स सेवा सुरु नगरेको भए उनी बाँच्ने सम्भावना कम थियो ।’

उनले अहिलेसम्म बिर्सन नसकेको उद्धार भने तेस्रो हो ।

उनी अस्पतालमै थिए । फ्रान्सका पर्यटक बोरुन्चे हिमालमा फसेको खबर आयो । काठमाडौंस्थित फ्रान्सेली दूतावासका अधिकारीहरु आफ्ना नागरिकलाई उद्धार गरिदिनुस् भन्दै ग्राण्डी पुगेका थिए । १९ हजार फिटको उचाइमा हेलिकप्टर लिएर जान जोखिम त थियो, तर पर्यटकलाई मेडिकल रेस्क्यू पनि उत्तिकै जरुरत । जोखिम मोलेरै भए पनि शेर्पासहित २ वटा हेलिकप्टर लिएर डा. कार्की गए ।

जब उनी पर्यटक फसेको ठाउँमा पुगे । उनी मृत्युसँग संघर्ष गरिरहेका रहेछन् । हिउँको खोँचमा परेका उनी चिसोले कठ्यांग्रिएका थिए । सास फेर्न गाह्रो भइरहेको थियो। ‘हाइपोथेर्मिया’ -चिसोले हुने बिरामी) भएको थियो । डा. कार्कीले त्यहीँ तत्काल अक्सिजन दिए ।

हेलिकप्टर उड्नै लाग्दा फेरि अर्को आपत आइलाग्यो । पर्यटकले खोँचमा अर्को व्यक्ति पनि भएको संकेत गरे । तलतिर उनकी प्रेमिका पनि रहिछन् । एक जनालाई लिन गएको टोलीले दुवैको उद्धार गर्नुपर्ने भयो । कार्कीले एउटा ‘सिलिण्डरको मास्क’ तीनजनालाई आलो पालो लगाउँदै उद्धार गरे ।

‘जीवनको अत्यन्तै अविष्मरणीय र डरलाग्दो रेस्क्यु थियो त्यो,’ कार्की सम्झन्छन्, ‘तर हामीले त्यो रेस्क्यू सफल गराएरै छाड्यौं । हाम्रो लागि यो एउटा ब्रेक-थ्रू थियो ।’

त्यसपछि यस्ता ‘रेस्क्यु’हरु धेरै भए, जसलाई सम्झँदा कार्कीको मुहारमा मुस्कान छाउँछ । मृत्युको मुखबाट जोगाएको बिरामीले दिने प्रतिक्रिया सम्झेरै सन्तुष्ट हुन्छन् ।

अनि अफ्ठ्यारामा परेका मानिसहरुलाई मृत्युको मुखबाट जोगाउने प्रण गर्छन् ।

****

एयर एम्बुलेन्स सर्भिस नेपालमा सुरु गर्नुअघि नेपाली सेनाको हेलिकप्टरमा बिरामी ओसार्ने चलन थियो । हेलिकप्टरमा मेडिकल सर्भिस नभएका कारण ल्याउँदा ल्याउँदै बाटोमै बिरामीले ज्यान गुमाउँथे । वयोधा अस्पतालमा ‘हेलिप्याड’ भएपनि हेलिकप्टर भेण्टिलेटर सेवा थिएन ।

अहिले हृयाम्स लगायतका अस्पतालले पनि इमर्जेन्सी मेडिसिन सेवा विस्तार गर्दैछन् । उपत्यका बाहिर बी एण्ड सी मेडिकल कलेज झापाले पनि यो सेवा सुरु गरेको छ । आफूले सुरुवात गरेको कामको विस्तार भइरहेको देख्दा उनी खुसी छन् ।

धेरै बिरामीको ज्यान बचाइरहेको भए पनि एयर एम्बुलेन्स सर्भिस महंगो भएको डा. कार्कीलाई थाहा थियो । आर्थिक अवस्था कमजोर भएकाहरुलाई सेवा दिन नसक्दा खिन्न हुन्थे । सबैको पहुँचमा पुग्ने सेवा कसरी दिन सकिन्छ भनेर सोचिरहन्थे ।

आफैंलाई सोधे, ‘कसरी सस्तो बनाउन सकिएला ?

मनबाट फ्याट्ट जवाफ आयो – ‘नपढी नबुझी हुन्नँ । थप अध्ययन जरुरी छ ।’

त्यसपछि उनी जर्मनी गए । जर्मनमा पढेपछि नेपाल बस्दाको जिज्ञासा मेटियो।

त्यहाँ ‘आइडिया’ फुर्‍यो, प्रि-हस्पिटल केयर सर्भिस सेवा सुरु गर्ने ।

जर्मनबाट नेपाल आउनासाथ ‘एडभान्स ग्राउण्ड इमर्जेन्सी मेडिकल एम्बुलेन्स’ सर्भिस सुरु गरे । यस्तो सेवा दिन एम्बुलेन्समा भेन्टिलेटर मेशिन लगायत अन्य आवश्यक उपकरण जडान गरिएको हुन्छ । त्यसले दुई सय किलोमिटर टाढाबाट भेण्टिलेटरमा राखिएको बिरामी ओसार्न सक्छ । यो सेवा सुरु भएपछि हेलिकप्टरमा बिरामी ओसार्न नसक्ने बिरामीहरु लाभान्वित भए ।

****

एभियसन मेडिसिनमा डिप्लोमा गरेका डा. कार्कीसँग विभिन्न देशमा काम गरेको अनुभव छ । ‘डेभिड वेल एक्सट्रिम मेडिसिन अवार्ड’बाट सम्मानित भइसकेका छन्।

सन् २०१४ मा अमेरिकी चिकित्सक टेरेसा हृवाइटसँगै उनले यो अवार्ड पाएका थिए । यो पुरस्कार आफ्नो देशमा मेडिकल क्षेत्रमा नयाँ काम सुरुवात गर्नेहरुलाई दिइन्छ ।

त्यस्तै सन् २०१६ को ‘ईमएस १० इनोभेटर एयर’ अवार्ड उनको पोल्टामा पर्‍यो । कार्की यो पुरस्कार पाउने एसियाकै पहिलो डाक्टर हुन् ।

डा. कार्कीको सफलताको ग्राफ बढ्दो छ, नयाँ काम गर्न अनुसन्धान गरिरहेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका बिरामीलाई लक्षित गरी राज्यसँग समन्वय गरेर इमर्जेन्सी मेडिसिनको नीति बनाउन चाहन्छन् ।

हालै मात्र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य नीति २०७६ मा एयर एम्बुलेन्स पनि प्राथमिकतामा परेको छ ।

‘भौगोलिक अवस्था विकट छ, ट्राफिक जाम उस्तै। सबैले हेलिकप्टरमा बिरामी पठाउन सक्दैनन्’, डा. कार्की भन्छन्, ‘मृत्यु रोक्न र जीवन बचाउन अब राज्यले नै नीति बनाएर एयर एम्बुलेन्स सर्भिस सुरु गर्नुपर्छ ।’

कार्कीको ‘ड्रि प्रोजेक्ट’ एयर एम्बुलेन्स सेवा विस्तार गर्नु हो । त्यसैले अस्पतालहरुले ग्राउण्डमा भएपनि हेलिप्याड बनाउनुपर्छ भन्ने वकालत गरिरहेका छन् ।

अस्पतालमा हेलिप्याड बनाएका कारण वर्षमा एकजनाको मात्र ज्यान बचाउन सकियो भने पनि ठूलो उपलब्धी हुने सुनाउँछन्।

अहिले भेण्टिलेटर सेवासहित बिरामी आसार्ने सामान्य हेलिकप्टरहरु नै हुन् । सिटमा भेण्टिलेटर जडान गरेर काम चलाइएको छ । अबका दिनमा एयर एम्बुलेन्समै सेवा दिने उनको लक्ष्य छ । सबै एम्बुलेन्समा भेण्टिलेटर होस् भन्ने चाहन्छन् उनी ।

उनले एम्बुलेन्स र एयर एम्बुलेन्समा दुवैमा भेण्टिलेटर सर्भिस ल्याउन वकालत गर्नुको कारण मानिसको आर्थिक र भौगोलिक अवस्थासँग जोडिएको छ । कतिपय बिरामी हेलिकप्टरमा उद्धार गर्दा बचाउन सकिने हुन्छ, तर परिवारको आर्थिक अवस्था त्यो खर्च व्यहोर्न सक्ने हुँदैन ।

त्यस्तो बेला भेण्टिलेटर भएको एम्बुलेन्स भए बिरामी बचाउन सकिन्छ । कहिलेकाहीँ टाढाको बिरामीलाई उद्धार गर्न एम्बुलेन्समा भौगोलिक विकटताको कारणले असम्भव हुन्छ, त्यस्तो बेला एयर एम्बुलेन्स निर्विकल्प हुन्छ ।

त्यसैले डा. कार्की प्रि- हस्पिटल केयर सेवा विस्तारमा लागेका छन् । प्रि-हस्पिटल केयरबाट आकाश र सडक दुवैमा बिरामीले अस्पतालको आईसीयू सेवा पाउँछन् ।

****

हेलिकप्टरबाट विरामीलाई अस्पतालसम्म ल्याउने सेवा सुरु गर्दा डा. कार्कीको उद्देश्य भनेको मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिने थियो । तर पछिल्लो समय हेलिकप्टरमार्फत गरिने ‘रेस्क्यु’ विवादित बन्यो । खासगरी पदयात्रा तथा आरोहणमा गएका पर्यटकहरुको ‘फेक रेस्क्यू’ गरिएको आरोप लाग्यो । ठूला अस्पतालहरु यो आरोपबाट मुक्त छैनन् ।

तर आफूले विदेशी पर्यटकको हकमा सम्बन्धित देशको दूतावासले पत्र नपठाएसम्म उद्धार नगर्ने उनको दाबी छ । अरुको हकमा बिरामीका आफन्त र हेलिकप्टर सञ्चालक कम्पनीबीच सहमति भएर मात्र विरामीलाई ल्याइने गरेको कार्की बताउँछन्।

‘हामीले अस्पतालमा ल्याएर भर्ना गरेपछि मात्रै काम सुरु गर्ने हो । त्यसअघिको सबै डिल बिरामी र हेलिकप्टर उपलब्ध गराउने कम्पनीबीच नै हुन्छ । हामी त्यसमा संलग्न हुन्नौं,’ कार्की भन्छन्, ‘फेक रेस्क्यु हुँदै नभएको होइन, तर सबैलाई एउटै घानमा हाल्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment