Comments Add Comment

वामदेव गौतमलाई फकाउँदै ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही समययता आफूसँग असन्तुष्ट बनेका नेता बामदेव गौतमलाई फकाउने प्रयास थालेका छन् ।

पछिल्लो केही समयको अन्तरमा ओलीले गौतमसँग दुईतीन पटक छलफल गरेर आफूलाई साथ दिन आग्रह गरेको गौतम निकट स्रोतले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन तथा विभागहरुको बाँडफाँटका सन्दर्भमा पनि ओलीले गौतमसँग छलफल गरेका छन् । गत शनिबार बामदेवलाई ओलीले बालुवाटारस्थित निवासमै बोलाएर जन्मदिनको शुभकामना दिनुको साथै केक काटेको स्रोतले जनाएको छ ।

५ वर्षअघि ओली तत्कालिन एमालेको अध्यक्ष बन्नका लागि बामदेव गौतमको निणर्ायक सहयोग थियो । त्यसअघि एमाले संसदीय दलको नेता बनाउन पनि गौतमले ओलीलाई सहयोग गरेका थिए । ओलीले गौतमको सहयोगमा पार्टी अध्यक्षमा माधव नेपाल र दलको नेतामा झलनाथ खनाललाई पराजित गरेका गरेका थिए ।

ओली अध्यक्ष निर्वाचित भएपछि गौतमलाई संसदीय दलको नेता बनाउने समझदारी भएको थियो । तर ओलीले सहमति पालना नगरेको भन्दै गौतम असन्तुष्ट बनेका थिए । यद्यपि उनले ओलीको साथ भने छाडेनन् । ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको टिकट बाँड्ने बैठक नै बामदेव निवासमा गरेका थिए ।

तर गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतम र ओलीको दूरी बढेको थियो । गौतमले रामवीर मानन्धरलाई राजिनामा गराएर काठमाडौं-७ मा उपचुनाव लड्ने प्रयासमा ओलीले असहयोग गरेको बुझेपछि उनी प्रचण्ड र माधव नेपालसँग नजिक भएका थिए ।

गौतमले पछिल्लो स्थायी कमिटी बैठकमा फरक मत प्रस्तुत मात्र गरेनन्, ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने समेत बताए । गौतम टाढिँदा केन्द्रीय सचिवालयमै संख्यात्मक हिसाबले अल्पमतमा पर्ने अवस्था आएपछि ओली फकाउन खोजिएको नेताहरुको अनुमान छ ।

स्रोतका अनुसार ओली बामदेवलाई संगठन विभागको प्रमुख बनाएर उनको साथ खोज्दैछन् । यसअघि प्रचण्डले बामदेवलाई संगठन विभाग प्रमुख बनाउन खोज्दा ओलीले रामवहादुर थापा बादल अघि सारेका थिए ।

तर पछिल्लो समय ओली गौतमलाई संगठन विभाग दिन तयार भएको बताइएको छ । प्रचण्डसँगको पछिल्लो सहमतिअनुसार संगठन विभाग पूर्व एमालेको भागमा परेको छ । तत्कालीन एमालेमा वरिष्ठ उपाध्यक्ष रहेका गौतम संसदीय भूमिकामा पनि नरहेका कारण उनलाई संगठनको जिम्मा दिन ओली सकारात्मक रहेको ओली निकट एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment