Comments Add Comment

बाजुरा जीप दुर्घटनाका १२ घाइतेको हेलिकप्टरबाट उद्धार

३ साउन, मार्तडी(बाजुरा) । बाजुराबाट कालीकोट जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका-६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

यसैगरी बाजुराको हिमाली गाउँपालिका-४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका-४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका-६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment