Comments Add Comment

एक सातापछि खुल्यो खुर्कोट–घुर्मी सडक

सिद्धिचरण लोकमार्ग भने अझै अबरुद्ध

Photo Credit : फाइल तस्वीर

४ साउन, सोलुखुम्बु । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका इन्द्र कटेलले जानकारी दिए ।
‘सडक अझै पनि जोखिमयुक्त छ,’ उनले भने, ‘सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।’

हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताए ।

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताए ।

यता, सिद्धिचरण लोकमार्ग सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ । सडकखण्डको ठाँटीलगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment