Comments Add Comment

मनकारी वडाध्यक्ष, जसले आफ्नो तलब जेष्ठ नागरिकलाई बाँडे

५ साउन, कञ्चनपुर । स्थानीय तहमा अनियमितता र भ्रष्टाचार बढिरहेको खबर आइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले आफूले पाउने मासिक तलब जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई बाँडेर आशिर्वाद थापिरहेका छन् ।

वडा नम्बर– १ का अध्यक्ष आसेफ कुवँर (भुन्टू) ले आइतबार गत एकवर्षको तलब वडाका १४७ जनालाई जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई बाँडे । ‘निर्वाचनमा मत माग्दा पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ’, उनले भने, ‘जनताको करबाट आउने तलब जनतालाई नै फर्काएको हुँ ।’

वडा अध्यक्ष कुँवरले आफ्नो बैंक खातामा जम्मा भएको एक वर्षको तलब दुईलाख ६३ हजार रुपैयाँ जेष्ठ नागरिकलाई प्रतिव्यक्ति १५ सय र अपाङ्गता भएकालाई प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले १४७ जनालाई वितरण गरका हुन् । वडा कार्यालय आउन नसक्ने वृद्धवद्धा र अपांगहरुलाई घरमै गएर रकम दिएको उनले बताए ।

वडा कार्यालयमा आएर रकम बुझेकी ७० वर्षीया किरीदेवी धामीले वडा अध्यक्ष कुँवरलाई जुगौंजुग बाँच्ने आशिर्वाद दिइन् ।

त्यस्तै ८४ वर्षीय जैबहादुर विष्टले ज्यादै मनकारी अध्यक्ष पाएको बताए । ‘कति हो कति प्रधानपञ्च, गाविस अध्यक्ष, वडाध्यक्ष र वडा सदश्यहरु चुनियो,’ उनले भने, ‘भुन्टू जस्तो मनकारी अध्यक्ष भने पहिलो पटक पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment