Comments Add Comment

बर्खा सुरु भएसँगै घटे चितवन आउने पर्यटक

५ साउन, चितवन । बर्खा लागेसँगै चितवन आउने पर्यटकको संख्यामा कमि आएको छ । जिल्लाका मुख्य पर्यटकीय गन्तब्यहरु सौराहा, पटिहानी र मेघौली क्षेत्रमा पर्यटकहरुको संख्यामा भारी मात्रामा कमि आएको छ ।

असार पहिलो हप्तापछि पर्यटकहरुको संख्यामा कमि आएको यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले जनाएका छन् । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष पर्यटकहरुको संख्यामा कमि आएको व्यवसायीको भनाइ छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटलहरुको अकुपेन्सी दर १० प्रतिशतमा झरेको बताए । ‘यतिबेला खासै पर्यटकहरू आउँदैनन्, होटलका कर्मचारी पनि फूर्सदिलो बनेका छन्, अध्यक्ष घिमिरले भने, ‘यो बेलामा होटलहरूको मर्मत, फर्निचर निर्माण, रंगरोगन लगायतका काम गरिन्छ ।’

केही आन्तरिक र बाहृय पर्यटकहरु मात्रै सौराहामा आएको उनले बताए । यो सिजनमा पर्यटक नहुँदा होटललाई बैंकको ब्याज र किस्ता भुक्तानीमा पनि समस्या पर्ने गरेको छ ।

१० वर्षअघि यो सिजनमा यहाँका होटलहरू बन्द हुने गरेका थिए । तर, पछिल्ला वर्षहरुमा फाट्टफुट्ट रुपमा पर्यटकहरु आउने गरेकोले होटल बन्द नगरिने अध्यक्ष घिमिरेको भनाइ छ ।

केही होटलले पर्यटक कम भएपछि कामदारलाई विदा दिएका छन् । पटिहानीमा रहेको कसरा रिर्सोटका म्यानेजर लोक कुँवरले बर्खायाम लागेसँगै स्वदेशी र विदेशी दुवै पर्यटकको संख्यामा कमि आएको बताए ।

उनले होटलमा १० प्रतिशतको हाराहारीमा अकुपेन्सी रहेको बताए । अहिलेको अकुपेन्सीले होटलको खर्च धान्न समेत मुस्किल पर्ने उनको भनाइ छ ।

चितवनमा यो समयमा गर्मी बढी हुने भएकोले पनि पर्यटकहरुको संख्यामा कमि हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी गत असार २१ गतेदेखि बन्द छ । असोजको पहिलो हप्ता मात्रैं जीप सफारी निकुञ्ज भित्र खुल्छ ।

निकुञ्जभित्र पर्यटक लैजान नपाउने भएपनि यहाँका व्यवसायीहरूले मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा जीप र हात्ति सफारी गराउँदै आएका छन् ।

केही सामुदायिक वनले चितवन राष्ट्रिय निकुञ्जकै प्रवेश रसिद काट्ेर पर्यटक सामुदायिक वनमा घुमाउँदै आएका छन् । अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन् ।

सौराहा आउने पर्यटकहरूको बसाइ यो समयमा डेढ दिनको हुने गरेको छ । गत वर्ष १ लाख ८७ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका थिए ।

निकुञ्जले दिएको तथ्यांक अनुसार गत वर्ष सबैभन्दा कम भदौमा ७ हजार ३६३ जना पर्यटकले निकुञ्ज प्रवेशको टिकट लिएका थिए । असारमा ७ हजार ४ सय २७ र साउनमा ८ हजार ३ सय ९४ पर्यटक आएको तथ्यांकमा देखिन्छ ।

असार, साउन र भदौंमा निकुञ्ज घुम्ने पर्यटकको संख्यामा भारी मात्रामा कमि आउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

यो समयमा डुंगा सफारी, जंगल वाक लगायतका गतिविधि निकुञ्ज क्षेत्रमा हुन्छ भने बाहिरका सामुदायिक वनमा पर्यटकहरु हात्ती र जीपमा घुम्ने गर्दछन् ।

बाहिरका सामुदायिक वनमा निकुञ्जको प्रवेश पास लिएर घुम्ने पर्यटकहरूको तथ्यांकलाई पनि निकुञ्जले समेट्ने गरेको छ ।

चितवन गर्मी छ भन्ने रेडिमेड धारणा मानिसहरुको दिमाखका विकास भएको कारणले यो सिजनमा आन्तरीक पर्यटकहरु कमि आउने गरेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे बताउँछन् ।

तर, चितवनमा जस्तो गर्मी अष्ट्रेलिया, अमेरीकामा पनि हुने तर त्यहाँ सुविधा धेरै हुँदा खासैं वास्ता नहुने गरेको घिमिरले बताए । होटलहरुले सुविधा बढाउन सके पर्यटकहरू पनि बढ्ने उनको भनाइ छ ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा दुई हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment