Comments Add Comment

चलचित्रमा अवश्य कमब्याक गर्छुः राजबल्लभ कोइराला

कुनै समय चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाएका नायक राजबल्लभ कोइराला अहिले चलचित्र क्षेत्रबाट टाढा छन् । चलचित्र क्षेत्रलाई माया मार्दै उनी अमेरिकामा पुगेका छन् । नेपाली कलाकारका लागि सपनाको देश बनेको अमेरिकामा राजवल्लभको जीवन सुखमय तरिकाले बितिरहेको छ ।

दुई दर्जन चलचित्रमा काम गरिसकेका राजबल्लबको ‘पर्खि बसे, छोडी गए पाप लाग्ला, सम्झना, हाँसी देउ एक फेर’ रिलिजको समयमा गज्जब क्रेज थियो । तर, चलचित्र क्षेत्रमा नयाँ पुस्ताको प्रवेशसँगै उनको क्रेज खस्कियो । क्रेज खस्कदै गएको बेलामा उनले हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’मा काम गर्ने अवसर पाए र यही चलचित्रको सिलसिलामा अमेरिका पुगे । राजबल्लभले अमेरिकमा नै बिबाह पनि गरिसकेका छन् ।

उनको अमेरिका बसाई र आगामी योजनाको विषयमा अनलाइनखबरको लागि दिप्सन लुइटेलले गरेको कुराकानीः

रमाइलो छ है अमेरिकाको लाइफ ?
रमाइलो नै छ भनुम् । यहाँ सुन्दर पक्ष पनि छ, संघर्ष पनि छ । मेरो सबै परिवार यतै भएकाले रमाइलो पनि लागिरहेको छ ।

नेपाल कत्तीको मिस हुन्छ ?
हुन्छ नि । हामी जहाँ भएपनि हाम्रो जरा भनेको नेपालमा नै हुन्छ । मेरो मनमा बाँधिएको डोरीको गाँठो नेपालमा नै छ । त्यसैले नेपाल एकदमै मिस हुन्छ । तर, यहाँ पनि घर वरिपरी करेशाबारी छ । त्यसले केही हदसम्म नेपालको याद मेटाउँछ ।

के काम गर्नुहुन्छ तपाई ?
फाइनन्सियल इन्स्टिच्युसन (बैंक)मा आइटीको काम गर्छु ।

उतै बिबाह पनि गर्नुभएको छ । बैबाहिक जीवन कस्तो चलिरहेको छ ?
बैबाहिक जीवन पनि रमाइलो नै छ । बिबाह भनेको एउटा रमाइलो भोगाई हो । त्यो भोगाईलाई भोगिरहेको छु । छुट्टै संसार बसाएर रमाउने भन्छन् नि, हो म पनि रमाइरहेकै छु ।

जुनियर कोइरालाको योजना केही छ ?
हामीले योजना बनाएका छौँ । हाम्रो योजना अनुसार भयो भने सन् २०२० मा सुखद समाचार मिल्ने छ । तर, त्यसको पनि आफ्नै योजना छ । मिलेसम्म सन् २०२० को योजना हो ।

चलचित्र क्षेत्रलाई कत्तीको मिस गर्नुहुन्छ नि ?
यहाँ आउनुको सबैभन्दा नराम्रो पक्ष नै त्यही हो । चलचित्र क्षेत्र त जहिल्यै मिस हुन्छ । चलचित्र क्षेत्रलाई बिर्सिएर त म कसरी बस्न सक्छु र !

चलचित्र क्षेत्रका समाचारहरुमा आफूलाई अपडेट गराउनुहुन्छ ?
म सत प्रतिशत अपडेट छुँ । चलचित्रमात्र हैन्, अन्य समाचारहरु पनि हेरिरहेको हुन्छु । म यता आएर केही समय सुस्ताएको मात्र हुँ, नेपाललाई भुलेको छैन् ।

अमेरिकामा त धेरै नेपाली कलाकारहरु हुनुहुन्छ । उहाँहरुसँग भेट हुन्छ होला नी ?
यदि कुनै कार्यक्रममा दुबै जनालाई बोलाएको छ भने हुन्छ । तर, नेपालीको बानी ढिला गर्ने हुन्छ । म भने छिट्टै पुग्छु । यदी उहाँहरु पनि छिट्टै आउनुभयो भने भेट हुन्छ ।

अन्य कलाकारको अवस्था के छ ? तपाईले के देख्नु भएको छ ?
यहाँ आएपछि को कलाकार, को के । केही मतलब हुन्न । यहाँ आएर राम्रो हाँगा समात्न सकियो भने राम्रै हुन्छ । नत्र जस्तो हाँगा भेटिन्छ त्यसैमा झुन्डिएर बस्न पर्छ । अनि अर्को कुरा, कामको वर्गिकरण नेपालमा मात्र हो । यहाँ त्यस्तो छैन् । जसले जे पनि गर्न सकिन्छ । क्षमता भएर राम्रो काम पाइन्छ नभएर सोही अनुसारको काम । कलाकारहरुले रेष्टुरेन्टमा हेल्पर, स्टोरमा सेल्समेनदेखि राम्रो पदमा रहेर पनि काम गरिरहनु भएको छ ।

तपाईले आइटीको काम कसरी पाउनु भयो नि ?
मेरो त सम्पूर्ण परिवार यतै हुनुहुन्थ्यो । त्यसैले मलाई केही महिना काम नगरे पनि बस्न सक्ने अवस्था थियो । त्यसैले आएर मैले आइटी पढेँ । र राम्रो हाँगा समात्न सके ।

राजबल्लब चलचित्रमा चल्न छोडेपछि अमेरिका पुग्यो भन्ने आरोपमा के भन्नुहुन्छ ?
म चलचित्र चल्न छाडेपछि आएको होइन । मैले काम पाइरहेको नै थिएँ । तर, चलचित्र क्षेत्र डिजिटलाइज भएपछि नयाँ नयाँ पुस्ताको प्रवेश भयो । उनीहरुको सोच अनुसारको काम गर्न अफ्ठ्यारो भएपछि म यता आएको हुँ ।

नेपाली चलचित्र कत्तीको हेर्नुहुुन्छ ?
हेर्छु । समय मिलेसम्म हेरिरहेको हुन्छु ।

कस्ता छन् अहिलेका चलचित्र ?
मलाई गर्न मन लागेका जस्तो चलचित्रहरु अहिले बनिरहेका छन् । मेरो पालामा त चलचित्रमा कि निखिल उप्रेती हुनुपथ्र्याे कि विराज भट्ट । अहिले त्यो छैन । क्यारेक्टर बेस चलचित्र बनिरहेका छन् । मलाई यस्तै चलचित्र गर्न मन थियो र अहिले पनि छ ।

नयाँ पुस्ताका कलाकारहरुको काम कस्तो छ ?
नयाँ पुस्ताको काम राम्रो छ । प्राविधिक हिसाबमा पनि उनीहरु निकै माथि भएर आएका छन् । त्योसँगै दर्शक पनि बढेका छन् । हाम्रो पालामा नेपाली चलचित्रलाई छि–छि गर्थे । अहिले भने ‘आहा’ गर्न थालेका छन् । त्यो खुसीको कुरा हो ।

दर्शकको माग अनुसार चलचित्र बनेका छन् त ?
त्यो कुरामा मलाई पनि शंका नै छ । दर्शक धेरै छन् अहिले । तर, दर्शकले खोजे जस्तो चलचित्र बनेको छैन् कि जस्तो लाग्छ ।

अन्य को–को कलाकारहरुसँग कुरा हुन्छ ?
कोहीसँग पनि हुन्न । एक–अर्कामा कुरा गर्ने हाम्रो संस्कार नै छैन । मेरो फेसबुकमा जोडिनुभएकाहरुलाई जन्मदिनको शुभकामना दिइन्छ । त्यती हो । जीवन लुइटेलसँग मिलेसम्म कुरा गर्छु ।

अन्त्यमा, कमब्याकको योजना के छ ?
ढिला÷चाडो हुन सक्छ । तर, म चलचित्रमा पुनः काम गर्छु । अहिले यहाँको कामले फुर्सद पाएको छैन् । तर, सधै यस्तो हुन्छ भन्ने पनि छैन् । म पक्कै चलचित्र क्षेत्रमा कमब्याक गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment