Comments Add Comment

साग तोकिएकै समयमा आयोजना हुन्छ : खेलकुदमन्त्री

७ साउन, पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले तोकिएको समयमै भव्य र व्यवस्थित रुपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्ने जिकिर गरेका छन् ।

मंगलबार पोखरा रंगशालाको निरीक्षण गर्दै उनले भने, ‘सागमा सहभागी देशलाई पत्रसमेत पठाइसकेका छौं । तोकिएकै समयमा भव्य, व्यवस्थित रुपमा सागको आयोजना हुन्छ ।’

१३ औं साग आउँदो डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा हुने तय भएको छ । तर, सागका खेल हुने रंगशालाहरु अझै तयार भइसकेका छैनन् । काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला दुबै निर्माणाधीन अवस्थामै छन् । महिला फुटबल प्रतियोगिता हुने भनिएको पोखराको मैदान बल्ल निर्माण सुरु भएको छ ।

हुनत यसअघि पनि ३ पटक सागको मिति सरिसकेको छ । त्यसैले डिसेम्बरको साग पनि सर्ने त होइन भन्ने प्रश्न खेल क्षेत्रमा उठेको छ । तर मन्त्री विश्वकर्माले साग हुनेमा शंका नगर्न आग्रह गरे । ‘साग हुने र नहुनेमा पनि शंका नगर्नुस्, रंगशाला बन्ने र नबन्नेबारे पनि शंका नगर्नुस्,’ विकले भने ।

दशरथ रंगशालाको भीआइपी प्लारापिट र छाना हाल्नमात्रै हाल्न बाँकी रहेको र अरु काम सकिइसकेको विकले बताए । सागका खेल हुने काठमाडौं र पोखरामा सबै पूर्वाधारसहितको मैदान तयार भइसक्ने उनको दाबी थियो ।

अब पनि साग हुँदैन कि भनेर शंका गर्नतर्फ नलागेर सफल बनाउन आआफ्नो ठाउँबाट लाग्न विकले आग्रह गरे ।

पोखरा रंगशालाको निर्माण समयमै सक्ने ठेकेदार कम्पनीको प्रतिवद्धता छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिलाई फुटबल मैदान निर्माणको ठेक्का दिइएको छ । १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको मैदान ६ महिनाभित्रै काम सक्ने गरी गत साल फागुन २६ गते शिलान्यास भएको थियो ।

खेलकुदमन्त्री विकले अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट सञ्चालन गर्ने देशभर ९ वटा रंगशाला बनिरहेको बताए । पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बजेट बिनियोजन भएको उनको भनाइ थियो ।

पोखराको क्रिकेट रंगशालाका लागि संघीय सरकारको ३ र प्रदेशको २ करोड गरी रुपैयाँ ५ करोड रुपैयाँ विनियोजन भएको छ । खेलकुदमन्त्री विकले पोखरामा सागका ७ वटै खेल खेलाउन पक्का भइसकेको बताए ।

महिला क्रिकेट प्रतियोगिता पोखरा ल्याउन माग

१३ औं एसियाली खेलकुद प्रतियोगिताको आर्चरी, महिला फुटबल, ह्याण्डबल, महिला फुटबल प्याराग्लाइडिङ, भारत्तोलन र ट्रायथलन प्रतियोगिता पोखरामा हुँदैछन् ।

पोखरा क्रिकेट रंगशालाको निरीक्षण गरेका विकसँग महिला क्रिकेट प्रतियोगिता पनि पोखरामा गर्न माग भएको छ । महिला क्रिकेट प्रतियोगिता पोखरामा ल्याउन खेलकुदमन्त्री विकलाई क्रिकेट संघ कास्कीले ज्ञापन पत्र बुझाएको हो ।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले महिला क्रिकेट प्रतियोगिता सम्पन्न गर्न पोखरा सक्षम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment