Comments Add Comment

टेष्ट च्याम्पियनसिप अगस्ट १ देखि

१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज आधिकारिक रुपमा विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट सार्वजनिक गरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट यही अगष्ट एक तारिखदेखि सुरु हुनेछ । विश्व टेष्ट च्याम्पियनसिप भनिए पनि यो प्रतियोगितामा ९ राष्ट्रले मात्रै भाग लिने छन् । टेष्ट मान्यता पाएकै तीन राष्ट्रले पनि भाग लिन पाउने छैनन् ।

विश्व टेष्ट च्याम्पियनसिपमा अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, इंग्ल्यान्ड र भारत रहेका छन् ।

यी ९ राष्ट्रले दुई वर्षे अवधिमा २७ सिरिजमा कुल ७१ खेल खेल्ने छन् । एकआपसमा सबै टिमले खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिम विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नेछ ।

फाइनल खेल २०२१ को जुन महिनामा इंग्ल्यान्डमा हुनेछ । प्रत्येक टिमले तीन होम सिरिज खेल्ने छ भने तीन अवे सिरिज खेल्नेछ । एउटा सिरिजको १२० अंक हुनेछ । तर एउटा सिरिजमा दुई खेल मात्रै भए एक खेलको ६० अंक हुनेछ । यदि तीन खेलको सिरिज भए एक खेलको ४० अंक हुने आईसीसीले उल्लेख गरेको छ ।

अहिलेसम्म आईसीसीले १२ देशलाई टेष्ट नेशन राष्ट्रको मान्यता दिएको छ । आईसीसीले बरियताको आधारमा शीर्ष ९ टिमलाई विश्व टेष्ट च्याम्पियनसिपमा सहभागिता गराएको छ ।

तर शीर्ष ९ लाई नै किन विश्व टेष्ट च्याम्पियनसिपमा सहभागिता गराइयो स्पष्ट धारणा उल्लेख गरेको छैन । यो विश्व टेष्ट च्याम्पियनसिपमा टेष्ट नेशन राष्ट्र अफगानिस्तान, आयरल्यान्ड र जिम्बाब्वेले भने खेल्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment